‘धनी बैंक’ बन्न ग्लोबल र नबिलको होडबाजी: ग्रोथमा एनआईएमबि पहिलो, कुन बैंकसंग कति छ सम्पत्ति ?

काठमाडौं । कुल सम्पत्तिका आधारमा ग्लोबल आइएमई, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक धनीको बैंकको शीर्ष स्थानमा छन् ।यी तीन बैंकको सम्पत्ती साढे ४ खर्बभन्दा धेरै देखिएको छ । बैंकहरुसं मर्जपछि झन् धेरै सम्पत्ति बढेको छ । गत वर्ष बैंकहरु धमाधम मर्जरमा गएका थिए । मर्जपछि नै बैंक थप मजबुत बनेका छन् ।
विशेषगरि यी तीन बैंकबीच धनी बन्ने प्रतिस्पर्धा नै देखिएको छ । संचालनमा रहेका मध्ये सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आइएमई देखिएको छ । साविकको बैंक अफ काठमाण्डूलाई प्राप्ति पछि ग्लोबल आइएमईको सम्पत्ति ५ खर्ब २६ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दोस्रो स्थानमा रहेको ग्लोबल गत वर्ष भने पहिलो नम्वरमा उक्लिएको हो । अघिल्लो वर्षको तुलनामा बैंकको कुल सम्पत्ति १ खर्ब ६५ अर्ब ८३ करोड ८४ लाख रुपैयाँले बढेको हो ।
सम्पत्तिको आधारमा भने नबिलको पोजिशन दोस्रोमा पुगेको छ । अघिल्ला वर्ष पहिलो बनेको नबिल गत वर्ष भने दोस्रो स्थानमा देखिएको छ । हाल बैंकसंग ४ खर्ब ८३ अर्ब १ करोड १० लाख रुपैयाँ कुल सम्पत्ति रहेको छ । एक वर्षमा नबिलले ६३ अर्ब १९ करोड २९ लाख रुपैयाँ सम्पत्ति थपेको हो ।
कुल सम्पत्तिको आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले भने आफ्नो पोजिशन ह्वात्तै अघि ल्याएको छ । साविकको मेगा बैंकसंग मर्जरमा गएको यस बैंकले सम्पत्तिमा तेस्रो स्थान बनाएको हो । अघिल्लो वर्ष ९औं स्थानमा रहेको बैंक एकाएक तेस्रो स्थानमा फड्को मारेको छ । हाल बैंकसंग कुल ४ खर्ब ४७ अर्ब ५० करोड ५४ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । अघिल्लो आवमा भने बैंकसंग २ खर्ब ४४ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ बराबरको मात्रै सम्पत्ति थियो । तर, एक वर्षमै बैंकको सम्पत्ति २ खर्ब ३ अर्ब ५ करोड ६६ लाखले बढेको हो ।
समग्रमा हाल संचालित २० वटा वाणिज्य बैंकहरुको कुल सम्पत्ति भने ६१ खर्ब ९० अर्ब ८३ करोड ९ लाख रुपैयाँ छ । अघिल्लो आवको तुलनामा भने बैंकहरुको सम्पत्ति ६.९१ प्रतिशतले मात्रै बढेको हो । अघिल्लो आवमा बैंकहरुको सम्पत्ति ५७ खर्ब ९० अर्ब ५० करोड ८४ लाख रुपैयाँ रहेको थियो । यो बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसारको तथ्याङ्क हो ।
सम्पत्तिको आधारमा भने राष्ट्रिय बाणिज्य बैंक चौंथो नम्वरमा छ । गत वर्षसम्म बैंकको कुल सम्पत्ति ३ खर्ब ९३ अर्ब ५ करोड ६२ लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ६४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबरको सम्पत्ति थपेको हो ।
यता, साविकको एनसीसी बैंकसंग मर्जरमा गएको कुमारी बैंकको पनि ३ खर्ब ७८ अर्ब ७८ करोड ४७ लाख रुपैयाँ सम्पत्ति छ । मर्जरकै कारण बैंकको सम्पत्ति बढेको हो । अघिल्लो आवमा २ खर्ब १२ अर्ब १० करोड ८४ लाख रुपैयाँ रहेको बैंकको सम्पत्ति गत वर्ष भने १ खर्ब ६६ अर्ब ६७ करोड ६२ लाख रुपैयाँले बढेको हो । सम्पत्तिको ग्रोथका आधारमा कुमारी बैंक तेस्रो स्थानमा छ ।
सम्पत्तिकै आधारमा छैंठौं नम्वरमा रहेको एनआईसी एशिया बैंकले ग्रोथमा सुस्त छ । अघिल्लो आवको तुलनमा बैंकले ५ अर्ब ५४ करोड १० लाख रुपैयाँ मात्रै सम्पत्ति वृद्धि गरेको हो । ग्रोथका आधारमा बैंक १९औं नम्वरमा छ । हाल बैंकसंग ३ खर्ब ६४ अर्ब ११ करोड ८ लाख रुपैयाँ बराबरको कुल सम्पत्ति रहेको छ ।
यस्तै, हालसालै एकीकृत कारोबार थालनी गरेको लक्ष्मी सनराइज बैंकको सम्पत्ति ३ खर्ब ६३ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ छ । साविकको लक्ष्मी र सनराइज बैंक एकआपसमा गाभिएपछि बैंकको सम्पत्ति ह्वात्तै बढेको हो । मर्जपछि बैंकको सम्पत्ति १ खर्ब ९० अर्ब १४ करोड २८ लाख रुपैयाँले बढेको हो ।
सम्पत्ति ग्रोथका आधारमा भने प्रभु बैंक पाँचौं स्थानमा देखिएको छ । साविकको सेञ्चुरी बैंकलाई प्राप्तिपछि बैंकको कुल सम्पत्ति १ खर्ब १८ अर्ब ९२ करोड २९ लाख रुपैयाँले बढेर ३ खर्ब ५१ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
कुल सम्पत्तिको आधारमा भने हिमालयन बैंक नवौं स्थानमा छ । साविकको सिभिल बैंकसंग मर्जर भएको यस बैंकसंग हाल ३ खर्ब ३४ अर्ब १५ करोड रुपैयाँ बढी सम्पत्ति छ ।
वित्तीय रिपोर्ट अनुसार हाल नेपालप बैंकको सम्पत्ति २ खर्ब ९६ अर्ब ९ करोड ८२ लाख, एनएमबि बैंकको २ खर्ब ८८ अर्ब १६ करोड ६१ लाख, सिद्धार्थको २ खर्ब ८६ अर्ब १३ करोड १८ लाख, कृषि विकासको २ खर्ब ६४ अर्ब ६६ करोड १३ लाख, एभेष्टको २ खर्ब ४९ अर्ब ९८ करोड ३२ लाख, प्राइमको २ खर्ब २१ अर्ब ९५ करोड १८ लाख र सानिमा बैंकको २ खर्ब १५ अर्ब ६४ करोड १३ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरि सिटिजन बैंकको कुल सम्पत्ति १ खर्ब ९९ अर्ब ३२ करोड ३७ लाख, माछापुच्छ्रेको १ खर्ब ८६ अर्ब ८१ करोड, नेपाल एसबिआईको १ खर्ब ८६ अर्ब २६ करोड ६८ लाख र स्ट्याण्डर्ड चार्टर्डको १ खर्ब ५१ अर्ब ६० करोड ९१ लाख रुपैयाँ रहेको छ ।