नाफामा कृषि विकासको छलाङ: प्राइम र सिद्धार्थ पनि तगडा, अब्बल मानिने बैंकहरुको नाफामा संकुचन « Arthapath.com
७ बैशाख २०८१, शुक्रबार

नाफामा कृषि विकासको छलाङ: प्राइम र सिद्धार्थ पनि तगडा, अब्बल मानिने बैंकहरुको नाफामा संकुचन



काठमाडौं । वाणिज्य बैंकहरुको खुद नाफामा दोहोरो अंकको गिरावट आएको छ । बैंकहरुले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

९ महिनामा बैंकहरुले ४० अर्ब ७१ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । तर, यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने १३.१९ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकहरुले ४६ अर्ब ८९ करोड ९० लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

समिक्षा अवधिमा अधिकांश बैंकहरुको नाफामा गिरावट आएको छ । हाल संचालनमा रहेकामध्ये १३ वटा बैंकको नाफा घटेको छ, त्यसबाहेककाले भने नाफा बढाएका छन् । ठुला र अब्बल मानिने बैंकहरुकै नाफामा गिरावट आएको छ ।

कृषि विकास बैंकको नाफामा छलाङ, यी हुन् नाफा बढाएका बैंकहरु

समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा कृषि विकास बैंकको देखिएको छ । बैंकको गत वर्षको तुलनामा नाफा ९७.२२ प्रतिशत बढाएको छ । चालु आवको ९ महिनामा बैंकले २ अर्ब ५ करोड ३१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको सोही अवधिमा भने बैंकले १ अर्ब ४ करोड १० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

नाफा वृद्धिदरमा दोस्रो सूचीमा भने लक्ष्मी सनराइज बैंक देखिएको छ। समिक्षा अवधिमा बैंकको नाफा २७.७० प्रतिशत वृद्धि भई १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ कायम भएको छ। तेस्रो सूचीमा रहेको प्राइम कमर्सियल बैंकको नाफा १६.६६ प्रतिशत बढेर २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ कायम भएको छ। यस्तै, समिक्षा अवधिमा सिद्धार्थ बैंकको नाफा पनि १३.०१ प्रतिशत, हिमालयनब बैंकको १२.०३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.५२ र एभेष्ट बैंकको ५.७७ प्रतिशत बढेको छ ।

नेपाल बैंकसहित एक दर्जन बैंकको नाफामा गिरावट, कुनको कति घट्यो ?

समिक्षा अवधिमा एक दर्जन बैंकहरुको खुद नाफामा गिरावट आएको छ । सबैभन्दा धेरै नाफा नेपाल बैंकको ९२.६७ प्रतिशत घटेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो वर्षको सोही अवधिमा भने १३ करोड ५ लाख रुपैयाँमा सिमित भएको छ ।

सर्वाधिक नाफा घट्नेको दोस्रो सूचीमा भने एनआइसी एशिया बैंक देखिएको छ। बैंकको खुद नाफा ५२.३ प्रतिशत घटेर १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ कायम भएको छ। यस्तै, माछापुच्छ्रे बैंकको नाफा पनि ३६.७२ प्रतिशत घटेर ८५ करोड ५४ लाख रुपैयाँ कायम भएको छ ।

यता, नेपाल एसबिआई बैंकको नाफा ३५.४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको नाफा ३३.६ प्रतिशत, कुमारीको १९.११ प्रतिशत, सानिमाको १५.९ प्रतिशत घटेको छ । सबैभन्दा धेरै नाफा भने नबिल बैंकले कमाएको छ। समिक्षा अवधिमा नबिलले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ ।तर, गत आवको तेस्रो त्रैमासको तुलनामा भने बैंकको नाफा ८.७६ प्रतिशत कमी हो ।

समिक्षा अवधिमा ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशत घटेको छ । तेस्रो त्रैमासमा बैंकले ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफाको आधारमा भने ग्लोबल आइएमई बैंक दोस्रो पोजिशनमा छ । यस्तै, समिक्षा अवधिमा एनएमबि बैंकको नाफामा ११.५६ प्रतिशत, प्रभु बैंकको ७.२७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको ६.२४ प्रतिशत र सिटिजन्सको १.९९ प्रतिशत गिरावट आएको छ ।

कुन बैंकले कति कमाए नाफा ? (रकम हजारमा)


प्रतिक्रिया दिनुहोस्