खल्ति र आईएमई पे मर्जरमा कसलाई घाटा, कसलाई नाफा ? « Arthapath.com
२५ असार २०८२, बुधबार

खल्ति र आईएमई पे मर्जरमा कसलाई घाटा, कसलाई नाफा ?



काठमाडौँ । नेपालको वित्तीय इतिहासमा पहिलो पल्ट हुन लागेको डिजिटल वालेट मर्जरमा आईएमई समूहले बहुमत स्वामित्व पाउने भएको छ ।

आगामी साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने तरखरमा रहेका आईएमई पे र खल्तीको मर्जरमा यस्तो देखिएको हो ।

उक्त संस्थाहरु मर्जर भएपछि आईएमई समूहसँग ५५ प्रतिशत र खल्तिको आधारभूत समूहसँग ४५ प्रतिशत स्वामित्व रहने आईएमईका अधिकारीहरुले बताएका छन् । यसरी आईएमई समूहसँग बहुमत स्वामित्व स्थापित हुने भएको छ ।

तर नाफाका हिसाब हेर्ने हो भने चाहीँ खल्तिका आधारभूत सेयरधनीलाई २०० प्रतिशतभन्दा धेरै पूँजीगत लाभ हुने देखिन्छ ।

खल्तिका सेयरधनीलाई २१५ पूँजीगत लाभ

हाल आईएमई पे को चुक्ता पूँजी ३० करोड रुपैयाँ छ भने खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ रहेको छ । दुबै कम्पनीको कुल चुक्ता पूँजी ५४ करोड हुन्छ ।

अब यी कम्पनीहरु ५५ः४५ को अनुपातमा स्वामित्व पुनःसंरचना हुँदा खल्तिका आधारभूत सेयरधनीको स्वामित्व १५ करोड ७५ लाख रुपैयाँ पुग्छ । ५ करोड लगानी गरेर खल्तिका सेयरधनीले झण्डै १६ करोडको स्वामित्व पाउने छन् । यो भनेको २१५ प्रतिशत पूँजीगत लाभ हो ।

उता आईएमई समूहले ३० करोड लगानी गरे पनि स्वामित्व बदलावले उनीहरुको कुल सेयर मूल्य १९ करोड २५ लाखमा झर्ने छ । यसको अर्थ आईएमई पेका लगानीकर्ताले ३५.८३ प्रतिशत पूँजीगत नोक्सान व्यहोर्नु पर्ने भएको छ ।

यस आँकडालाई अझ स्पष्ट पार्ने हो भने मर्जर पश्चात् आईएमई पेका आधारभूत सेयरधनीले तिरेको १०० रुपैयाँ मूल्यको १ कित्ता सेयरको भाऊ ६४ रुपैयाँ १७ पैसामा झर्छ । उता खल्तिका आधारभूत सेयरधनीले तिरेको हरेक १०० रुपैयाँको भाउ बढेर ३१५ रुपैयाँ पुग्छ ।

यसलाई एक प्रकारले आईएमईद्वारा खल्तिको अनौपचारिक रुपमा ‘प्राप्ती’ भएको ढंगले पनि बुझ्न सकिन्छ । महँगो मूल्य तिरेर आईएमई पेले खल्तिलाई आफूमा मिसाइरहेको छ ।

ब्राण्ड र नेतृत्व पनि खल्तिकै

पूँजीगत लाभका कारणमात्रै होइन, नेतृत्वमा पनि खल्ति समूहकै ‘होल्ड’ हुने भएको छ । खल्तिका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले नयाँ बन्ने ‘आईएमई खल्ती लिमिटेड’को नेतृत्व गर्ने छन् ।

खल्तिले २०७८ को मंसिरमा केवल २७ वर्षका खड्कालाई कम्पनीको नेतृत्व सुम्पिएको थियो । त्यसपछि खल्तिले आफूलाई ब्यापक बदलाव गरेको छ र उसको व्यावसायिक दायरा निकै विस्तार भएको छ ।

त्यसैले आईएमई पे अब हाम्रा डिभाइसहरुमा देखिने छैन । आईएमई पेको ब्राण्ड अब खल्तिमा समाहित हुने छ । अब यी दुबै खाले ग्राहकले खल्तिबाट नै कारोबार गर्न सक्ने छन् ।

यसरी ब्राण्ड र नेतृत्व पनि आईएमई समूहले खल्तिलाई नै सुम्पिएको छ । आफ्नो एकल प्रयासबाट बजारमा ‘नम्बर वान’ बन्ने महत्वाकांक्षा पुरा हुन नसकेपछि विजनेश टाइकुन तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले खल्तिसँग हात मिलाउन खोजेका छन् ।

त्यसैले अब यी कम्पनी गाभिएपछि खल्तिको मुख्यालय ललितपुरको बखुण्डोलबाट काठमाडौंको पानीपोखरी सर्ने छ, जहाँ आईएमई समूहका थुप्रै संस्थाको मुख्यालय छ ।

केन्द्रिय बैंकको अनुमति

यी दुई संस्था आपसमा गाभिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले ४ असारमा अन्तिम स्वीकृति दिएको छ ।

केन्द्रिय बैंकले २०८० जेठ ३ मा ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७७’ को संसोधन गर्दै ‘भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थाहरू समान प्रकृतिका संस्थाहरूसँग मर्जरमा जान सक्ने’ व्यवस्था गरेयता दुई वालेटबीच यो पहिलो मर्जर हो ।

प्रयोगकर्ताको एकीकरण

आउँदा तीन महिना प्रयोगकर्ताहरूको समायोजन कार्यलाई तीव्रतासाथ कार्यान्वयन गर्नमा कम्पनीले भूमिका खेल्ने बताएको छ । त्यस दौरान यी दुवै एप अर्थात्, आईएमई पे र खल्ती यथावत सञ्चालनमा रहने छन् ।

दुवै वालेट प्रयोगकर्ताहरूको रकम तथा रोयल्टी प्वाइन्टहरू (जसलाई खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्ट भनिन्छ) पनि यही तीन महिनाबीच एकीकृत भइसक्ने छन् ।

खल्ती र आईएमई पे दुवै एप (वालेट) चलाइरहेका प्रयोगकर्ताले ‘एक ट्याप’कै भरमा आफ्नो कारोबारलाई एकीकृत गर्न सक्ने छन् । अर्थात् उनीहरु खल्तिका ग्राहक बन्ने छन् ।

पहिले नै खल्ति चलाइरहेका प्रयोगकर्तासँग त कुनै समस्या नै भएन । तर आईएमई पे मात्र चलाइरहेका प्रयोगकर्ताहरूको हकमा उनीहरुको पूर्वस्वीकृति लिएरमात्रै खल्तीमा समावेश गरिने कम्पनीले जनाएको छ ।

ईसेवालाई टक्कर ?

एकीकृत कारोबारपश्चात् ‘खल्ति’ वालेट ठूलो चुक्ता पूँजी र ५० लाखभन्दा बढी आधिकारिक प्रयोगकर्ताको विशाल जनाधार सहित नेपालकै सबैभन्दा ठूलो र बलियो डिजिटल वालेटका रूपमा स्थापित हुने दाबी कम्पनीको छ ।

यस मर्जरलाई नेपालको ‘लिडिङ वालेट’ इसेवासँग सम्भावित टक्करका रुपमा पनि हेरिएको छ । ईसेवा एफवान सफ्टले बनाएको डिजिटल वालेट हो, जसको मूल स्वामित्व अहिले कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको परिवारसँग छ ।

त्यसो त, दुई ठूला प्रतिस्पर्धीको ‘जोडतोड’ले भुक्तानी सेवा प्रदायकहरुलाई देशको ग्रामीण क्षेत्रसम्म पहूँच विस्तारमा तीव्रता ल्याउन मद्दत गर्ने ठानिएको छ ।

खल्ती वालेटले आउँदा दिनमा आफ्ना प्रयोगकर्तालाई फिनटेक क्षेत्रमा नयाँ अनुभूति पस्कने बताएको छ । एपमार्फत प्रयोगकर्ताले विश्वको जुनसुकै ठाउँबाट पठाएको रेमिटेन्स सहजै आफ्नो वालेटमा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, एपमार्फत् नै बैंक खाता खोल्न, भिसा कार्ड प्राप्त गर्न र यस्तै थुप्रै सुविधाहरु पाउने भएका छन् ।

आईएमई समूहका अधिकारीहरुले दिएको जानकारी अनुसार भविष्यमा ऋण तथा अन्य सुविधाको उपयोग पनि खल्ती एपबाटै गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्