नाफामा ग्लोबल आइएमई पहिलो: नबिल र एनआइएमबि बीच टक्कर, हिमालयन र कुमारी तगडा भएका हुन् ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

नाफामा ग्लोबल आइएमई पहिलो: नबिल र एनआइएमबि बीच टक्कर, हिमालयन र कुमारी तगडा भएका हुन् ?



काठमाडौँ । नाफामा तीन बैङ्क अग्रस्थानमा देखिएका छन् । सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क अगाडि देखिएका हुन् ।

तर, पहिलो सूचीमा भने ग्लोबल आइएमई बैङ्क देखिएको छ । बैङ्कले दुई महिनामै डेढ अर्ब बढी नाफा कमाएको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो । ग्लोबल आइएमई बैङ्कले साउन र भदौमा मात्रै १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । 

सबैभन्दा धेरै नाफा कमाउनेको दोस्रो सूचीमा भने नबिल बैङ्क देखिएको छ । नबिलले दुई महिनामा १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । तेस्रो नम्बरमा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क (एनआइएमबि) देखिएको छ।  बैङ्कले दुई महिनामा १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । नबिल र एनआइएमबिबीच नाफामा ७ करोड बराबरको फरक छ । 

साउन र भदौ दुई महिनामा २० वटा वाणिज्य बैङ्कहरूले कुल १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बढी खुद नाफा कमाएका छन् । चालु आवको दुई महिनामा हिमालयन र कुमारी बैङ्कको नाफा पनि अर्ब भन्दा माथि नै छ । यी दुई बैङ्क मर्जरपछि व्यवसायमा तगडा बन्दै गएको देखिएको छ । समीक्षा अवधिमा हिमालयनले १ अर्ब २३ करोड २४ लाख र कुमारीले १ अर्ब १४ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । 

नाफाका आधारमा छैंठौ स्थानमा भने राष्ट्रिय वाणिज्य बैङ्क रहेको छ । बैङ्कले दुई महिनामा ८७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । 

यस्तै, समीक्षा अवधिमा प्राइम कमर्सियल बैङ्कले ८३ करोड ६५ लाख, लक्ष्मी सनराइजले ८१ करोड ४० लाख, एनआइसी एशियाले ८० करोड, एनएमबिले ७६ करोड ७० लाख, एभरेष्ट ७१ करोड २५ लाख  र नेपाल बैङ्कले ७० करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । 

दुई महिनामा प्रभु बैङ्कले ६६ करोड ४१ लाख, कृषि विकासले ६१ करोड ५६ लाख, सिद्धार्थले ५८ करोड ६५ लाख, सानिमाले ५१ करोड २० लाख, स्ट्याण्डर्ड चार्टर्डले ४८ करोड ४५ लाख र सिटिजनले ४४ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका हुन् । 

दुई महिनाको तथ्याङ्क अनुसार माछापुच्छ्रे बैङ्कले ३७ करोड ६३ लाख र नेपाल एसबिआईले २७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । 


प्रतिक्रिया दिनुहोस्