बैंकहरुको सेवा शुल्क आम्दानी २७ अर्ब १२ करोड: नविल, एनआईसी र ग्लोबलको धेरै, पाँच वटा भने घट्यो « Arthapath.com
१३ असार २०८२, शुक्रबार

बैंकहरुको सेवा शुल्क आम्दानी २७ अर्ब १२ करोड: नविल, एनआईसी र ग्लोबलको धेरै, पाँच वटा भने घट्यो



काठमाडौं । वाणिज्य बैंकहरुको सेवा शुल्क आम्दानी (नेट फि इन्कम) प्रभावित भएको छ । बैंकहरुको भरपर्दो आम्दानीको स्रोतका रुपमा रहेको सेवा शुल्क आम्दानी (कमिसन) बढ्न नसकेको हो ।

बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार गत वर्ष बैंकहरुले सेवा शुल्क मार्फत २७ अर्ब १२ करोड ९५ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेका छन् । जुन, अघिल्लो आवको तुलनामा भने शुन्य दशमलव ३ प्रशितले घटेको छ । अघिल्लो वर्ष भने बैंकहरुको यस्तो आम्दानी २७ अर्ब १३ करोड ७२ लाख रुपैयाँ थियो ।

आर्थिक र बैंकिंग कारोबारमा हुने वृद्धिसंगै बैंकिंग सेवा प्रदान गर्दा प्राप्त हुने शुल्क आम्दानी पनि बढ्दै जाने हुन्छ । तर, अघिल्लो वर्षको तुलनामा भने गत वर्ष बैंकको यस्तो आम्दानी बढ्न सकेको छैन । विशेगरि गत वर्ष करिब सात महिना बैंकहरुले आयातका लागि एलसी खोल्न नपाउँदा पनि बैंकहरुको शुल्क आम्दानीमा कमी देखिएको हो । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण कर्जाको माग हुन सकिरहेको अवस्था छैन ।

बजारमा बस्तु तथा सेवाको माग घटेको छ, उपभोक्ताहरुको क्रय शक्ति पनि घटेको छ । यो अवस्थामा बैंकबाट महंगो दरमा ऋण लिए व्यवसाय गर्ने, घरजग्गा खरिदबिक्री गर्न सक्ने अवस्था पनि हुन् सकेन । यस्ता कारण बैंकहरुमा कर्जाको माग भएन । कर्जा लगानी बढ्न नसकेपछि नै सेवा शुल्क आम्दानी तथा कमिशन प्रभावित भएको हो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष चार वटा बैंकहरुको यस्तो आम्दानी घटेको छ । कृषि विकास बैंक, नेपाल एसबिआई, माछापुच्छ्रे, सानिमा र प्राइम बैंकको सेवा शुल्क आम्दानी घटेको हो । तर, यी बाहेकका बैंकहरुको यस्तो आम्दानी भने वृद्धि भएको छ ।

सेवा शुल्क आम्दानीमा नविल बैंक अगाडि देखिएको छ । गत वर्ष बैंकले सो वापत २ अर्ब ८९ करोड ९१ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको हो । जुन अघिल्लो वर्षको तुलानामा भने ८३.६२ प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँले बढी हो । दोस्रो स्थानमा रहेको एनआईसी एशियाले पनि सेवा शुल्क मार्फत २ अर्ब ३२ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । बैंकले पनि अघिल्लो आवको तुलनामा १४.८२ प्रतिशतले बढी हो ।

यस्तै, ग्लोबल आइएमई बैंकले पनि २ अर्ब ६ करोड ५ लाख बढी सेवा शुल्क आम्दानी गरेको छ । अघिल्लो वर्ष भने बैंकले १ अर्ब ६८ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो । धेरै सेवा शुल्क आम्दानी गर्नेको चौंथो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । गत वर्ष बैंकको यस्तो आम्दानी १ अर्ब ६१ करोड ८३ लाख रुपैयाँ छ ।

यस्तै, समिक्षा अवधिमा एनएमबि बैंकले १ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ, प्रभुले १ अर्ब ५३ करोड ६४ लाख, कुमारीले १ अर्ब ५१ करोड ६४ लाख सिद्धार्थले १ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ सेवा शुल्क आम्दानी गरेका छन् ।

त्यसैगरि स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३४ करोड ९८ लाख, कृषि विकासले १ अर्ब २२ करोड ११ लाख, नेपाल एसबिआईले १ अर्ब १८ करोड ८० लाख, माछापुच्छ्रेले १ अर्ब १२ करोड ६२ लाख, एभरेष्टले १ अर्ब ७ करोड ५५ लाख र प्राइम बैंकले १ अर्ब ६ करोड ९ लाख रुपैयाँ सेवा शुल्क वापत आम्दानी गरेका हुन् ।

गत वर्ष ६ वटा बैंकको सेवा शुल्क आम्दानी १ अर्बभन्दा तल देखिएको छ । समिक्षा अवधिमा लक्ष्मी सनराइजले ९९ करोड ६ लाख, हिमालयनले ९६ करोड ३३ लाख, नेपाल बैंकले ९२ करोड ८ लाख, सिटिजनले ८७ करोड ६७ लाख, सानिमाले ७७ करोड ८८ लाख र राष्ट्रिय वाणिज्य बैंकले ७० करोड ७३ लाख रुपैयाँ सेवा शुल्क आम्दानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्