प्राइम बैंकले कमायो २ अर्ब २६ करोड बढी नाफा: ब्याज आम्दानी १७.७७%ले बढायो, यस्ता छन् अन्य सूचक

काठमाडौं । प्राइम कमर्सियल बैंकले २ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकले २ अर्ब २६ करोड ३१ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । तर, अघिल्लो आवको तुलनामा भने बैंकको नाफा घटेको हो । विशेषगरि कोभिड–१९ को महामारी र रुस युक्रेन युद्घका कारण विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ । नेपालको अर्थतन्त्रमा पनि तरलताको अभावका कारण आर्थिक क्रियाकलापमा कमी छ ।
समग्र बैंकिङ क्षेत्रको व्यापार व्यवसायमा केहि संकुचन आएको छ । यी र यस्ता कारण नै प्राइम बैंकको नाफामा प्रभाव परेको बैंकले जनाएको छ । बैंकले मुलुकको वर्तमान अर्थतन्त्र एवं उद्योग व्यबसायहरुमा परेको नकारात्मक प्रभावलाई मूल्यांकान गर्दै आफ्नो आर्थिक अवस्थालाई मजबुत बनाउन यथेष्ट कर्जा नोक्सानी व्यवस्था गरेको छ । जसले खुद मुनाफामा गत वर्षको भन्दा केही संकुचन देखिएको हो ।
अघिल्लो आवको चौंथो त्रैमासमा भने बैंकले २ अर्ब ७८ करोड ७३ लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १७.७७ प्रतिशतले वृद्धि भई ७ अर्ब २७ करोड ७९ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप गत वर्षको भन्दा ७.९५ प्रतिशतले वृद्धि भएको छ। गत वर्षभर बैंकले १ खर्ब ७८ अर्ब ५६ करोड संकलन गरेको छ । बैैंकको कर्जा लगानी पनि ५.२६ प्रतिशतले वृद्धि भई १ खर्ब ६३ अर्ब ६ करोड पुगेको छ । बैंकको वितरणयोग्य नाफा भने २० करोड ४८ लाख ३९ हजार रुपैयाँ रहेको छ।
समिक्षा अवधिमा कर्जा नोक्सानी व्यवस्था अघिको सञ्चालन मूनाफा १९.०७ प्रतिशतले वृद्धि गरि ६ अर्ब ६९ कारोड रुपैयाँ आर्जन गरेको छ । साथै गत वर्षको भन्दा समीक्षा अवधिमा गैरकोष आम्दानी १२.३७ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ, जगेडा कोष ८ अर्ब ८० करोड ७७ लाख १५ हजार रुपैयाँ रहेको छ । तर, बैंकको खराब कर्जा भने ४.२३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४५ पैसा रहेको छ ।