संस्थागत मुद्दति निक्षेपमा व्यक्तिगतभन्दा १ कम ब्याज दिनुपर्ने, चैत १ गतेदेखि लागू गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगतभन्दा संस्थागत निक्षेपमा १ प्रतिशत कम ब्याज दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी चैत १ गतेदेखि लागू हुने गरि सो व्यवस्था गरेको हो ।
बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८० संशोधन गर्दै चैत १ गतेदेखि व्यक्तिगतभन्दा संस्थागत निक्षेपमा १ प्रतिशत कम ब्याज दिने व्यवस्था गर्न लागेको हो । यसअघि संस्थागत मुद्दति निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा २ प्रतिशत बिन्दुले कमी हुनुपर्ने व्यवस्था थियो । तर, चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समिक्षा मार्फत सो व्यवस्था संशोधन गरेको हो ।
नीति कार्यान्वयनका लागि एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले भनेको छ, ‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ । यो व्यवस्था आगामी चैत १ गतेदेखि नै लागू हुनेछ ।’
यस्तै, राष्ट्र बैंकले बोलकवोल ९द्यष्ममष्लन० को आधारमा संकलन हुने मुद्दतीनिक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था हटाएको छ ।















