घर बनाउने कि किन्ने ? यी बैंकहरुबाट पाइन्छ १० प्रतिशतभन्दा सस्तो ब्याजमा ऋण
काठमाडौं । बैंकहरुले एकल अंक अर्थात् १० प्रतिशतभन्दा कम ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएका छन् । एकल अंकको ब्याजदरमा कर्जा उपलब्ध गराउन बैंकहरुले विभिन्न स्किम नै ल्याएका हुन् । पछिल्लो समय बैंकहरुको कर्जाको ब्याजदर नै औसत एकल अंकमै झरेको छ । बैंकहरुले निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर पनि घटाउँदै आएका छन् ।
निक्षेपको ब्याजदर घटाउँदा उनीहरुको लागत पनि घट्दो छ, जसले बैंकहरुको आधार दर पनि घट्दै आएको छ । आधारसँगै कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो । हाल बैंकहरुको औसत बेस रेट ९.३४ प्रतिशत कायम छ ।
हाल बैंकिङ्ग प्रणालीमा अधिक तरलता छ । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएता पनि कर्जा प्रवाह भने सुस्त छ । बजार माग नहुँदा नै कर्जा प्रवाह हुन नसकेको बैंकहरु बताउँछन् । कर्जा लगानी बढाउनकै बैंकहरुले यति बेला विभिन्न योजना ल्याएका छन् । घर कर्जा केन्द्रित योजनामा अधिकांश बैंकहरुले १० प्रतिशत भन्दा कम ब्याजदरमै ऋण उपलब्ध गराउन तयार छन् । बैंकहरुले न्यूनतम तथा निश्चित ब्याजदर तोकेरै कर्जा कर्जा योजना अघि सारेका छन् ।
हाल नबिल बैंकले पनि एकल अंकको ब्याजदरमै घर कर्जा दिने भएको छ। नबिलले ८.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो । बैंकले ब्याजदरको नबिल ढुक्क घर कर्जा योजना ल्याएको हो । बैंकले ३० वर्ष अवधिसम्मको कर्जा दिने भएको छ ।
यस्तै, नेपाल बैंकले पनि १० प्रतिशत कम ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो । बैंकले एनबिएल सुलभ आवास कर्जा योजना अघि सारेको छ । बैंकले ९.९५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने छ ।उक्त ब्याजदर ५ वर्षसम्म परिवर्तन नहुने बैंकले जनाएको छ । उक्त योजना अन्तर्गत घर निर्माण तथा खरिद गर्न सकिनेछ । घर निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा दिने बैंकले जनाएको छ । आवश्यक कागजात र प्रक्रिया पुयाएको ५ कार्यदिन भित्रै निर्णय हुने बैंकले जनाएको छ ।
एनएमबि बैंकले पनि ९.९९ प्रतिशतको स्थिर ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको छ । एनएमबि सुलभ घर कर्जा योजना अन्तर्गत बैंकले एकल अंकको ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको हो । उक्त स्थिर ब्याजदर भने ७ वर्षसम्मका लागि हुने बैंकले जनाएको छ । यता, सिटिजन बैंकले पनि ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको छ ।
त्यसैगरि ग्लोबल आइएमई बैंकले पनि निश्चिन्त आवास योजना ल्याएको छ । योजना अन्तर्गत बैंकले स्थिर वार्षिक ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो । बैंकले ९.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको हो । बैङ्कले ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने जनाएको छ । आवश्यक कागजातहरू पेस गरेको १२ घण्टा भित्र बिना झन्झट कर्जा उपलब्ध गराउने बैङ्कले जनाएको छ ।
यस बाहेक अधिकांश बैंकहरुले फिक्स (निश्चित) ब्याजदरमै घर कर्जा दिने योजना पनि ल्याएका छन् । विभिन्न अवधि तोकेर निश्चित ब्याजदरमै कर्जा उपलब्ध गराउन बैंकहरु तयार छन् । लामो समयदेखि सुस्ताएको घर जग्गा कारोबारलाई नै चलायमान बनाउन बैङ्कहरूले न्यूनतम तथा फिक्स ब्याजदर तोकेर अफर ल्याएका हुन् ।
कुन बैंकको आधार दर कति ?