नबिल र ग्लोबललाई एनआइएमबिले उछिन्यो: हिमालयन र प्रभु आक्रामक, यस्तो देखियो नाफामा बैंकहरुको उछिनपाछिन « Arthapath.com
१७ कार्तिक २०८०, शुक्रबार

नबिल र ग्लोबललाई एनआइएमबिले उछिन्यो: हिमालयन र प्रभु आक्रामक, यस्तो देखियो नाफामा बैंकहरुको उछिनपाछिन



काठमाडौं । सञ्चालनमा रहेको वाणिज्य बैङ्कहरूमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क (एनआइएमबि) ले सर्वाधिक नाफा कमाएको छ । 

बैङ्कहरूले शुक्रवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार नाफामा एनआइएमबि अगाडि देखिएको हो । 

पहिलो त्रैमासमा बैङ्कहरूले कुल १३ अर्ब ४७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तर, २० वटा बैङ्कमध्ये सबैभन्दा धेरै नाफा एनआइएमबिले कमाएको हो । समीक्षा अवधिमा एनआइएमबिले कुल १ अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको असोज मसान्तसम्मको तुलनामा ३३.४६ प्रतिशतले बढी हो । गत  आवको असोज मसान्तसम्ममा बैङ्कले १ अर्ब १४ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा लगायतका सूचकमा अब्बल मानिने नबिल र ग्लोबल आइएमई बैङ्कलाई पनि एनआइएमबिले चालु आवको पहिलो त्रैमासमा भने उछिनेको छ । 

चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैङ्कहरूको नाफामा दोहोरो अङ्कको गिरावट देखिएको छ । गत आवको असोज मसान्तसम्ममा बैङ्कहरूले कुल १६ अर्ब ५५ करोड ७ लाख रुपैयाँ नाफा कमाएका थिए । तर, यस वर्षको सोही अवधिमा भने १८.६० प्रतिशतले घटेको हो । आर्थिक मन्दी लगायतको असर बैङ्कहरूको नाफामा देखिएको छ । 

विशेषगरि बैङ्कहरूको खराब कर्जा बढेकाले नाफामा असर परेको हो । पहिलो त्रैमासमा बैङ्कहरूले आम्दानीको धेरै रकम इम्पेयरमेन्ट चार्जमा छुट्ट्याएका छन् ।ज सले नाफा प्रभावित बनेको छ । समीक्षा अवधिमा अधिकांश बैङ्कहरूको नाफामा गिरावट आएको छ । 

नबिल बैङ्ककै नाफा साढे ६ प्रतिशतले घटेको छ । तीन महिनामा नबिलले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । तर, गत वर्षको सोही अवधिमा भने बैङ्कले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ बढी खुद नाफा कमाएको थियो । 

यस्तै, अब्बल मानिने ग्लोबल आइएमई बैङ्कको नाफा पनि दबाबमा देखिएको छ । गत वर्षको तुलनामा बैङ्कले ३ प्रतिशतले मात्रै नाफा वृद्धि गरी कुल १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ पुर्‍याएको छ । 

नाफा धेरै कमाउनेको चौथो नम्बरमा भने प्राइम कमर्सियल बैङ्कले छलाङमा मारेको छ । गत वर्षको असोज मसान्तसम्मको तुलनामा प्राइमले ३१.७२ प्रतिशतले नाफा बढाएर १ अर्ब १५ करोड १५ लाख रुपैयाँ पुर्‍याएको छ । 

विवरण अनुसार नाफा वृद्धिमा हिमालयन र प्रभु बैङ्कको उदय भएको छ । समीक्षा अवधिमा हिमालयन बैङ्कले खुद नाफा झन्डै दोब्बर अर्थात् ९८.३५ प्रतिशतले बढाएर १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ कमाएको छ । यस्तै, प्रभु बैङ्कले पनि ४६.६९ प्रतिशत नाफा बढाएर अर्बपति क्लबमा आफ्नो स्थान जमाएको छ । प्रभु बैङ्कले तीन महिनामा १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । 

यस्तै, माछापुच्छ्रे बैङ्कले पनि नाफा २०.१८ प्रतिशतले बढाएर ५४ करोड २२ लाख रुपैयाँ पुर्‍याएको छ । यता, एनएमबि बैङ्कले पनि ६.५३ प्रतिशतले बढाएर ९६ करोड ३२ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले २ प्रतिशतले बढाएर ८२ करोड ७७ लाख रुपैयाँ नाफा गरेका छन् । 

यी बाहेकका बैङ्कको नाफा भने घटेको छ । सरकारी स्वामित्वमा रहेको कृषि विकास बैङ्कको नाफा त झन् ८८ करोड ८० लाख रुपैयाँ ऋणात्मक देखिएको छ । अर्को दुई सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्कको नाफा पनि क्रमशः ९.५० प्रतिशत र ७६.४३ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा सिद्धार्थ बैङ्कको ९१.४० प्रतिशतले घटेर ४ करोड २८ लाख रुपैयाँ कायम भएको छ । यस्तै, लक्ष्मी सनराइज  बैङ्कको नाफा पनि ७९.५३ प्रतिशत, कुमारीको ७३.६४ प्रतिशत, सिटिजनको १९.७० प्रतिशत, सानिमाको ११.९१ प्रतिशत र एभरेष्ट बैङ्कको नाफा ९.५० प्रतिशतले घटेको छ । 

कुन बैंकले कति नाफा गरे ?


प्रतिक्रिया दिनुहोस्