१ अर्बले बढ्यो बैङ्कहरूको सेवा शुल्क आम्दानी: नबिल, ग्लोलब र एनआइसीको धेरै, अन्य कुनको कति ? « Arthapath.com
२४ कार्तिक २०८०, शुक्रबार

१ अर्बले बढ्यो बैङ्कहरूको सेवा शुल्क आम्दानी: नबिल, ग्लोलब र एनआइसीको धेरै, अन्य कुनको कति ?



काठमाडौँ । वाणिज्य बैङ्कहरूको सेवा शुल्क आम्दानी एक अर्बले बढेको छ । तीन महिनामा बैङ्कहरूले सेवा शुल्क बापत करिब साढे ८ अर्ब रुपैयाँ  आम्दानी गरेका हुन् । 

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरूले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैङ्कहरूको यस्तो आम्दानी दोहोरो अङ्कले बढेको हो । 

विवरण अनुसार बैङ्कहरूले सेवा शुल्क मार्फत ८ अर्ब ४३ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेका छन् । जुन गत आवको पहिलो त्रैमासको तुलनामा १ अर्ब ३६ लाख रुपैयाँ अर्थात् १३.५१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैङ्कहरूको यस्तो आम्दानी ७ अर्ब ४३ करोड ९ लाख रुपैयाँ रहेको थियो । 

सबैभन्दा धेरै सेवा शुल्क आम्दानी नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया बैङ्कको देखिएको छ । तीन महिनामा नबिल बैङ्कको यस्तो आम्दानी ७५ करोड ५३ लाख रुपैयाँ रहेको छ । गत आवको पहिलो त्रैमास भने बैङ्कले सेवा शुल्क बापत ६२ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

असोज मसान्तसम्ममा ग्लोबल आइएमई बैङ्कले पनि ७३ करोड रुपैयाँ र एनआइसी एशिया बैङ्कले ७३ करोड रुपैयाँ सेवा शुल्क आम्दानी गरेका छन् । यी दुई बैङ्कहरूले गत आवको पहिलो त्रैमासमा पनि क्रमशः ५३ करोड ६० लाख र ५७ करोड २९ लाख रुपैयाँ आम्दानी गरेका थिए । 

यस्तै, समीक्षा अवधिमा कुमारी बैङ्कको सेवा शुल्क आम्दानी ६२ करोड ७० लाख, प्रभु बैङ्कको ५५ करोड ९३ लाख, प्राइमको ५२ करोड ११ लाख र एनएमबि बैङ्कको ५१ करोड ६ लाख रुपैयाँ रहेको छ । 

त्यसैगरि नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले ३९ करोड ५३ लाख, लक्ष्मी सनराइजले ३९ करोड ११ लाख, एभरेष्टले ३८ करोड १५ लाख, सिद्धार्थले ३४ करोड ४२ लाख, कृषि विकास बैङ्कले ३४ करोड ३ लाख, नेपाल बैङ्कले ३१ करोड ७६ लाख, माछापुच्छ्रे ३० करोड २५ लाख रुपैयाँ सेवा शुल्क आम्दानी गरेका छन् । 

यता, हिमालयन बैङ्कको सेवा शुल्क आम्दानी २९ करोड २७ लाख, सिटिजनको २७ करोड ९९ लाख, नेपाल एसबिआईको २७ करोड ९९ लाख, सानिमाको २४ करोड ५७ लाख, स्ट्ण्डर्ड चार्टर्डको २२ करोड ५२ लाख र राष्ट्रिय वाणिज्य बैङ्कको २० करोड ६२ लाख रुपैयाँ रहेको छ।  


प्रतिक्रिया दिनुहोस्