एक दर्जन बैंकहरुको बेस रेट एकल अंकमा झर्यो, अब कुन बैंकबाट ऋण लिँदा सस्तो र महँगो ब्याज तिर्नुपर्ने ?

काठमाडौँ । झन्डै एक दर्जन बैङ्कहरूको बेस रेट अर्थात् आधार दर एकल अङ्कमा छ । दुई सरकारीसहित ९ वटा बैङ्कको आधार दर १० प्रतिशत भन्दा तल छ ।
हाल स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, एभरेष्ट, नबिल, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ एनएमबि र सानिमा बैङ्कको आधार दर एकल अङ्कमा देखिएको हो ।
बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । हाल ती नौ वटा बैङ्कहरूले सस्तो ब्याजमा ऋण दिन सक्ने देखिएको हो । ऋण लिन चाहानेहरुले पनि आधार दर हेरेरै कर्जाका लागि बैङ्क छनौट गर्छन् । कुन बैङ्कले सस्तो ब्याजमा ऋण दिन सक्छ भन्ने अनुमान बेस रेटकै आधारमा लगाउन सकिन्छ । कम आधार दर भएको बैङ्कले बजारमा प्रतिस्पर्धी ब्याजमा कर्जा दियो भने पनि उसलाई पर्याप्त नाफा सुरक्षित गर्ने ठाउँ रहन्छ ।
आधार दर कम भएका बैङ्कले बढी प्रिमियम लगाउँदा पनि बढी आधार दर भएका बैङ्कले लिने कर्जाको ब्याजदरसँग प्रतिस्पर्धी हुन्छन् । यसले आधार दर कम हुनु भनेको बैङ्कको नाफाका हिसाबले पनि सकारात्मक हुन्छ । पछिल्लो अपडेट अनुसार अधिकांश बैङ्कहरूको बेस रेट घटेको छ । बैङ्कहरूले बेस रेटमा प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेका खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ ।
बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । बैङ्कहरूको सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार हाल कर्जाको औसत ब्याजदर १०.०६८५ प्रतिशत छ । बैङ्कबाट कर्जा लिँदा औसतमा न्यूनतम ११.५८ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने देखिन्छ । यद्यपि, बैङ्कहरूको आधार दर अनुसार फरक फरक हुनसक्छ ।
बेस रेटका आधारमा हाल सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको पैसा चलाउने सकिने देखिएको छ । बैङ्कको आधार दर ८.६७ प्रतिशत रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको आधार दर ८.७० प्रतिशत, एभरेष्टको ९.३३ प्रतिशत, नबिलको ९.५४ प्रतिशत, नेपाल बैङ्कको ९.६५, नेपाल इन्भेष्टमेन्टको ९.७९, सिद्धार्थको ९.८३, एनएमबिको ९.८५ र सानिमा बैङ्कको ९.९२ प्रतिशत रहेको छ । यी बैङ्कहरूबाट कर्जा लिँदा अन्यको बैङ्कको तुलनामा सस्तो ब्याज पर्न जानेछ ।
बेस रेटकै आधारमा भने एनआइसी एशिया, कुमारी, हिमालयन र लक्ष्मी सनराइजबाट ऋण लिँदा महँगो ब्याज तिर्नुपर्ने देखिएको छ । हाल यी बैङ्कहरूको आधार दर क्रमशः १०.९६ प्रतिशत, १०.९४ प्रतिशत, १०.८८ प्रतिशत र १०.८३ प्रतिशत रहेको छ ।
यस्तै, हाल माछापुच्छ्रे बैङ्कको आधार दर १०.०१ प्रतिशत, ग्लोबल आइएमईको १०.०९ प्रतिशत, प्रभु बैङ्कको १०.१८, कृषि विकासको १०.३४, नेपाल एसबिआईको १०.४२, सिटिजनको १०.६८ र प्राइम कमर्सियल बैङ्कको १०.७६ प्रतिशत रहेको छ ।
कुुनको बैंकको आधार दर कति ?
