२७.७० प्रतिशत बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, इपिएस लगायतका मुख्य सूचक कस्ता ? « Arthapath.com
७ बैशाख २०८१, शुक्रबार

२७.७० प्रतिशत बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, इपिएस लगायतका मुख्य सूचक कस्ता ?



काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा दोहोरो अंकले बढेको छ । बैंकले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

९ महिनामा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा २७.७० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २६ करोड ५३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी शतप्रतिशत बढेको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी १०३.४९ प्रतिशत बढेर ८ अर्ब ५३ करोड २७ लाख रुपैयाँ कायम भएको छ। कुल आम्दानी पनि १०१.६३ प्रतिशत बढेर १० अर्ब ४१ करोड ५ लाख र खुद संचालन आम्दानी ३२.९५ प्रतिशत वृद्धि भई ५ अर्ब ४० करोड ८८ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको संचालन नाफा पनि ११.७८ प्रतिशत बढेर २ अर्ब २३ करोड १७ लाख रुपैयाँ कायम भएको छ। गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

तर, बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १० करोड ८६ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा ३.६७ प्रतिशत बिन्दुले बढेर ५.४९ प्रतिशत पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा कायम भएको छ । हाल बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । बैंकले जगेडा कोषमा भने १७ अर्ब ८४ करोड ९० लाख रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ५.१९ प्रतिशत बढेर ३ खर्ब ११ अर्ब ६१ करोड ७ लाख रुपैयाँ पुगेको छ । निक्षेपको तुलनामा कर्जा लगानी भने केही कमी देखिएको छ । समिक्षा अवधिमा बैंकको कर्जा लगानी ०.७३ प्रतिशत बढेर २ खर्ब ४९ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्