‘कुमारी सवल फन्ड’ले औसतमा वार्षिक २३ प्रतिशत प्रतिफल दिन सक्छौँ « Arthapath.com
२ फाल्गुन २०८०, बुधबार

‘कुमारी सवल फन्ड’ले औसतमा वार्षिक २३ प्रतिशत प्रतिफल दिन सक्छौँ



पुष्प शर्मा, सीईओ, कुमारी क्यापिटल लि.

नेपाल एसविआई बैंकबाट बैंकिङ करिअर सुरु गरेका पुष्प शर्मा हाल कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत रहेका छन् । शर्माले एसविआई बैंक र मर्चेन्ट बैंकिङमा गरेर एक दशक बिताए । अहिले कुमारी क्यापिटलको लगानी व्यवस्थापक हुँदै उनी गत साउन १ गतेदेखि कुमारी क्यापिटलको सीईओको जिम्मेवारीमा रहेका छन् । चितवनमा जन्मेका शर्माको प्रारम्भिक शिक्षा चितवनमै भएको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबीए गरेका कुमारी क्यापिटलले यही माघ २८ गतेदेखि कुमारी सबल योजना नामक बन्द मुखी योजना बजारमा विक्री खुल्ला गरेको छ । १ अर्बको फन्डको बजार प्रवर्द्धनमा व्यस्त रहेका उनीसँग अर्थपथडटकमले गरेको कुराकानीको सार संक्षेपः– 

कुमारी सबल योजना कस्तो फन्ड हो ? 

यो एक बन्दमुनि योजना हो । कुमारी बैंकद्वारा प्रवर्द्धन गरिएको र कुमारी क्यापिटलद्वारा व्यवस्थापन गरिएको कोष हो । यो कोष कुल १ अर्बको हुने छ । यसमा कम्तीमा १५ प्रतिशत पुँजी कुमारी बैंक र कुमारी क्यापिटलले लगानी गर्ने छ । बाँकी ८५ प्रतिशत चाहिँ विभिन्न सङ्घसंस्था र व्यक्तिबाट उठाएर यो कोष स्थापना हुन्छ । 

यसरी कोष स्थापना भइसकेपछि त्यो पैसा कहाँ लगानी गर्ने भनेर नेपाल धितोपत्र बोर्डले नै दायरा तोकिदिएको छ । सोही दायरा अन्तरगत रहेर हामी लगानी गर्छौँ । यो कोष १० वर्षमा परिपक्व हुन्छ । १० वर्ष पछाडि त्यस बेलाको न्याभ (खुद सम्पत्ति मूल्य)को आधारमा इकाई धनीलाई पैसा फिर्ता गर्छौँ । 

यस बिचको समयमा लाभांश वितरण पनि गर्दै जान्छौँ । यो लाभांश चाहिँ त्यही कोष सञ्चालन गरेर प्राप्त नाफाको आधारमा हुने छ । 

यो योजना सुरु गरिसकेपछि बजारको प्रतिक्रिया कस्तो पाउनु भएको छ ? 

अहिलेसम्म हेर्दा उत्साहजनक नै सहभागिता भएको छ । दुई दिनमै १० हजारभन्दा बढी आवेदन परेका छन् । त्यसमा संस्था पनि हुनुहुन्छ र व्यक्ति पनि हुनुहुन्छ । आधारभूत रूपमा म्युचुअल फन्ड भनेको बजारको बारेमा विज्ञ नहुने वा बजारलाई निरन्तर निगरानी गर्ने समय नहुने लगानीकर्ताका निम्ति हो । बजारको बारेमा जानकारी नभएका लगानीकर्ताका लागि यो एकदमै उपयुक्त उपकरण हो । 

आधारभूत रूपमा म्युचुअल फन्ड भनेको बजारको बारेमा विज्ञ नहुने वा बजारलाई निरन्तर निगरानी गर्ने समय नहुने लगानीकर्ताका निम्ति हो ।

तर नेपालको हकमा व्यक्तिगत लगानीकर्ताहरूले म्युचुअल फन्डप्रति त्यति धेरै आकर्षण देखाएको जस्तो देखिँदैन । यसो हुनुमा जुन स्तरको जनचेतना लगानीकर्तामा पुग्नुपर्ने थियो, त्यो स्तरमा जानकारी र सचेतना नपुगेर पनि हुनसक्छ । जतिले बुझ्नु भएको छ, उहाँहरूले लगानी गरिरहनु भएको छ । र त्यसलाई आफ्नो मोडल पोर्टफोलियोको रूपमा पनि खडा गर्नु भएको छ । आफ्नो व्यक्तिगत लगानीको ढाँचा पनि त्यसै अनुसार ‘डिजाइन’ गरेर सायद उहाँहरूले राम्रै नाफा आर्जन गर्नुभएको छ भन्ने हामीलाई लाग्छ । 

म्युचुअल फन्ड साना लगानीकर्ताहरूका लागि एकदमै उपयुक्त उपकरण हो । तर आजको दिनमा हेर्दा बजारमा व्यक्तिगत लगानीकर्ताको सहभागिताभन्दा संस्थागत लगानीकर्ताले नै बढी लगानी गरेको देखिन्छ । 

खासमा यस्ता सामूहिक लगानी कोषहरू त संस्थागत नभएर नवप्रवेश व्यक्तिगत लगानीकर्ताका लागि ल्याइनु पर्ने हो नि ? 

– अहिले धेरै लगानीकर्ताले प्राथमिक सेयर निष्कासन (आइपिओ)मा भाग लिइरहनु भएको छ । यसरी आईपीओमा लगानी गर्दा सूचीकृत भए लगत्तै दुईदेखि तीन गुणा महँगो मूल्यमा विक्री भइरहेको छ । तर म्युचुअल फन्ड भनेको दीर्घकालीन उपकरण हो । यसमा त्यसरी तुरुन्तै पुँजीगत लाभ प्राप्त हुँदैन । 

यस्ता कोषहरूले बजारबाट पैसा जुटाएर लगानीको पोर्टफोलियो तयार पार्छ । त्यो अवस्थामा व्यक्तिगत लगानीकर्ता र सामूहिक लगानी कोषहरू एउटै लाइनमा रहन्छन् । त्यसपछि कोषको रकम लगानी गरेर मात्रै नाफा सुरक्षित हुन थाल्छ । नाफा प्राप्त भएपछि बल्ल इकाई धनीहरूलाई लाभांश दिने हो । 

यसबाहेक कोषको न्याभका आधारमा भविष्यमा दोस्रो बजारमै पनि मूल्य बढेर पुँजीगत लाभ हासिल हुने सम्भावना रहन सक्छ । त्यस कारण लाभांश र पुँजीगत लाभ दुवै किसिमको अवसरलाई हेरेर अलि लामो अवधिका लागि लगानी रणनीति बनाउनु भयो भने यस्ता योजनाहरू पनि व्यक्तिगत लगानीकर्ताका लागि ठिकठाक नै हुन्छ । तर अहिले व्यक्तिगत लगानीकर्ताले आफैँले बढी जोखिम लिने र त्यसै अनुसार बढी प्रतिफल खोज्ने परिपाटी बजारमा बढी देखिएको छ । 

म्युचुअल फन्डले त्यो रूपमा लगानी गर्दैन । उसले आफ्नो क्षेत्रगत पोर्टफोलियो तयार पारेर गएको हुन्छ । फलस्वरुप भविष्यमा बजार घट्दा पनि घाटा पर्ने जोखिम एकदमै कम हुन्छ । बजार मूल्य अक्सर न्याभ भन्दा २०–२५ प्रतिशत सस्तो भएता पनि खुद आम्दानीमा धेरै ठुलो गिरावट आउँदैन । आजको दिनसम्म हेर्दा म्युचुअल फन्डले १४–१५ प्रतिशतको प्रतिफल दिइरहेको छ । 

नेप्से परिसूचक ३२०० बाट तल झरेर अहिलेसम्म आउँदा व्यक्तिगत लगानीकर्ताको पोर्टफोलियो ३५–४० प्रतिशत घटेको हुनसक्छ । तर म्युचुअल फन्डमा लगानी गरेको सावाँ रकम घटेको देखिँदैन ।

नेप्से परिसूचक ३२०० बाट तल झरेर अहिलेसम्म आउँदा व्यक्तिगत लगानीकर्ताको पोर्टफोलियो ३५–४० प्रतिशत घटेको हुनसक्छ । तर म्युचुअल फन्डमा लगानी गरेको सावाँ रकम घटेको देखिँदैन । किन भने सबैजसो योजनाको न्याभ १० भन्दा माथि नै छ । यद्यपि, बजारमा यस्ता इकाईको मूल्यलाई हेर्ने हो भने २०–२५ प्रतिशत सस्तिएको देखिएको छ । 

समग्र बजारमा हेर्ने हो भने म्युचुअल फन्डहरूले अपेक्षा गरेजस्तो प्रतिफल दिन सकेनन् भन्ने आरोप लागिरहेको छ । यस्तो बेलामा नयाँ योजना ल्याएर सबै इकाई बेच्न सक्ने के आधार छन् ? 

हाम्रो बजार एकपक्षीय रूपमा चल्छ । बढ्दा बढिरहेको हुन्छ भने घट्दा घटिरहेकै हुन्छ । म्युचुअल फन्डहरूले बढ्दो बजारमा बढीभन्दा बढी नाफा सुरक्षित गर्ने कोसिस गर्छन् । घट्दो बजारमा आफ्नो पुँजी जोगाउने कोसिस गर्छन् । 

हाम्रो बजारमा सामूहिक लगानी कोषहरूलाई केही आक्षेप लगाउने गरेको अभ्यास पनि छ । त्यस्ता आक्षेपलाई छाडेर हेर्ने हो भने १४–१५ प्रतिशतको प्रतिफल भनेको आफैँमा राम्रो हो । अपेक्षाहरू त सधैँ वस्तुगत हुन्छन् । कसैलाई २० प्रतिशत प्रतिफल भए पनि नपुग्ला, कसैलाई १२–१३ प्रतिशत भए पनि पुग्ला । आफूले कति जोखिम लिने भन्ने चिजले प्रतिफलको पनि निर्धारण गर्छ । 

त्यसै कारण अहिले बजारमा व्यक्तिगत लगानीकर्ताले बढी नै जोखिम लिनुहुन्छ र बढी नै प्रतिफल हासिल गर्नुहुन्छ । तर जब बजार घट्न थाल्छ, त्यसपछि पुँजीको संरक्षण गर्ने पाटोमा धेरैजसो व्यक्तिगत लगानीकर्ताहरू चुक्नुहुन्छ । म्युचुअल फन्डहरू व्यावसायिक रूपमा व्यवस्थापन भएको कारणले बजार घट्दा पनि पुँजीको संरक्षण गर्ने बाटोमा बढी ध्यान दिएको हुन्छ । बजार बढ्दा पनि केही न केही हदसम्म ‘करेक्टिभ’ भूमिका म्युचुअल फन्डहरूले निर्वाह गर्दै आएका छन् । 

बजार बढ्दा विक्री बढाउने र बजार घट्दा माग बढाउने गरेर सेयरको दोस्रो बजारलाई दिशानिर्देश गर्न सकारात्मक भूमिका पनि म्युचुअल फन्डहरूले खेलिरहेका छन् । यसका बाबजुद हामीले लाभांश पनि दिँदै आएका छौँ । कुमारी क्यापिटलले मात्रै गत वर्ष पनि दुई ओटा स्किमबाट १० र ६ प्रतिशत लाभांश दिएका थियौँ । 

अर्को एउटा स्किम चाहिँ भर्खरै ल्याइएको भएर त्यसबाट लाभांश वितरण भएन । यो आर्थिक वर्षमा हामीले एक हदसम्म नाफा सुरक्षित गरिसकेका छौँ । अझै पनि ५ महिनाको समय बाँकी छ । त्यसो हुँदा यो आर्थिक वर्षको नाफाबाट सबै कोषहरूले लाभांश दिन सक्छ भन्ने मेरो अनुमान छ । 

सेयरको दोस्रो बजार घटिरहेको बेलामा म्युचुअल फन्ड ल्याउनु थप चुनौतीपूर्ण होइन ? 

यसलाई दुई तरिकाबाट हेर्न सकिन्छ । हामी बजार सूचक तल झरेको बेलामा नयाँ फन्ड ल्याउनुलाई अवसरको रूपमा हेर्छौँ । 

तर लगानीकर्ताको आकर्षण त कम हुन्छ नि यो बेलामा ? 

आकर्षण कम हुन्छ । तै पनि अहिले फन्ड ल्याएर त्यो पैसाले जुन मूल्यमा सेयर किन्न पाउनु हुन्छ, बजार बढ्दो त्यो मूल्यमा पाउन सकिन्न । आफूले छानेको सेयरहरू पर्याप्त मात्रामा किन्न पनि नपाउने अवस्था बन्न सक्छ । सूचक न्यून स्तरमा भएको बेलामा तपाईँ प्रवेश गर्नु भयो भने भोलिका दिनमा बजार बढ्दै जाँदा त्यसले सिर्जना गर्ने पुँजीगत लाभ निकै ठुलो हुन जान्छ । त्यसअनुसार फन्डहरू नाफा सुरक्षित गर्दै आफ्ना इकाई धनीहरूलाई लाभांश दिन सजिलो हुन्छ । 

कुमारी सबल फन्डमा लगानीकर्ताले किन लगानी गर्ने ? यसको प्रतिफल पूर्वानुमान कस्तो छ ? 

–हामीले सङ्कलन गर्ने पैसाको ६५ प्रतिशत जति सेयर बजारमा लगानी गर्छौँ । त्यसपछाडि १५ प्रतिशत चाहिँ स्थिर आम्दानी हुने स्रोत अर्थात् मुद्दती निक्षेप र अर्को १५ प्रतिशत डिबेञ्चरमा लगानी गर्छौँ । बाँकी ५ प्रतिशत कल तथा चालु खातामा कायम रहने व्यवस्था  गर्छौँ । 

यस्तो सन्तुलित पोर्टफोलियोमा जाँदा धेरै ठुलो जोखिम पनि देखिँदैन । घट्दो अवस्थामा पनि त्यति धेरै तल झर्दैन । यसका जोखिम सूचकहरू बीच भागभन्दा अलि माथि बसेको हुन्छ । 

प्रतिफलको कुरा गर्दा हामीले साधारण अवस्थामा औसत २२.८४ प्रतिशत वार्षिक प्रतिफल दिन सक्ने प्रक्षेपण गरेका छौँ । कम्पाउन्ड एनुअल ग्रोथ रेट (सीएजीआर) २२.८३ र इन्टरनल रेट अफ रिटर्न (आईआरआर) १७.९८ प्रतिशत रहने अनुमान गरेका छौँ । 

लाभांशका हकमा पनि सुरुको वर्ष हामी लाभांश दिँदैनौ होला । त्यस पछाडिको २ वर्ष १०–१० प्रतिशत र त्यसपछिका ३ वर्ष १२–१२ प्रतिशत प्रतिफल दिने अनुमान छ । त्यसपछिको ३ वर्ष १५–१५ प्रतिशत लाभांश दिने र दसौँ वर्षमा १० रुपैयाँको इकाइको मूल्य २२.७४ रुपैयाँ पुर्‍याउने पूर्वानुमान गरिएको छ । 

सबै चिज ठिकठाक चल्यो र हामीले सोचेजस्तै परिस्थिति बन्दै गयो भने त्यो स्तरसम्म प्रतिफल हासिल हुनसक्छ । 

सबै इकाईहरू विक्री हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ? 

पक्कै पनि हुन्छ । अन्तिम पल्ट हामीले जारी गरेका योजनाहरू पनि अधिक खरिद (ओभर सब्सक्राइब) नै भएका छन् । सम्पत्ति व्यवस्थापनमा हामीले जुन हिसाबले काम गरिरहेका छौँ, त्यस हिसाबले यो फन्ड पनि ओभर सब्सक्राइब नै हुन्छ भन्ने मलाई लाग्छ । 

यो योजनापछि कुमारी क्यापिटलको थप योजना के छ ? 

अहिलेलाई हामीले सम्पत्ति व्यवस्थापनलाई नै केन्द्रित गरेर लगिरहेका छौँ । यसबाहेक ग्राहक सेवामा हामीले बढी ध्यान दिएका छौँ । प्रविधिले सबै कुरा सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका साथ प्रविधिमा केन्द्रित भएर काम गरिरहेका छौँ । 

भोलिको दिनमा, यो योजना एक हदसम्म सफल भइसकेपछि कर्पोरेट एड्भाइजरी र ग्राहक सेवामै केन्द्रित भएर जान्छौँ । अहिले यस क्षेत्रमा भएका कम्पनीहरूभन्दा अलि भिन्न तरिकाले विशिष्टिकृत सेवा प्रवाह गर्ने नै हाम्रो मुख्य काम हुने छ । 


प्रतिक्रिया दिनुहोस्