विकास बैंकको वितरणयोग्य नाफा: लुम्बिनी पहिलो, एक्सेल, गरिमा र ग्रिनको ग्रोथ उच्च « Arthapath.com
४ असार २०८३, बिहिबार

विकास बैंकको वितरणयोग्य नाफा: लुम्बिनी पहिलो, एक्सेल, गरिमा र ग्रिनको ग्रोथ उच्च



काठमाडौं । नेपाली सेयर बजारमा लगानीकर्ताहरूका लागि सबैभन्दा चासो र आकर्षणको विषय नै कम्पनीहरूले वर्षभरि कमाएको नाफाबाट बाँड्ने लाभांश हो । अझ दोस्रो बजारमा निकै उतारचढाव बेहोर्ने विकास बैंक समूहका सेयरधनीहरूका लागि कुन बैंकको वित्तीय जग कति बलियो छ र त्यसले कति प्रतिफल दिन सक्छ भन्ने कुराले विशेष अर्थ राख्छ ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणलाई मिहिन ढंगले केलाउने हो भने विकास बैंकहरूको लाभांश बाँड्ने क्षमतामा निकै रोचक र ठूलो फेरबदल आएको देखिन्छ । केही बैंकहरूले खराब अवस्थाबाट आफूलाई बाहिर निकाल्दै लोभलाग्दो फड्को मारेका छन् भने केही स्थापित नामहरू अझै पनि नील (शून्य) क्षमतामै थन्किएका छन् ।

यसपटकको तथ्यांकमा सबैभन्दा सुखद र आश्चर्यजनक सुधार लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकमा देखिएको छ । अघिल्लो वर्ष अर्थात् चैत २०८१ सम्म रित्तो हातजस्तै रहेका यी दुई बैंकले यस वर्ष आफ्ना सेयरधनीलाई मख्ख पार्ने संकेत गरेका छन् ।


अघिल्लो चैतमा मात्रै ०.०२ प्रतिशत लाभांश क्षमता रहेको लुम्बिनी विकास बैंकले यो चैत (२०८२) सम्म आइपुग्दा आफ्नो लाभांश क्षमतालाई बढाएर १७.४८ प्रतिशत पुर्‍याएको छ । २०.६७ रुपैयाँ प्रतिसेयर आम्दानी (ईपीएस) र २०५.४ रुपैयाँको बलियो नेटवर्थ बोकेको लुम्बिनी यसपटक लाभांश क्षमताको दौडमा सबैभन्दा अगाडि उभिन सफल भएको छ ।

लुम्बिनीलाई बलियो टक्कर दिँदै एक्सेल डेभलपमेन्ट बैंकले पनि दोस्रो बजारका खेलाडीहरूलाई अचम्ममा पारेको छ । गत वर्ष जम्मा ०.५८ प्रतिशत मात्र लाभांश क्षमता रहेको एक्सेलले यसपालि १५.३९ प्रतिशत वितरणयोग्य नाफा कमाएको छ । १८४ रुपैयाँ नेटवर्थ र १६.६१ रुपैयाँ प्रतिसेयर आम्दानी भएको एक्सेलको यो सुधार आफैँमा लोभलाग्दो छ ।

बजारमा सधैँ चर्चामा रहने कामना सेवा, गरिमा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो साखलाई यसपटक पनि गुम्न दिएका छैनन् । कामना सेवाको लाभांश क्षमता गत वर्षको १८.९८ प्रतिशतबाट सामान्य घटेर १४.१५ प्रतिशतमा झरे पनि यो अझै तेस्रो बलियो स्थानमा सुरक्षित छ ।

उता, विकास बैंकहरूमध्ये सबैभन्दा बढी प्रतिसेयर आम्दानी (२३.२१ रुपैयाँ) भएको गरिमा विकास बैंकको लाभांश क्षमता १३.८९ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्ष ८.२३ प्रतिशत मात्र थियो । १६७.५८ रुपैयाँ नेटवर्थ र १७.७९ को सन्तुलित पीई रेसियो (मूल्य आम्दानी अनुपात) ले गरिमालाई लगानीका लागि अझै पनि सुरक्षित देखाउँछ ।

राष्ट्रिय स्तरको अर्को बलियो बैंक शाइन रेसुङ्गाले पनि आफ्नो लाभांश क्षमतालाई १०.५९ प्रतिशतबाट बढाएर १२.५ प्रतिशत पुर्‍याउँदै आफ्नो निरन्तरता कायम राखेको छ ।

तर, सबै विकास बैंकको चित्र यति उज्यालो मात्रै छैन । बजारमा ठूलो सञ्जाल भएका र लगानीकर्ताको आकर्षणमा रहने केही बैंकको अवस्था भने दयालाग्दो छ । यसपटक ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, साल्पा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश क्षमता शून्य (० प्रतिशत) देखिएको छ । अर्थात्, यी बैंकका सेयरधनीहरूले यसपटक लाभांशको आशा मारिदिए हुन्छ ।

विशेष गरी सिन्धु र साल्पा विकास बैंकको प्रतिसेयर आम्दानी क्रमश: ऋणात्मक (–७.९१ रुपैयाँ र –०.६१ रुपैयाँ) हुनुले यिनीहरूको आन्तरिक वित्तीय स्वास्थ्य अझै संकलन र सुधारको पर्खाइमा रहेको स्पष्ट पार्छ ।

लाभांश क्षमतासँगै लगानीकर्ताले आँखा चिम्लन नहुने अर्को पाटो पीई रेसियो पनि हो । तथ्यांकअनुसार ग्रीन डेभलपमेन्ट बैंकको लाभांश क्षमता ५.९५ प्रतिशत मात्र हुँदा पनि यसको पीई रेसियो १३८.९२ गुणा पुगेको छ ।

यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको पीई रेसियो १४८.७३ गुणा हुनु र लाभांश क्षमता भने शून्य रहनुले दोस्रो बजारमा यी बैंकको सेयर मूल्य उनीहरूको वास्तविक कमाइभन्दा निकै माथि (ओभरभ्यालुड) रहेको संकेत गर्छ ।


प्रतिक्रिया दिनुहोस्