कृषि विकास बैंकमा निक्षेप राख्नेलाई ठूलो घाटा, थप घटाउन नमिल्ने अवस्थामा ब्याजदर « Arthapath.com
३० चैत्र २०८०, शुक्रबार

कृषि विकास बैंकमा निक्षेप राख्नेलाई ठूलो घाटा, थप घटाउन नमिल्ने अवस्थामा ब्याजदर



काठमाडौं । बाणिज्य बैंकहरुले वैशाखबाट लागू हुने गरी निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वटा बाणिज्य बैंकको तथ्यांक अनुसार चैतको तुलनामा बैशाखमा बैंकहरुको औसत ब्याजदर १९ आधारबिन्दु कम हुने छ । चैतमा बैंकहरुले औसत ७.२५ प्रतिशत ब्याज दिइरहेकोमा वैशाखमा ७.०६ प्रतिशत हुने छ ।

बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै जाने, तर कर्जाको माग बढ्न नसक्ने अवस्थाले निक्षेप निरुत्साहित गर्न बैंकहरु अग्रसर बनेका छन् । यस कार्यमा सरकारी स्वामित्वको कृषि विकास बैंक सबैभन्दा अगाडी देखिएको छ । बैंकले निक्षेपमा ज्यादै कम ब्याजदर दिइरहेको छ ।

कृषि विकासले वार्षिक ५.६६ प्रतिशत ब्याज दिने भनेको छ । उसले चैतमा पनि यही दरमा ब्याज दिएको थियो । राष्ट्र बैंकले यो आर्थिक वर्षमा मुद्रास्फीति दर (औसत मूल्यबृद्धिको स्तर) ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बहुपक्षीय विकास साझेदारहरुले पनि मुद्रास्फीति प्रक्षेपित स्तरमै रहने आँकलन गरेका छन् ।

भलै गत फागुनसम्मको तथ्यांकले मुद्रास्फीति दर ४.८२ प्रतिशतमा रहेको देखाएको छ । तर पछिल्ला वर्षमा भएको उपभोग प्रबृत्तिको परिवर्ततले वास्तविक मुद्रास्फीति ६–७ प्रतिशत हाराहारी हुनसक्ने अड्कल पनि कतिपय विज्ञले गरेका छन् । तर वर्षको अन्त्यसम्म साढे ६ प्रतिशत हाराहारी मुद्रास्फीति हुनसक्ने भनिएको बेला अहिले बैंकहरुले दिइरहेको ब्याजदर ‘घाटाको सौदा’ हुनसक्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष मुद्रा स्फीति दर ७.७४ प्रतिशत थियो । अहिले पुरै बाणिज्य बैंकहरुको औसत ब्याजदर नै उक्त अङ्कभन्दा कम भइसकेको छ । गत सालको मुद्रास्फीतिलाई आधार मान्ने हो भने त चैतमै पनि माछापुच्छ्रे, एनआईसी एसिया र सिटिजन्स बाहेक सबै बैंकमा ब्याजदर ऋणात्मक भइसकेको थियो ।

वैशाखमा एनएमबी बैंकले १ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । त्यसकारण एनएमबी र एनआईसी एसिया बैंकको ब्याजदर अहिले पनि गत सालको मुद्रास्फीतिभन्दा माथि देखिन्छ । आगामी वैशाखका लागि प्रकाशित ब्याजदरमा नेपाल एसबीआई र राष्ट्रिय बाणिज्य बैंकले प्रक्षेपित मुद्रास्फीतिकै बराबर ब्याज दिने भनेका छन् ।

यस प्रकारको ब्याज पाउँदा अघिल्लो सालको तुलनामा व्यक्तिको सम्पत्ति स्थिर रहन्छ । तर कृषि विकास बैंकले ५.७ प्रतिशत ब्याज दिने भनेको छ । मुद्रास्फीतिभन्दा कम ब्याजदर पाउँदा निक्षेपकर्तालाई घाटा लाग्छ ।


प्रतिक्रिया दिनुहोस्