मर्जर प्रक्रियामा भएका कम्पनीको सेयर कारोबार रोक्का राख्ने व्यवस्था खारेज, यी तीन दर्जन कम्पनीको सेयर अर्को सातादेखि कारोबार गर्न सकिने  « Arthapath.com
२५ कार्तिक २०७९, शुक्रबार

मर्जर प्रक्रियामा भएका कम्पनीको सेयर कारोबार रोक्का राख्ने व्यवस्था खारेज, यी तीन दर्जन कम्पनीको सेयर अर्को सातादेखि कारोबार गर्न सकिने 



काठमाडौं । नेपाल धितो पत्र बोर्डले मर्जर प्रक्रिया सुरु गरेपछि दोस्रो बजारमा सेयर कारोबार रोक्का राख्ने प्रावधानलाई औपचारिक रूपमा अन्त्य गरेको छ । ‘सङ्गठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बुधवार साँझ बसेको बोर्डको सञ्चालक समिति बैठकले पारित गरेसँगै बिहीबारबाट कार्यान्वयनमा आएको हो । 

अब कुनै पनि कम्पनी मर्जर वा एक्वीजिशनमा जाँदा समझदारी पत्रमा हस्ताक्षर भएदेखि नै शेयर कारोबार बन्द हुने अवस्था रहने छैन । बरु मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार थालेपछि भने अधिकतम १५ दिनसम्म कारोबार रोक्का हुने भएको छ । सेयर मिलान, धितो पत्र पान दर्ता, धितो पत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ दिन कारोबार रोक्का राख्न सक्ने निर्देशिकामा उल्लेख छ । 

यसअघि मर्जर सकिएको कति समयसम्म कारोबार रोक्का राख्न पाइने भनेर कानुनले तोकेको थिएन । यही कारण एकीकृत कारोबार सुरु भएको महिनौँ पछिसम्म पनि कतिपय कम्पनीको सेयर कारोबार रोक्का रहँदै आएको थियो । यसले बहुसङ्ख्यक लगानीकर्ताको सम्पत्ति ‘होल्ड’ हुने परिस्थिति बनेको भन्दै लगानीकर्ता र कम्पनीहरूले पनि यस खाले व्यवस्थाको विरोध गर्दै आएका थिए ।

कतिपय कम्पनीहरू मर्जरका लागि समझदारीमा हस्ताक्षर गरेर पछि भाँडिने अवस्था पनि आएका छन् । यसले लगानीकर्ताको सम्पत्ति धेरै लामो समयसम्म स्थिर हुने अवस्था आएको थियो । नयाँ निर्देशिकाले आधारभूत सेयर धनी अर्थात् निश्चित प्रतिशतभन्दा धेरै शेयर स्वामित्व भएका सेयर धनीको कारोबार भने रोक्का राख्ने व्यवस्था गरेको छ । त्यसबाहेकका सेयर धनीको स्वामित्वमा भएको सेयर कारोबार गर्न पाइने भएको छ । 

अब मर्जरको प्रक्रियामा रहेका कम्पनीहरू नयाँ नियम अनुसार कारोबार रोक्का नराखी प्रक्रिया अघि बढाउन सक्ने छन् । तर मर्जर प्रक्रियामा गइसकेर कारोबार रोक्का भएका कम्पनीले भने नेप्से र सीडीएससीमा निवेदन दिनुपर्ने छ । 

‘नयाँ निर्देशिका अनुसार कारोबार खुला गरिदिन निवेदन दिएपछि रोक्का रहेका कम्पनीको कारोबार पनि खुल्छ’, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने । उनका अनुसार कम्पनीहरूले आफ्ना आधारभूत सेयर धनीको सूचि तयार पारेर उक्त सूचिसहित बाँकीको कारोबार फुकुवा गर्न नेप्से र सीडीएससीमा निवेदन दिनु पर्ने छ । 

अहिले नेप्सेमा सूचिकृतमध्ये ५६ कम्पनीको सेयर कारोबार रोक्का (निलम्बन) गरिएको छ । यसमध्ये केही कम्पनीले प्रक्रिया अनुसारको कागजात नबुझाएको र कतिपय कम्पनी अस्तित्वमा रहे पनि निष्क्रिय रहेका छन् । यसमध्ये करिब ३ दर्जन कम्पनी भने मर्जरकै कारण कारोबार रोक्का वा निलम्बनमा छन् । 

नेप्सेका अनुसार नेपाल इन्भेस्टमेन्ट बैङ्क, बैङ्क अफ काठमाडौं, कुमारी बैङ्क, एनसीसी बैङ्क, ग्लोबल आईएमई बैङ्क, सिभिल बैङ्क, मेगा बैङ्क, सेन्चुरी बैङ्कको कारोबार रोक्का छ । क्रिष्टल फाइनान्स र हिमालयन फाइनान्सको कारोबार पनि खुल्न सकेको छैन । 

समीट लघुवित्त, साना किसान विकास लघुवित्त, आरएमडीसी लघुवित्त, नेशनल माइक्रो फाइनान्स, नडेप लघुवित्त, आधि खोला लघुवित्त, घोडाघोडी लघुवित्त, समाज लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, आदर्श लघुवित्तजस्ता संस्थाको सेयर पनि कारोबार बन्द थियो । 

पछिल्लो समय बीमा कम्पनीहरूमा मर्जरको लहर देखिएसँगै धेरै कम्पनीको कारोबार रोकिएको छ । प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सगरमाथा इन्स्योेरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्यारेन्स पनि नेप्सेको कारोबार सूचिमा निलम्बित छन् । 

अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योेरेन्स, जनरल इन्स्योेरेन्स, सानिमा इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्सजस्ता कम्पनीको सेयर कारोबार हुन सकेको छैन । यी सबै कम्पनीको सेयर अर्को साताबाट पुनः कारोबार सुरु गर्न बाटो खुलेको छ । 


प्रतिक्रिया दिनुहोस्