सेयर लगानीकर्ताको आँखाले सबैभन्दा धेरै खोजी गर्ने सूचकमा कुन बैंकले मारे बाजी ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

सेयर लगानीकर्ताको आँखाले सबैभन्दा धेरै खोजी गर्ने सूचकमा कुन बैंकले मारे बाजी ?



काठमाडौँ । पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बाणिज्य बैंकहरुको सेयर मूल्य भारी बृद्धि भएको छ । यसको एक कारण लचिलो मौद्रिक नीतिको अपेक्षा र त्यसै अनुसार आएको मौद्रिक नीतिप्रति लगानीकर्ताको भरोसा हो ।

राष्ट्र बैंकले कयौँ असहजताको गाँठो फुकाउने गरी बैंकहरुको हितमा नयाँ मौद्रिक नीति जारी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले बैंकहरुलाई कर्जाको गुणस्तर सुधार गरेको देखाउन मिल्ने नीतिहरु ल्याइदिएको छ । यसले गर्दा बैंकले सम्भावित जोखिम बापतको व्यवस्था गर्न छुट्याएको रकम अर्थात् प्रोभिजनलाई करोडौँको स्तरमा घटाउन पाएका छन् ।

नियामकीय प्रावधानहरुलाई खुकुलो पार्ने गरी ल्याइएको नयाँ मौद्रिक नीतिको लाभ बैंकहरुको वित्तीय विवरणमा देखिएको छ । यसैको एक उदाहरण हो, सेयर बजारका लगानीकर्ताका निम्ति सबैभन्दा चासोको विषय रहने लाभांश क्षमता र प्रतिसेयर आम्दानी ।

अधिकांश बैंकहरुले सोमबार आफ्नो अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । गत आर्थिक वर्षको चौँथो त्रैमासिक विवरणहरुले बैंकहरुको लाभांश क्षमता र उनीहरुको आम्दानीको स्तरलाई दृष्टिगत गर्न सघाएको छ ।

यो सूचीमा नेपालका २० बाणिज्य बैंकमध्ये एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड सबैभन्दा अगाढी देखिएका छन् । एभरेष्ट बैंकले यस्तो विषम परिस्थितिमा पनि झण्डै ३० प्रतिशतको लाभांश दिनसक्ने सामथ्र्य बनाएको छ । यो त्यस्तो उदाहरण हो, जुन नेपाली बैंकिङमा लाभांश दर घटेर संस्थापकहरु नै बैंकिङ क्षेत्रबाट निस्कन खोजिरहेको बेलामा एभरेष्टको आँकडाले उनीहरुलाई कम्तिमा एक पल्ट सोच्न बाध्य पार्ने छ ।

स्ट्याण्डर्ड चार्टर्डले पनि साढे २५ प्रतिशत लाभांश दिने क्षमता राखेको छ । केही वर्ष अघिसम्म खराब वित्तीय विवरणको द्योतकजस्तै बनेको सरकारी स्वामित्वको कृषि विकास बैंकले यो पल्ट १७ प्रतिशत भन्दा धेरै लाभांश दिने क्षमता आर्जन गरेको छ । यो एक तिलस्मीको समान बनेको छ ।

नबिल, नेपाल एसबीआई र सानिमा बैंकले पनि १० प्रतिशतभन्दा बढी लाभांश दिने क्षमता बनाएका छन् । यी तथ्यांकले नबिललाई अपवाद मान्ने हो भने मर्जरमा समावेश नभएका ‘सेल्फ ग्रोन’ बैंकहरुले तुलनात्मक रुपमा राम्रो प्रतिफल दिने सामथ्र्य हासिल गरेको देखिन्छ । त्यसो त, उनीहरुको व्यवसाय दिगो र मजबूत भएर नै तिनीहरु मर्जरको सहारा लिनुपर्ने बाध्यतामा नरेका हुन् ।

मर्जरको सबैभन्दा ठूलो मार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोग्नु परेको देखिन्छ । मेगा बैंकबाट आएको कर्जाको गुणस्तर सुधार गर्न कठिनाई हुँदा प्रतिशेयर १५ रुपैयाँभन्दा बढी आम्दानी गरेर पनि यो बैंकले लाभांश बाँड्न नसक्ने देखिएको छ । उसको लाभांश क्षमता १० प्रतिशतभन्दा धेरै ऋणात्मक देखिएको छ ।

एनआईसी एसिया, हिमालयन, कुमारी जस्ता बैंकले पनि यो साल प्रतिफल बाँड्न सक्ने छैनन् । यद्यपि, उनीहरुले पनि राम्रै कमाइ गरेका छन् । भविष्यमा अर्थतन्त्र सुध्रियो र पुरानो खराब ऋण उठ्यो भने यी बैंकहरुको लाभांश क्षमता पुनः एक पटक निकै मजबूत हुनसक्छ । तर त्यसका लागि अझै केही समय कुर्नुपर्ने देखिएको छ ।

बाणिज्य बैंकहरुले औसतमा भने ७ प्रतिशतको लाभांश क्षमता राखेका छन् । अहिले बैंकहरुले निक्षेपकर्तालाई ५ देखि ७ प्रतिशतसम्म ब्याज मुद्दति खातामै दिइरहेका छन् । गत साल यस्तो ब्याजदर १२ प्रतिशतसम्म पुगेको छ ।

यस हिसाबले शीर्ष ४ बैंक (एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास र नबिल)भन्दा बाहेकका लगानीकर्तालाई यो साल प्राप्त हुने लाभांशले खासै उत्साह नभर्ने देखिन्छ ।

प्रति सेयर आम्दानीको आँकडामा भने स्ट्याण्डर्ड चार्टर्ड सबैभन्दा अगाडी देखिएको छ । उसले प्रतिकित्ता ३५ रुपैयाँभन्दा धेरै आम्दानी गरेको छ । त्यसपछि एभरेष्ट, नबिल, कृषि विकास, राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ, प्राइम कमर्शियल, नेपाल एसबीआई र प्रभू बैंकले औसत (प्रतिकित्ता १६.८० रुपैयाँ) भन्दा बढी आम्दानी गरेका छन् ।

यो सूचीमा कुमारी, एनआईसी एसिया र सिटिजन्स सबैभन्दा पछाडी देखिएका छन् । उनीहरुको प्रतिसेयर आम्दानी १० रुपैयाँभन्दा कम छ ।


प्रतिक्रिया दिनुहोस्