एक महिनामै घर जग्गामा बैंकहरुको २ खर्ब बढी लगानी, कर्जा विस्तारमा एनआइएमबि, एभरेष्ट, नेपाल र प्रभु अगाडि

काठमाडौं । घर जग्गा क्षेत्रमा वाणिज्य बैङ्कहरूले एक महिनामै २ खर्ब बढी कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनको तथ्याङ्कले यस्तो देखाए हो ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरूले समीक्षा महिनामा घर जग्गा व्यवसायमा २ खर्ब ८ अर्ब ४७ करोड १४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यद्यपि, यो गत वर्षको सोही महिनाको तुलनामा भने १७.६१ प्रतिशतले कमी हो । गत वर्षको साउन महिनामा बैङ्कहरूले २ खर्ब ५३ अर्ब ४ करोड ६७ लाख रुपैयाँ कर्जा घर जग्गा क्षेत्रमा लगानी गरेका थिए ।
गत साउनमा समग्र बैङ्कहरूको निक्षेप ११.३७ प्रतिशतले वृद्धि भएको छ । गत साउन मसान्तसम्ममा वाणिज्य बैङ्कहरूले कुल ५६ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका थिए । तर, कर्जा लगानी भने ४८ खर्ब ६२ अर्ब रुपैयाँ मात्रै देखिएको छ । निक्षेपको तुलनामा कर्जा लगानी भने विस्तार हुन नसकेको तथ्याङ्कले देखाउँछ । अघिल्लो साउनको तुलनामा कर्जा लगानी २.९२ प्रतिशतले मात्रै बढेको हो । समग्र कर्जा प्रवाह सुस्ताए पनि घर जग्गा क्षेत्रमा जाने लगानी भने बढेको पाइन्छ ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार घर जग्गा क्षेत्रमा कर्जा प्रवाह गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क अघि देखिएको छ । घर जग्गामा लगानी वृद्धि गर्नेमा पनि बैङ्क पहिलो स्थानमा छ । बैङ्कले एक महिनामै २६ अर्ब १९ करोड ४२ लाख रुपैयाँ बढी कर्जा लगानी घर जग्गा क्षेत्रमा गरेको छ । यो गत आवको साउन महिनाको तुलनामा ३९.५५ प्रतिशतले बढी हो । एनआइएमबिले गत वर्षको साउनमा १८ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ कर्जा घर जग्गामा लगानी गरेको थियो ।
रकमको आधारमा कम भएता पनि घर जग्गा व्यवसायमा कर्जा बढाउनेको दोस्रो स्थानमा एभरेष्ट बैङ्क देखिएको छ । बैङ्कले गत वर्षको साउनको तुलनामा घर जग्गा क्षेत्रमा ३९.४४ प्रतिशतले कर्जा लगानी वृद्धि गरी ६ अर्ब ३ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । गत वर्षको साउनमा ४ अर्ब ३२ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
गत साउनमा नेपाल बैङ्कले पनि घर जग्गा क्षेत्रमा २९.६३ प्रतिशतले कर्जा लगानी बढाएको छ । अघिल्लो साउनमा ९ अर्ब ४ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैङ्कले गत साउनमा भने ११ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, माछापुच्छ्रे बैङ्कले पनि ३१.३२ प्रतिशतले बढाएर १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ, प्रभु बैङ्कले पनि २३.७६ प्रतिशतले बढाएर १४ अर्ब २९ करोड घर जग्गामा लगानी गरेको छ ।
यता, ठुलो बैङ्कले मानिने ग्लोबल आइएमईले १५ अर्ब ७ करोड १७ लाख, एनआइसी एशियाले २० अर्ब ४८ करोड १७ लाख, नबिलले २१ अर्ब ६१ करोड ६३ लाख, राष्ट्रिय वाणिज्य बैङ्कले १६ अर्ब ९३ करोड ९९ लाख, हिमालयन बैङ्कले १४ अर्ब ७३ करोड ८७ लाख र प्राइम बैङ्कले १५ अर्ब २५ करोड २८ लाख रुपैयाँ घर जग्गामा कर्जा लगानी गरेका छन् ।
यस्तै, एनएमबि बैङ्कले ४ अर्ब ६२ करोड ९० लाख, सानिमाले ६ अर्ब ५० करोड १८ लाख, कुमारीले १ अर्ब ४६ करोड ६१ लाख, लक्ष्मी सनराइजले ८ अर्ब ६९ करोड ५८ लख, सिद्धार्थले ५ अर्ब ४६ करोड ६७ लाख, कृषि विकासले १ अर्ब ६९ करोड २५ लाख, सिटिजनले ३ अर्ब ६९ करोड ३९ लाख, स्ट्याण्डर्ड चार्टर्डले ७ अर्ब ७७ करोड ८४लाख र नेपाल एसबिआई बैङ्कले ४ अर्ब ७१ करोड १७ लाख रुपैयाँ घर जग्गामा कर्जा लगानी गरेका छन् ।
गत आर्थिक वर्ष २०७९/८० मा बैङ्कहरूले २ खर्ब १७ अर्ब ९६ करोड ४१ लाख रुपैयाँ घर जग्गा कर्जा प्रवाह गरेका हुन् । एक वर्षमै वाणिज्य बैङ्कहरूको घर कर्जा थप १८ अर्ब ३२ करोड रुपैयाँ अर्थात् ९.१७ प्रतिशतले बढाएका हुन् । अघिल्लो वर्ष भने बैङ्कहरूले कुल १ खर्ब ९९ अर्ब ६४ करोड ९ लाख रुपैयाँ घर जग्गा कर्जामा लगानी गरेका थिए ।
नियामक निकाय राष्ट्र बैङ्कले घर जग्गा क्षेत्रको लगानीमा कडाइ गरेको थियो । तर, नियामयकी कडाइका बाबजुद पनि बैङ्कहरूले घर जग्गा क्षेत्रमा लगानी बढाएको देखिन्छ । राष्ट्र बैङ्कले अनुत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढेको भन्दै कडाइ गरेको थियो । गत वर्ष तरलता अभावमा बैङ्कहरूले घर जग्गामा लगानी गर्न नसकेको भनिएको थियो ।
विशेष गरी कित्ताकाट, बैङ्क तथा वित्तीय संस्थाहरूको तरलता अभाव र ब्याज वृद्धिले नै घर जग्गा कारोबारले गति लिन नसकेको देखिन्छ । तर, राष्ट्र बैङ्कको तथ्याङ्कले आर्थिक सङ्कट, तरलता अभावका बाबजुद पनि घर जग्गामा बैङ्कहरूको लगानी भने बढाएको देखाउँछ ।