महँगो ब्याजमा पैसा चलाउनेमा एनआईसी र कुमारी बैंक अगाडि, कुन-कुन बैङ्कबाट पाइन्छ सस्तो ब्याजमा ऋण ? « Arthapath.com
३ मंसिर २०८०, आईतवार

महँगो ब्याजमा पैसा चलाउनेमा एनआईसी र कुमारी बैंक अगाडि, कुन-कुन बैङ्कबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?



काठमाडौँ । वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका छन् । मङ्सिर महिनाका लागि अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका हुन् । सो महिनाका लागि लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.३३१ प्रतिशत र संस्थागत मुद्दती तर्फको ०.३०६६ प्रतिशतले घटाएका हुन् ।

कात्तिक महिनामा बैङ्कहरूको यस्तो औसत ब्याजदर व्यक्तिगत र संस्थागत निक्षेपतर्फ क्रमशः ९.९६४ प्रतिशत र ७.८५२६ प्रतिशत रहेको रहेको थियो । गत कात्तिकको तुलनामा १३ वटा बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका छन् । यस्तै, ६ वटा बैङ्कले स्थिर राखेका छन् भने माछापुच्छ्रे बैङ्कले मात्रै ब्याजदर बढाएको छ ।  

मङ्सिरमा अधिकांश बैङ्कको बेस रेट (आधार दर) पनि घटेको छ । आधार दर घटेपछि कर्जाको ब्याजदर पनि घटेको छ । मङ्सिर महिनामा ९ वटा बैङ्कहरूको आधार दर एकल अङ्कमा देखिएको छ । अर्थात् ती बैङ्कहरूको आधार दर १० प्रतिशतभन्दा तल छ । 

बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । हाल स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, एभरेष्ट, नबिल, नेपाल, सिद्धार्थ, सानिमा, एनएमबि र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) को आधार दर एकल अङ्कमा छ । हाल यी बैङ्कहरूबाट ऋण लिँदा अन्यको तुलनामा सस्तो ब्याज पर्नेछ । 

बैङ्कहरूले बेस रेटमा प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेका खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । बैङ्कबाट कर्जा लिँदा औसतमा अधिकतम १६ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने देखिन्छ । यद्यपि, बैङ्कहरूको आधार दर अनुसार फरक–फरक हुनसक्छ । 

मङ्सिर महिनाकै बेस रेटका आधारमा सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ऋण दिन सक्नेछन् । हाल बैङ्कको आधार दर ८.४७ प्रतिशत रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको आधार दर ८.६३ प्रतिशत, एभरेष्टको ९.४१, नबिलको ९.५८, नेपालको ९.६५, सिद्धार्थको ९.७१, सानिमाको ९.७७, एनएमबिको ९.८५ र एनआइएमबिको ९.९९ प्रतिशत रहेको छ । यी बैङ्कहरूबाट पैसा चलाउँदा अन्यको तुलनामा सस्तो ब्याज पर्नेछ । 

बेस रेटकै आधारमा भने सबैभन्दा धेरै महँगो ब्याज भने एनआइसी एशिया र कुमारी बैङ्कको पर्ने देखिन्छ । हाल एनआइसी एशियाको बेस रेट १०.९६ प्रतिशत र कुमारीको १०.९४ प्रतिशत रहेको छ । 

यस्तै, माछापुच्छ्रे बैङ्कको आधार दर १०.०१ प्रतिशत, ग्लोबल आइएमईको १०.०७ प्रतिशत, प्रभुको १०.१७, नेपाल एसबिआईको १०.२५, कृषि विकासको १०.४५, सिटिजनको १०.६८, प्राइमको १०.७८, लक्ष्मी सनराइजको १०.८५ र हिमालयन बैङ्कको १०.८६ प्रतिशत रहेको छ । 


प्रतिक्रिया दिनुहोस्