१४ वर्षदेखि सानिमा बैङ्कका सेयरधनीको छैन हात खाली: नगदभन्दा बोनसमा जोड, कुन वर्ष कति दियो लाभांश ? « Arthapath.com
२८ भाद्र २०८०, बिहीबार

१४ वर्षदेखि सानिमा बैङ्कका सेयरधनीको छैन हात खाली: नगदभन्दा बोनसमा जोड, कुन वर्ष कति दियो लाभांश ?



काठमाडौं । यस वर्ष सानिमा बैङ्कका सेयरधनीहरुले १४.७० प्रतिशत लाभांश पाउने भएका छन् । बैङ्कले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैङ्कको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सो बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । यद्यपि, गत आवमा बैङ्कले १७.७३ प्रतिशत लाभांश वितरण गर्ने सामर्थ्य बनाएको थियो । गत वर्ष बैङ्कले २ अर्ब २० करोड ९६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो । सञ्चालनमा रहेका वाणिज्य बैङ्कहरूको रिटर्न अन इक्विटी (आरओई)मा सानिमाको स्थान तेस्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष आठौँ स्थानमा रहेको सानिमाले गत वर्ष भने फड्को मारेको हो ।

गत वर्ष बैङ्कले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा बैङ्कको खुद सम्पत्ति १९ अर्ब ३७ करोड ७० लाख रुपैयाँ छ । बैङ्कको खुद सम्पत्तिको १५.६३ प्रतिशत प्रतिफल दिन सक्ने हैसियत बनाएको थियो । बैङ्कको चुक्ता पुँजी १२ अर्ब ४६ करोड रुपैयाँ छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्कले सेयरधनीलाई बाँड्ने लाभांश बढाएको हो । अघिल्लो वर्ष बैङ्कले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैङ्कले मर्जर बिना नै आफूलाई अब्बल बैङ्कको सूचीमा कायम राखेको छ । बैङ्कको अधिकांश सूचकहरू सन्तोषजनक रूपमा वृद्धि हुँदै आएको छ । 

बैङ्कले विगत १४ वर्षदेखि निरन्तर आफ्ना सेयर धनीहरूको हात रित्तो बनाएको छैन । बैङ्कले बोनस सेयर वितरणमै जोड दिएको देखिन्छ । आर्थिक वर्ष २०६५/६६ देखि नै बैङ्कले निरन्तर सेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको छ । सो आवमा बैङ्कका सेयरधनीले ५ प्रतिशत मात्रै बोनस सेयर पाएका थिए । त्यसपछि नै बैङ्कले निरन्तर रूपमा सेयरधनीहरुलाई मख्ख बनाउँदै आएको छ । बैङ्कले आव २०६६/६७ मा १० प्रतिशत नगद लाभांश, आव २०६७/६८ मा ७ प्रतिशत नगद र आव २०६८/६९ मा पनि ५.५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । तर, त्यसपछिका वर्षहरूमा भने बैङ्कले नगद र बोनस सेयर वितरण गर्दै आएको छ । 

लाभांश इतिहासमा सानिमा बैङ्कले दुई आर्थिक वर्षमा सबैभन्दा धेरै लाभांश वितरण गरेको देखिन्छ । बैङ्कले आव २०७१/७२ मा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, आव २०७५/७६ मा पनि १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश बाँडेको थियो । 

बैङ्कले कुन वर्ष कति दियो लाभांश ?

सानिमा बैङ्क सन् २००४ मा राष्ट्रियस्तरको विकास बैङ्कको रूपमा सञ्चालन भएको थियो । सन् २०१२ फेब्रुअरीदेखि क वर्गको वाणिज्य बैङ्कको रूपमा सञ्चालन हुँदै आएको छ ।

बैङ्कले ग्राहकहरूलाई वित्तीय सेवा तथा समाधानहरूको फराकिलो दायरा प्रदान गर्न र नाफामा स्वस्थ वृद्धि हासिल गर्न प्रतिबद्ध छ । जुन, बैङ्कको जोखिम क्षमता अनुरूप छ । बैङ्क उच्चतम कोटिको नैतिक स्तर, व्यावसायिक निष्ठा, संस्थागत सुशासन कायम र नियमहरूको अनुपालना गर्न समर्पित छ । फलस्वरूप, सानिमा बैंकिङ्ग व्यवसायमा एक बलियो, भरपर्दो र निरन्तर सहभागीको रूपमा परिचित छ । सानिमाले अर्थतन्त्रको समग्र लाभका लागि निरन्तर सुधार गर्दै आफ्नो व्यवसायका सबै क्षेत्रमा ग्राहक र सेयरधनीको अपेक्षा पूरा गर्न प्रतिबद्ध छ ।

बैङ्कले आगामी दिनमा पनि निक्षेप तथा कर्जाको विविधीकरण गर्ने रणनीति बनाएको छ । बैङ्कले पुँजीकोष वृद्धि र निष्क्रिय कर्जा न्यूनीकरण जोड दिने जनाएको छ । आयआर्जनका नयाँ क्षेत्रहरू विस्तार गरी निक्षेप परिचालनमा केन्द्रित रहने बैङ्कको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्