सबैभन्दा महँगो पैसा चलाउनेमा कुमारी पहिलो, यी बैङ्कले दिन सक्छन् सस्तो ब्याजमा ऋण  « Arthapath.com
४ आश्विन २०८०, बिहीबार

सबैभन्दा महँगो पैसा चलाउनेमा कुमारी पहिलो, यी बैङ्कले दिन सक्छन् सस्तो ब्याजमा ऋण 



काठमाडौं । दुई सरकारीसहित सात वटा वाणिज्य बैङ्कको आधार दर अर्थात् बेस रेट एकल अङ्कको बिन्दुमा छ ।

राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, स्ट्याण्डर्ड चार्टर्ड, नबिल, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा र सिद्धार्थ बैङ्कको आधार दर एकल अङ्कमा छ । यी बैङ्कहरूको बेस रेट १० प्रतिशतभन्दा कम छ । 

बैङ्कहरूको आधार दरले नै ऋण लिँदा सस्तो र महँगो ब्याज पर्ने सङ्केत गर्दछ । हाल यी पाँच वटा बैङ्कहरूबाट सस्तो ब्याजमा ऋण लिन सकिने देखिएको हो ।

अहिले सबैभन्दा कम बेस रेट राष्ट्रिय वाणिज्य बैङ्कको छ । सञ्चालनमा रहेका २० वटा बैङ्कमध्ये सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैङ्कबाट ऋण पाइनेछ । बैङ्कको आधार दर ८.५२ प्रतिशत रहेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्डको आधार दर ८.८४ प्रतिशत, नबिलको ९.५२ प्रतिशत,  नेपाल बैङ्कको ९.५५, एभरेस्टको ९.६१, नेपाल इन्भेस्टमेन्ट मेगाको ९.६७ र सिद्धार्थको ९.९० प्रतिशत रहेको छ । 

ऋण लिन चाहनेहरूले पनि आधार दर हेरेरै कर्जाका लागि बैङ्क छनोट गर्छन् । कुन बैङ्कले सस्तो ब्याजमा ऋण दिन सक्छ भन्ने अनुमान यसैका आधारमा लगाउन सकिन्छ । कम आधार दर भएको बैङ्कले बजारमा प्रतिस्पर्धी ब्याजमा कर्जा दियो भने पनि उसलाई पर्याप्त नाफा सुरक्षित गर्ने ठाउँ रहन्छ । आधार दर कम भएका बैङ्कले बढी प्रिमियम लगाउँदा पनि बढी आधार दर भएका बैङ्कले लिने कर्जाको ब्याजदरसँग प्रतिस्पर्धी हुन्छन् । यसले आधार दर कम हुनु भनेको बैङ्कको नाफाका हिसाबले पनि सकारात्मक हुन्छ ।

पछिल्लो अपडेट अनुसार अधिकांश बैङ्कहरूको बेस रेट घटेको छ । बैङ्कहरूले बेस रेटमा प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेका खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । 

बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । बैङ्कहरूको सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार हाल कर्जाको औसत ब्याजदर १०.०८ प्रतिशत छ । बैङ्कबाट कर्जा लिँदा औसतमा न्यूनतम ११.५८ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने देखिन्छ । यद्यपि, बैङ्कहरूको आधार दर अनुसार फरक फरक हुनसक्छ । 

बेस  रेटकै आधारमा कुमारी बैङ्कबाट ऋण लिँदा महँगो ब्याज तिर्नुपर्ने देखिन्छ । हाल बैङ्कको अन्य बैङ्कको तुलनामा सबैभन्दा धेरै छ । पछिल्लो अपडेट अनुसार बैङ्कको बेस रेट १०.९४ प्रतिशत रहेको छ । यता, हिमालयन बैङ्कको बेस रेट पनि दोस्रो धेरै छ । बैङ्कको १०.८७ प्रतिशत आधार दरमा ग्राहकले ऋण लिँदा अन्यको तुलनामा महँगो नै पर्न आउँछ । 

हाल सानिमा बैङ्कको आधार दर १०.०६ प्रतिशत, ग्लोबल आइएमईको १०.०७, प्रभुको १०.१५, कृषि विकासको १०.२२, एनएमबीको १०.३०, माछापुच्छ्रेको १०.४६ र एनआइसी एसियाको १०.४९ प्रतिशत रहेको छ ।  यता, नेपाल एसबीआईको आधार दर १०.५८ प्रतिशत, सिटिजनको  १०.६६, प्राइमको १०.६८ र लक्ष्मी सनराइजको १०.६८ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्