विज्ञापन अगावै नेपाल बैङ्कको सीइओमा दर्जनौँको दौडधुप, को–को छन् लविङ्गमा ? « Arthapath.com
१६ आश्विन २०८०, मंगलवार

विज्ञापन अगावै नेपाल बैङ्कको सीइओमा दर्जनौँको दौडधुप, को–को छन् लविङ्गमा ?



काठमाडौँ । नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर अधिकारीको कार्यकाल सकिएको छ । उनले चार वर्षे कार्यकाल सकेर बैङ्कबाट बाहिरिएका छन् । दुई दशक लामो कार्य अनुभवसहित उनी असोज १५ गते सोमबारदेखि नेपाल बैङ्कबाट बाहिरिएका हुन् । हाल बैङ्कको कायममुकायम सीइओको जिम्मेवारी डिसीइओ समता पन्तलाई दिईको छ । 

अधिकारी बाहिरिएसँगै अब बैङ्कको सिइओ को बन्छ भन्ने चौतर्फी चर्चा सुरु भएको छ । चर्चासँगै विभिन्न व्यक्तिहरूको दौडधुपले पनि उत्तिकै गति लिएको पाइन्छ । बैङ्कको सञ्चालक समितिले पनि नयाँ सिइओ नियुक्तिका लागि आवेदन खुला गर्दैछ । त्यसका लागि दरखास्त आव्हान हुन अगावै बजारमा भने सीइओको लागि आकंक्षी र उनीहरूको चर्चा सुरु भएको हो । 

बैंकिङ्ग क्षेत्रमा निकै लामो समय बिताएका व्यक्तिहरूबाट पनि बैङ्कको सिइओ बन्ने दौडमा छन् । नेपाल बैङ्कमै उच्च व्यवस्थापन तहमा रहेर काम गरेका कर्मचारीहरू पनि सिइओ बन्ने लाइनमा छन् । यति बेला बैङ्कबाट आन्तरिक तथा बाह्य आकंक्षीबाट सीइओको लागि दौडधुप सुरु भएको बताइन्छ । 

स्रोतका अनुसार राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक अशोक पौडेल पनि नेपाल बैङ्कको सिइओ बन्ने लविङमा छन् । यस्तै, नेपाल बैङ्कको सिइओ बन्ने दौडमा नेपाल एसबिआई बैङ्कबाट रिटायर भएर बसेका छविराज पन्त पनि देखिएका छन् । उनी नेपाल एसबिआई बैङ्कका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रहेर काम गरेका थिए ।  

यता, सानिमा रिलायन्स  लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ शिवनाथ पाण्डेको पनि चर्चा छ । पाण्डेले सानिमा छाडेर नेपाल बैङ्कको सिइओ बन्ने दौडमा देखिएका छन् । पाण्डे सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको सानिमा रिलायन्सको सिइओ हुन् । पाण्डे यसअघि सूर्या लाइफ इन्स्योरेन्सको सिइओ भएर ४ बिताइसकेका व्यक्ति हुन् । चाटर्ड एकाउन्टेनसमेत रहेका पाण्डे नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर बन्ने लाइनमा थिए । सरकारले डेपुटी गभर्नर नबनाएपछि रिटायर भएका पाण्डे निजी बैङ्कमा जान प्रयासरत छन् । 

यता, नेपाल बैङ्कको हाल कायममुकायम सीइओको जिम्मेवारी प्राप्त गरेकी डिसीइओ समता पन्तको पनि चर्चा छ । उनी पनि सिइओ बन्ने दौडमै रहेको स्रोतको दाबी छ । पन्त नेपाल बैङ्ककै क्याडर हुन् । वि.स २०६१ सालमा उनी नेपाल बैङ्ककै छैठौं तहको कर्मचारीको रूपमा प्रवेश गरेकी थिइन् । तुलनात्मक रूपमा छोटो समयमै उनी नेपाल बैङ्कको डीसीइओ बन्न सफल भएकी महिला हुन् । उनले विभिन्न जिम्मेवारीमा रही २ दशक बढीको बैंकिङ्ग अनुभव सँगालेकी छन् । पन्तले एम.बि.एससम्मको अध्ययन समेत गरेकी छिन् । पन्तकै नेतृत्वमा बैङ्क उदय हुने सम्भावना बलियो रहेको समेत दाबी गरिन्छ । 

यता, कृषि विकास बैङ्कका (डिजीएम) प्रताप सुवेदी र निर्मल उपाध्याय पनि विज्ञापन खुलेमा आवेदन दिने मुडमा छन् । सुवेदी यसअघि कृषि विकास बैङ्कको सीईओको लागी ३ जनाभित्र परेका व्यक्ति हुन् । कांग्रेस निटक मानिने उपाध्यायको  कृषि विकास बैङ्कमा अवकाश हुने समय हुन लागेकाले पनि सिइओ बन्ने दौडमा लागेका छन् । 

सीईओको दौडमा यसअघि किसान लघुवित्त कम्पनीको सईिओ भैसकेका पर्वत कार्की पनि सीईओको दौडमा रहेको बुझिएको छ । कर्जा सुरक्षा निगमको सिइओ भैसकेका विष्णुबाबु मिश्र, सिन्धु विकास बैङ्कको सीईओबाट हटेका रमेश जोशी र राष्ट्रिय सहकारी बैङ्कको सिइओ रहेका बद्री गुरागाईँ पनि नेपाल बैङ्क हाँक्ने तयारीमा देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्