बैङ्किङ प्रणालीमा थुप्रिँदै लगानीयोग्य रकम, कर्जा प्रवाह नबढ्दा सङ्कुचित बन्दै अर्थतन्त्र « Arthapath.com
१२ असार २०८२, बिहीबार

बैङ्किङ प्रणालीमा थुप्रिँदै लगानीयोग्य रकम, कर्जा प्रवाह नबढ्दा सङ्कुचित बन्दै अर्थतन्त्र



काठमाडौँ । अन्तर बैङ्क कारोबारको ब्याजदर २ प्रतिशतभन्दा तल झरेको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै यस्तो ब्याजदर पछिल्ला दिन निरन्तर घटिरहेको छ । 

नेपाल राष्ट्र बैङ्कका अनुसार हाल अन्तर बैङ्क सापटी ब्याजदर १.९१ प्रतिशत कायम भएको छ । बैङ्कहरूमा तरलता सहज हुँदै गएपछि नै यस्तो ब्याजदर घट्न पुगेको हो । 

अहिले बैंकिङ्ग प्रणालीमा निक्षेप पनि बढेको छ । तर, कर्जा प्रवाह भने सुस्त छ । अर्थात् निक्षेपको तुलनामा कर्जा प्रवाह न्यून छ । जसले गर्दा अन्तर बैङ्क ब्याजदर निरन्तर घटेको हो । हाल बैंकिङ्ग प्रणालीमा साढे ४ खर्ब लगानीयोग्य रकम थुप्रिएको छ । 

नेपाल राष्ट्र बैङ्कका अनुसार हाल बैङ्क तथा वित्तीय संस्थामा ५८ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वाणिज्य बैङ्कहरूसँग मात्रै ५१ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप छ ।  तर, कर्जा प्रवाह भने कम नै छ । पछिल्लो अपडेट अनुसार बैङ्क तथा वित्तीय संस्थाले कुल ४९ खर्ब ५२ अर्ब कर्जा लगानी गरेका छन् । वाणिज्य बैङ्कले मात्रै ४३ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । 

निरन्तर निक्षेप बढ्दै जाँदा कर्जाको माग कम छ । जसले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घट्दै आएको छ । हाल सिडी रेसियो ८१.८६ प्रतिशतको बिन्दुमा झरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरू हाल कर्जा लगानीका लागि निकै सहज अवस्थामा देखिएका हुन् । बैङ्क तथा वित्तीय संस्थाहरूले सिडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउँछन् ।

विशेषगरि कर्जाको माग बढ्न नसक्दा नै अन्तर बैङ्क ब्याजदर र सिडी रेसियो घटेको हो । अहिले बैङ्कहरूको कर्जाको ब्याजदर पनि घट्न सकेको छैन । कर्जाको ब्याजदर महँगो भएपछि ऋण लिन व्यवसायीहरू तम्सिएका छैनन् । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएता पनि उच्च ब्याजदरकै कारण कर्जा प्रवाहमा समस्या रहेको हो । विशेषतः कर्जा लगानी बढ्न नसक्दा नै अर्थतन्त्र नै सङ्कुचित बन्दै गएको छ ।

बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण कर्जाको माग नभएको बताइन्छ । अहिले बजारमा बस्तु तथा सेवाको माग नै घटेको छ । उपभोक्ताहरूको क्रय शक्ति पनि घटेको छ । घरजग्गा व्यवसाय पनि उत्साहजनक छैन । त्यसमाथि बैङ्क कर्जाको ब्याजदर पनि उच्च छ । यो अवस्थामा बैङ्कबाट महँगो दरमा ऋण लिए व्यवसाय गर्ने, घरजग्गा खरिदबिक्री गर्न सक्ने अवस्था पनि छैन । यस्ता कारण कर्जा प्रवाह बढ्न नसकेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस्