नबिल बैंकले कमायो ३ अर्ब २० करोड नाफा: ब्याज आम्दानी ८ अर्ब नाघ्यो, कस्ता छन् मुख्य सूचकहरु ?

काठमाडौं । नबिल बैंकले ६ महिनामा सवा तीन अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको हो । तर, बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ६.१८ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । कुल संचालन आम्दानी पनि ५.७५ प्रतिशत बढेर १० अर्ब ६ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । तर, बैंकको संचालन नाफामा भने सामान्य गिरावट आएको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६.१८ प्रतिशत घटेर ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको वितरण योग्य नाफा पनि १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ देखिएको छ। हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । बैंकले जगेडा तथा कोषमा पनि २८ अर्ब १६ करोड ९९ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.०६ प्रतिशत र कर्जा लगानी ९.५९ प्रतिशत बढेर क्रमश: ४ खर्ब २८ अर्ब ८३ करोड ५ लाख र ३ खर्ब ६२ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकले खराब कर्जा पनि घटाएको छ ।
गत वर्षको दोस्रो त्रैमासमा १.४६ प्रतिशत रहेको यस्तो कर्जा यो वर्षको सोही अवधिमा आइपुग्दा भने घटेर १.२ प्रतिशत कायम भएको छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) २३ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा छ ।