एभरेष्टको बैङ्कको अब्बल पर्फमेन्स: नाफा र इपिएस बढ्यो, वितरणयोग्य नाफा साढे २ अर्ब, कस्तो छ वित्तीय प्रगति ?

काठमाडौं । एभरेष्ट बैंकको नाफा वृद्धि भएको छ । ६ महिनामा बैंकको नाफा करिब ८ प्रतिशत बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ७.८८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको संचालन नाफामा आएको बढोत्तरीले नै खुद नाफा वृद्धिमा टेवा पुगेको हो । दोस्रो त्रैमासमा अधिकांश बैंकहरुको नाफा प्रभावित भएको छ । तर, एभरेष्ट बैंकले पनि सकारात्मक सुधार गरेको हो ।
तर, बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट देखिएको छ । बैंकको यस्तो आम्दानी १.२७ प्रतिशत घटेर ३ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकको संचालन नाफा पनि ७.९० प्रतिशत बढेर २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ४० करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ छ। बैंकले जगेडा कोषको आकार पनि १०.६७ प्रतिशत बढाएर ११ अर्ब ४२ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ८ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ८६ करोड २४ लाख रुपैयाँ पुगेको छ । तर, कर्जा लगानी पनि ५.६५ प्रतिशत बढाएर १ खर्ब ६८ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि शून्य दशमलव ७७ प्रतिशत मात्रै छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ६७ पैसाबाट बढेर २९ रुपैयाँ १२ पैसा पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने २१९ रुपैयाँ ५७ रुपैयाँ छ ।