चालू पुँजी कर्जालाई खुकुलो गरेको राष्ट्र बैङ्कले खराब कर्जामा गर्‍यो कडाइ, यसरी पर्दैछन् बैङ्कहरू मर्कामा « Arthapath.com
१२ भाद्र २०८०, मंगलवार

चालू पुँजी कर्जालाई खुकुलो गरेको राष्ट्र बैङ्कले खराब कर्जामा गर्‍यो कडाइ, यसरी पर्दैछन् बैङ्कहरू मर्कामा



काठमाडौं । चालु पुँजी कर्जा सम्बन्धी नीतिलाई खुकुलो बनाएको राष्ट्र बैङ्कले भने खराब कर्जा सम्बन्धी व्यवस्थालाई भने झन् कडाइ गरेको छ ।

राष्ट्र बैङ्कले सोमबार चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्दै सीमा बढाउने, बक्यौता शून्य बनाउन नपर्ने लगायतका व्यवस्था गरेको छ । तर, सोमबार नै एक निर्देशन जारी गर्दै खराब कर्जा सम्बन्धी व्यवस्थालाई झन् कडाइ गरेको छ ।

नयाँ व्यवस्थाअनुसार खराब वर्गमा परेका ऋणका ऋणीले बक्यौता तिरेको ६ महिनासम्म उक्त ऋण असल वर्गमा नआउने नीति ल्याइएको छ । पहिला बक्यौता तिरेपछि खराब कर्जा असर वर्गमा आउनुपर्ने थियो । तर, अहिले निष्क्रिय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) रहेको कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भए मात्रै असल वर्गमा स्तरोन्नति गर्न सकिने व्यवस्था ल्याइएको छ । साथै, सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने बताइएको छ ।

यसले एकातिर खराब कर्जा कम गर्न थप चुनौती दिएको छ । साथै, खराब कर्जा बापतको राखिने प्रोभिजनीङको अवधि लम्बिँदा बैङ्कहरू थप मर्कामा पर्ने देखिएको छ ।

यस्तै, निष्क्रिय वर्गमा वर्गीकरण भएका कर्जा सोही वर्गभित्र स्तरोन्नति हुनका लागि आवश्यक प्रावधान पुरा गरेका ६ महिना पश्चात् मात्र स्तरोन्नति गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने बताइएको छ । यस्तै, कुनै ऋणी एकभन्दा बढी शीर्षकमा कर्जा लिएमा कुनै एक कर्जा निष्क्रिय वर्गमा परेमा अन्य सम्पूर्ण कर्जा बक्यौतालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने नीति पनि ल्याइएको छ ।

साथै, कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा समूहमा रहेका अन्य ऋणीहरूको उक्त ऋणीसँगको व्यावसायिक अन्तरसम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने समूहका अन्य ऋणीहरूलाई समेत सोही निष्क्रिय वर्गमा वर्गीकरण गर्नु पर्ने राष्ट्र बैङ्कको निर्देशन छ । यसरी राष्ट्र बैङ्कले चालु पुँजी कर्जामा खुकुलो गरे पनि खराब कर्जालाई झन् कडाइ गरेको छ ।


प्रतिक्रिया दिनुहोस्