एनसीसी बैंकलाई महँगो बन्यो मर्जर, तीन डेपुटी सीईओसहित १३ कर्मचारीलाई बिदा गर्न १३ करोड खर्च « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

एनसीसी बैंकलाई महँगो बन्यो मर्जर, तीन डेपुटी सीईओसहित १३ कर्मचारीलाई बिदा गर्न १३ करोड खर्च



काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स(एनसीसी) बैंकले तिन जना नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित एक दर्जन सिनियर कर्मचारीलाई बिदा गरेको छ ।

बैंकले तिन जना डेपुटी सीईओ, एक जना डिजिएम एक जना सिनियर म्यानेजर र चार जना म्यानेजर र तीन जना डेपुटी म्यानेजर र एक जना एसिस्टेन्ट म्यानेजरलाई बिदा गरेको हो । 

बैंकले डेपुटी सीईओहरु वन्दना पाठक, रेवन्त कुमार दाहाल, सन्दीप प्रसाद पाण्डे तथा डिजिएम विनोद कुमार शर्मा, सिनियर म्यानेजर नगेन्द्र प्रसाद बिमलीलाई स्वैच्छिक अवकाश दिएको हो । 

यस्तै, बैंकले म्यानेजरहरू उरेशमान कायस्थ, विनय प्रसाद अधिकारी, सरिना पाण्डे, अस्मिता श्रेष्ठ, डेपुटी म्यानेजरहरू मीनराज जङ्ग शाह, अनिल पराजुली र प्रितम कुमार दास श्रेष्ठ र सहायक म्यानेजर दुर्गा प्रसाद पाण्डेलाई अवकाश दिएको हो । 

१३ जना सिनियर कर्मचारीको स्वैच्छिक अवकाशका लागि बैंकले १३ करोड  रुपैयाँ खर्च गरेको छ । कुमारी बैङ्कसँग मर्जर अघि नै एनसीसी बैंकले कर्मचारीलाई अवकाशका लागि सो रकम खर्च गरेको हो । कर्मचारी अवकाशमा एक बैंकले मात्रै करोडौँ रकम खर्चिनु परेका मर्जर महँगो भएको हो ।  

स्रोतका अनुसार सिनियर कर्मचारीलाई आगामी ३६ महिनाको सुविधा सहित बिदा गरेको हो । बैंकले थप गाडी सुविधा सहित लामो समय योगदान गरेका कर्मचारीलाई बिदा गरेको हो । विभिन्न सुविधाका लागि बैंकले १३ करोड रुपैयाँ नोक्सानी भएको बुझिएको छ । 

बैंकले मर्जरमा जानका लागि कुमारी बैङ्कसँग सम्झौता गरेको छ । यी दुवै बैङ्क मर्जरमा जानका लागि १ः१ को स्वाप रेसियो कायम भएको छ । मंसिर १ गते बसेको दुवै बैङ्कको सञ्चालक समितिको बैठकले मर्जर प्रयोजनका उक्त स्वाप रेसियो कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको थियो । 

असोज १० गते सम्पन्न समझदारी पत्रको आधारमा गठन भएका संयुक्त मर्जर समितिबाट दुवै बैङ्कको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यङ्कन गर्न नियुक्त मुल्यङ्कन कर्ताले दुवै बैकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी दिएको प्रतिवेदनका आधारमा स्वाप रेसियो १ः१ अनुपात कायम गर्ने निर्णय गरेको हो ।

यी दुवै बैंकले एक आपसमा जानका लागि असोज ११ गते सहमति पत्रमा हस्ताक्षर गरेका थिए । मर्जरमा जानका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत पनि दिएको छ । दुवै बैंकले पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्गाउने तयारीमा रहेका छन् ।

कसले के पाउदैछन् ? 

मर्जरमा एनसीसी बैंकले सीईओ र अध्यक्ष दुवै पाउने भएको छ । मर्जरपछि बैङ्कको नाम कुमारी हुनेछ भने सञ्चालक समितिमा कुमारी बाट ३ जना एनसीसीबाट ४ जना चुनिने सहमति भएको छ । मर्जरपछि पनि हाल एनसीसी बैङ्कका सीईओ रहेका रमेशराज अर्याल सीईओनै रहनेछन् भने कुमारी बैङ्कका डेपुटी सीईओ रहेका रामचन्द्र खनाल डेपुटी सीईओ हुनेछन् । कर्मचारी समायोजन पनि लगभग मिलिसकेको बताइएको छ । 

Tags :

प्रतिक्रिया दिनुहोस्