गत वर्ष सुस्ताएको बैंकहरुको ऋण लगानी अब बढ्ला ? « Arthapath.com
१४ असार २०८२, शनिबार

गत वर्ष सुस्ताएको बैंकहरुको ऋण लगानी अब बढ्ला ?



काठमाडौं । बैंकहरुको कर्जा लगानीमा संकुचन देखिएको छ । बैंकहरुको कर्जा प्रवाह अघिल्लो वर्षहरुमा दोहोरो अंकमा वृद्धि हुने गरेको थियो । तर, गत आर्थिक बर्ष २०७९/८० मा बाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.४२ प्रतिशतले मात्रै बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्याङ्क अनुसार अघिल्लो आव २०७८/७९ मा पनि बाणिज्य बैंकहरुको कर्जा प्रवाह दोहोरो अंक अर्थात १२.२० प्रतिशतले बढेको थियो । तर, गत आवमा भने बैंकहरुले ऋण लगानी साढे ३ प्रतिशत हारहारीमा बढेको छ । आउटस्टान्डीङको आधारमा बाणिज्य बैंकको कर्जा प्रवाह उक्त दरमा बढेको हो ।

गत २०७९ असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको थियो । तर, २०८० असार मसान्तसम्म त्यो १ खर्ब ४३ अर्ब मात्रै बढेर ४३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ । जवकी आव २०७८/७९ मा ४ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

बिशषेगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंकहरुको कर्जा प्रवाहमा संकुचन आएको बैंकहरु बताउँछन् । गत आवमा बैंकमा लगानीयोग्य रकम दोहोरो अंकमा बढेपनि उच्च ब्याजदरका कारण कर्जाको माग सुस्त छ । ब्याजदर उच्च भएका कारण कर्जा माग कम भएको बैंकहरु बताइन्छ ।

विश्व बजारमा देखिएको आर्थिक मन्दी लगायत कारण लगानीको वातावरण बिग्रदो छ । अर्थतन्त्रमा आएको संकटले पनि कर्जाको माग बढ्न नसकेको एक बैंकर भन्छन् । गत आवको सुरुवाती महिनाहरुमा तरलता अभावका कारण पनि कर्जा प्रवाह बढ्न सकेन । पछि बैंकहरुमा तरलता बढ्दै गयो । तर, कर्जाको माग भएन । पछिल्लो समय आर्थिक गतिविधी सुस्ताएको छ । बजारमा बस्तु तथा सेवाको माग घटेको छ । आम उपभोक्ताको क्रय शत्तिमा ह्रास आएको छ । त्यसले गर्दा कर्जाको डिमान्ड छैन । फलस्वरुप गत आवमा कर्जा प्रवाह सुस्ताएको हो ।

चालु आव सुुरु भएपछि पनि कर्जाको माग बढ्न सकिरहेको छैन । साउन महिना सुरु भएपछि झण्डै २१ अर्ब बढी कर्जा घटेको छ । तर, अब कर्जाको माग बढ्न सक्ने बैंकहरु बताउँछन् । बैंकहरुमा केही महिनाको कर्जा माग धान्ने पैसा थुप्रीएको छ । बैंकहरुले कर्जाको ब्याजदर घटाउँदै लगेका छन् । चार्डपर्व नजिकीदैं गर्दा आर्थिक गतिविधि बढ्दै गएको छ । त्यो अवस्थामा अबका दिनमा कर्जाको माग बढ्ने अपेक्षा रहेको बैंकरहरु बताउँछन् ।

बैंकर्स संघको तथ्याङ्क अनुसार समिक्षा बर्षमा बाणिज्य बैंकहरुको निक्षेप भने १२ प्रतिशतले बढेको छ । २०७९ असारसम्म बाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । २०८० असार मसान्तसम्म भने त्यो बढेर ५० खर्ब ८६ अर्ब पुगेको छ । समिक्षा बर्ष निक्षेप ५ खर्ब ४५ अर्ब रुपैयाँ थपिएको हो ।

अघिल्ला बर्षहरुमा निक्षेप भन्दा कर्जा प्रवाहको बृद्धिदर बढी हुन्थ्यो । जुन व्यवसायी रुपमा राम्रो मानिन्छ । आव २०७८/७९ मा १२.२० प्रतिशतले कर्जा प्रवाह बढ्दा ८.०९ प्रतिशतले निक्षेप बढेको थियो । बैंकहरुले कर्जा मार्फत आउने आम्दानीले नै निक्षेपमा ग्राहकलाई ब्याज दिने हो । त्यो अवस्थामा निक्षेप भन्दा कर्जा प्रवाह बढी भएको राम्रो मानिन्छ । तर, समिक्षा वर्षमा कर्जा प्रवाह न्यून र निक्षेप बढ्दा बैंकहरुलाई आर्थिक भार समेत बढ्ने देखिएको छ । कर्जा प्रवाह नभएपछि बैंकको आम्दानी बढ्दैन । तर, यता निक्षेपको ब्याज रकम भने बढ्दै जान्छ । त्यसले बैंकहरुको वित्तिय अवस्थालाई प्रभावित बनाउने बैंकरहरुको भनाइ छ ।

कुन महिना कति कर्जा थपियो ?

सीडी रेसियो ८२ प्रतिशत

कर्जाको माग नभएपछि बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि निरन्तर घट्दै गएको छ । गत साउनमा ८८.०७ प्रतिशत रहेको सीडी रेसियो असार मसान्तसम्म आउँदा ८२.१० प्रतिशतमा झरेको छ ।

यस तथ्यांकअनुसार बैंकहरु कर्जा प्रवाह गर्ने मामिलामा सहज अवस्थामा देखिन्छन् । बैंकहरुले सीडी रेसीयो ९० प्रतिशतसम्म कायम गर्ने गरि कर्जा प्रवाह गर्न पाउछन् । तर, अहिले बैंकहरुको सीडी रेसियो ८२.१० प्रतिशत भन्दा पनि कम छ । यसले बैंकहरु कर्जा प्रवाह गर्ने मामलामा सहज अवस्थामा रहेको पुष्टी हुन्छ ।


प्रतिक्रिया दिनुहोस्