सम्भावित जोखिम व्यवस्थाका लागि बैङ्कहरूले छुट्टाए डेढ खर्ब रकम, कुनको कति ?

काठमाडौँ । बैङ्कहरूले सम्भावित जोखिम व्यवस्था अर्थात् ‘लोन लस प्रोजिभन’का लागि डेढ खर्ब रुपैयाँ छुट्टाएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा बैङ्क तथा वित्तीय संस्थाको मासिक वित्तीय अवस्था सम्बन्धीको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत साउनमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरूले १ खर्ब ४७ अर्ब ८९ करोड १४ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्टाएको हुन् । बैङ्कहरूमा खराब कर्जा बढ्दै जाँदा उक्त रकम लोन लस प्रोभिजनका लागि छुट्टाइएको हो । हाल बैङ्कहरूले प्रवाह गरेको कर्जा उठ्न सकिरहेको छैन, त्यसले यस्तो प्रोभिजन रकम बढेको हो ।
पछिल्लो बैङ्कहरूमा खराब कर्जा बढी नै छ । यद्यपि, यसको नियन्त्रणमा भने बैङ्कहरू केन्द्रित छन् । आर्थिक मन्दीका कारण बैङ्कहरूले प्रवाह गरेका ऋण लगानी पनि उठ्न सकिरहेको अवस्था छैन, यस्ता कारणले पनि सम्भावित जोखिम व्यवस्थाका लागि छुट्टाइएको रकम बढेको बताइन्छ । ‘लोन लस प्रोभिजन’ रकम मर्जरका गएका बैङ्कहरूको धेरै देखिएको छ ।
सम्भावित जोखिम व्यवस्थाका लागि सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआइएमबि) ले छुट्टाएको छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार एनआइएमबिले १५ अर्ब ६ करोड ३ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्टाएको छ।
यस्तै, दोस्रो स्थानमा रहेको कुमारी बैङ्कले १४ अर्ब ५० करोड १५ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्टाएको देखिन्छ । समीक्षा अवधिमा ग्लोबल आइएमई बैङ्कले पनि १३ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ, नबिलले ११ अर्ब ६९ करोड ५२ लाख, प्रभुले १० अर्ब १७ करोड ७६ लाख र हिमालयन बैङ्कले पनि १० अर्ब १३ करोड २२ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्टाएका छन् ।
यस्तै राष्ट्रिय वाणिज्य बैङ्कले पनि ८ अर्ब ६६ करोड १७ लाख, लक्ष्मी सनराइजले ८ अर्ब २२ करोड ८ लाख, प्राइम बैङ्कले ७ अर्ब ३६ करोड ३१ लाख, नेपाल बैङ्कले ६ अर्ब ३२ करोड ४० लाख, कृषि विकासले ६ अर्ब २५ करोड ३५ लाख, एनएमबि ५ अर्ब ८७ करोड ६ लाख र एनआईसी एशियाले ५ अर्ब ४९ करोड रुपैयाँ छुट्टाएका छन् ।
यता, सिद्धार्थ बैङ्कले ४ अर्ब ९१ करोड ७५ लाख, सिटिजनले ४ अर्ब १८ करोड ३३ लाख, सानिमाले ३ अर्ब ३१ करोड ७९ लाख, माछापुच्छ्रेले ३ अर्ब ३७ करोड ५८ लाख, एभरेष्ट ३ अर्ब १३ करोड ७५ लाख, नेपाल एसबिआईले ३ अर्ब ६० करोड र स्ट्ण्डर्ड चार्टर्डले २ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ छुट्टाएका छन् ।