वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: कुन बैंकबाट ऋण लिँदा कति तिर्नुपर्छ ब्याज ? « Arthapath.com
१ माघ २०७९, आईतवार

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: कुन बैंकबाट ऋण लिँदा कति तिर्नुपर्छ ब्याज ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत कायम गरेका छन् । यस अघि भने बैंकहरुले १२.१३३ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल बैंकर्स संघले माघ महिनामा ब्याजदर घटाउने निर्णय गरेको थियो ।

गत बुधवार सम्पन्न नेपाल बैंकर्स संघको विशेष साधारण सभामा उपस्थित बैंकरहरुले छलफल गरी ब्याजदर घटाउने निर्णय गरेका हुन् । संघका अनुसार माघ महिनामा ब्याजदर १.१३ प्रतिशतले घटाउने निर्णय भएको हो ।

माघ महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ११ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको ९ प्रतिशत र रेमिट्यान्समा १२ प्रतिशत ब्याजदर कायम गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदरद अनुसार कतिपयले कर्जामा पनि हेरफेर गरेका छन् । केही बैंकहरुले कर्जाको ब्याजदर पनि घटाएका छन् । कर्जाका लागि बैंकहरुको आधार दर (बेस रेट) मा ६ प्रतिशतदेखि ७ प्रतिशतसम्म प्रिमियम जोडिनेछ ।

ग्लोबल आइएमई बैंकले पनि निक्षेपको ब्याजदर घटाएको छ । बचत खाताको ब्याजदर ६.४२ देखि ८.४२ प्रतिशतसम्म कायम गरिएको छ भने मुद्दति निक्षेप तथा कल अकाउण्टको ब्याजदर ३.२१ प्रतिशतसम्म कायम भएकोछ । यो बैंकको बेस रेट १०.१९ प्रतिशत रहेको छ । अधिकांश कर्जाको ब्याजदर बेसरेटमा २.५० देखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरिने बैंकले जनाएको छ । निश्चित अवधिका लागि स्थिर ब्याजदरतर्फ बैंकले विभिन्न लोन प्रडक्टमा ११.९९ देखि १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, संस्थागतको ९ प्रतिशत र रेमिटयान्स खाताको १२ प्रतिशत कायम गरेको छ । रिकरिङ फिक्स्ड डिपोजिटतर्फ १२ महिनासम्मको ब्याजदर ११ प्रतिशत तथा ३३ महिना अवधिको ब्याजदर १० प्रतिशत कायम गरिएको छ । बचत खाताको ब्याजदर ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म कायम गरिएको छ । कल अकाउण्ट्सको ब्याजदर ३.२१ प्रतिशतसम्म कायम गरिएको बैंकले जनाएको छ । इन्भेष्टमेनट बैंकले कर्जाको ब्याजदरमा भने कुनै परिवर्तन गरिएको छैन ।

कुमारी बैंकले कुमारी बैंकको मंसिरको बेसरेट ११.१९ प्रतिशत रहेको छ । कर्जाको ब्याजदर बेस रेटको २ देखि ६ प्रतिशत प्रिमियम जोडिनेछ । १ देखि ५ वर्ष अवधिको कर्जाको ब्याजदर १३ प्रतिशत, ५ देखि १० वर्षको १३.५० प्रतिशत, १० वर्षभन्दा बढी अवधिको कर्जाको ब्याजदर १३.७५ प्रतिशत कायम गरेको बैंकले जनाएको छ।

कृषि विकास बैंकले मुद्दति निक्षेपमा ९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । कर्जाको ब्याजदरमा आधार दरमा भने २ देखि ३ प्रतिशतसम्म जोडिने बैंकले जनाएको छ ।

माछापुच्छ«् बैंकले मुद्दति निक्षेपमा ६.४२ प्रतिशतदेखि ९.४२ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । कर्जाको ब्याजदरमा भने बैंकले ६ पतिशतसम्म प्रिमियम जोडिने जनाएको छ । यो आधार दरमा थप हुनेछ । यस्तै, एभरेष्ट बैंकले पनि मुद्दति निक्षेपमा ६.४२ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । कर्जाको ब्यादरमा भने आधार दरमा प्रिमियम ६ प्रतिशतसम्म जोडिने बताएको छ । बैंकको आधार दर ९.९० प्रतिशत रहेको छ । यसका आधारमा बैंककोबाट विभिन्न शिर्षकमा ऋण लिँदा बढीमा १५.५० प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ।

एनआईसी एशिया बैंक पनि विभिन्न खातामा ८.४२ प्रतिशतदेखि ११४२ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकको रेमिट्यान्समा भने १२.४२ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदर भने १५.५० प्रतिशतसम्म कायम भएको छ । बैंकले आधार दरमा प्रिमियम ६ प्रतिशत ब्याजदर जोडेर कर्जा दिने जनाएको छ । हाल बैंकको आधार दर १०.९० प्रतिशत रहेको छ ।

नेपाल बैंकले माघ महिनाका लागि विभिन्न खातामा ६.४२ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकको कर्जामा भने २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडिनेछ । यो बैंकको आधार दर पनि थपिने बैंकले जनाएको छ । हाल बैंकको आधार दर ८.९२ प्रतिशत रहेको छ ।

हिमालयन बैंकले पनि ब्याजदर घटाएको छ । व्यक्तिगत मुद्दति निक्षेपको ११ र संस्थागतको ९ प्रतिशत कायम गरिएको छ । बैंकको दोस्रोे त्रैमासको बेसरेट घटेर १०.४३ प्रतिशत कायम भएको छ । कर्जाको विभिन्न प्रडक्टको ब्याजदर बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडिने जनाएको छ । फिक्स्ड प्रकृतिको लोनको ब्याजदर १४.६५ देखि १५.७५ प्रतिशतसम्म कायम गरिएको छ ।

नबिल बैंकले माघ महिनाका लागि विभिन्न खातामा ६.४२ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले कर्जा तर्फको ब्याजदर भने प्रिमियममा ६ प्रतिशतसम्म थप हुनेछ । यसमा बैंकको आधार दरमा पनि जोडिनेछ । बैंकको आधार दर ९.४५ प्रतिशत रहेको छ ।

एनएमबि बैंकले माघ महिनाका लागि विभिन्न खातामा ११ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । कर्जाको ब्याजदरमा भने बैंकले आधारमा ६ प्रतिशत प्रिमियम जोडिने जनाएको छ । बैंकको आधार दर १०.२८ प्रतिशत रहेको छ। यता, राष्ट्रिय वाणिज्य बैंकले पनि माघ महिनाका लागि विभिन्न खातामा ११ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । कर्जाको वार्षिक ब्याजदर भने आधार दरमा प्रिमियम ५ प्रतिशतसम्म जोडिने बैंकले जनाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मंसिरको बेस रेट ९.३० प्रतिशत रहेको छ । बैंकले लोनका विभिन्न प्रडक्टहरुको ब्याजदर आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर निर्धारण गरेको छ । यो बैंकले ५ वर्षसम्मको लोनको फिक्स्ड रेट ११.५० प्रतिशत, ७ वर्षसम्मका लागि १२ प्रतिशत, १० वर्षसम्मका लागि १२.५० प्रतिशत तथा १० वर्षभन्दा माथिका लागि १३ प्रतिशत कायम गरेको छ ।

अन्य वाणिज्य बैंकहरुले पनि निक्षेपको ब्याजदर पूर्व सहमतिअनुसार नै घटाएर प्रकाशित गरेका छन् । मुद्दति निक्षेपमा ११ प्रतिशतसम्म निर्धारण गरेका छन् । कर्जाको ब्याजदरमा पनि प्रिमियममा ६ प्रतिशतसम्म थप गर्ने भएका छन् । त्यसमा बैंकहरुको आधार दर पनि जोडिने बैंकहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्