कामना सेवाको अतिरिक्त प्रोभिजनका बाबजुद वितरणयोग्य नाफा दोहोरो अंकमा « Arthapath.com
७ बैशाख २०८१, शुक्रबार

कामना सेवाको अतिरिक्त प्रोभिजनका बाबजुद वितरणयोग्य नाफा दोहोरो अंकमा



काठमाडौं । कामना सेवा विकास बैंकको मुख्य वित्तीय सूचकहरुमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन बमोजिम थप प्रोभिजन गर्दा समेत वितरणयोग्य मुनाफामा उल्लेख्य बृद्धि देखिएको हो ।

राष्ट्र बैंकले गत माघ १ गतेदेखि लागू हुने गरी कर्जा वर्गीकरणसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको थियो । पछिल्लो व्यवस्था बमोजिम खराब कर्जामा वर्गीकरण भइसकेको ऋणलाई ‘स्तरोन्नती गर्न’ ६ महिना पर्खनुपर्ने हुन्छ ।

कुनै पनि कर्जा एक पल्ट निष्कृय वर्गमा वर्गीकरण भएपछि पुरानो ब्याज तथा किस्ता भुक्तानी गरेपछि सक्रीय वर्गमा परिणत गर्ने पुरानो अभ्यास थियो । तर अब निष्कृय कर्जालाई सक्रीय वर्गमा वा निष्कृय वर्गकै कम प्रोभिजन लाग्ने शीर्षकमा वर्गीकरण गर्न पुरानो दायित्व तिरेर मात्रै पुग्दैन ।

भाखा नाघेको पुरै पैसा तिरेपछि पनि अर्को ६ महिनासम्म नियमित किस्ता वा ब्याज भुक्तानी भएको हुनुपर्ने छ । त्यसपछि मात्रै बैंकले कर्जाको वर्गीकरणलाई ‘स्तरोन्नती’ गर्न पाउने छ । कामना सेवाले उक्त व्यवस्थाको पालना गरेको स्वघोषणा आफ्नो वित्तीय विवरणमा उल्लेख गरेको छ । यसबाट बैंकको प्रा्भिजन रकम १.४२ प्रतिशत बढ्न गएको बैंकले जनाएको छ ।

बैंकको स्वघोषणा र कानूनी व्यवस्था :

यसरी अतिरिक्त प्रोभिजन गरेपछि बैंकको खुद निष्कृय कर्जाको अनुपातमा पनि अघिल्लो वर्षको तुलनामा कमी आएको छ । गत साल कुल कर्जाको १.४२ प्रतिशत ऋण जोखिम व्यवस्थाभन्दा बाहिर थियो ।

अहिलेको चैत मसान्तमा आउँदा पोभिजनले नसमेटेको यस प्रकारको कर्जाको आकार घटेर १.१३ प्रतिशतमा झरेको छ । यद्यपि, यस अवधिमा कुल निष्कृय कर्जा भने गत सालको तुलनामा २८ आधारबिन्दुले बढेर ३.५५ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा (प्रतिशत)

बैंकले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कामना सेवाको खुद नाफा ८.४० प्रतिशत बढेर ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकले ३० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ४.६८ प्रतिशत घटेर १ अर्ब ४५ करोड ८० लाख रुपैयाँ कायम भएको छ । तर, संचालन नाफा भने सामान्य २.९२ प्रतिशत बढेर ५४ करोड ६ लाख ८२ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल संचालन आम्दानी पनि २.६६ प्रतिशत वृद्धि भई १ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य नाफा गत सालको ८ करोडबाट बढेर यो चैतसम्म २८ करोड ७३ लाख ३१ हजार रुपैयाँ छ । हाल बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४७ पैसा र वितरणयोग्य प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६८ पैसा छ । गत वर्षको तुलनामा बैंकको यस्तो आम्दानी सामान्य सुधार देखिएको हो । हाल बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३४ पैसा छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ८१ करोड ५७ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेप संकलन ७.१० प्रतिशत वृद्धि भई ५७ अर्ब २७ करोड १० लाख रुपैयाँ कायम भएको छ । कर्जा लगानी पनि ३.४३ प्रतिशत बढेर ४५ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्