‘बैंकलाई लाभांश बाँड्न पनि नदिने, सेयर बेच्न पनि नदिने नीति गलत छ’
काठमाडौँ । मैले कुनै परिकल्पना गरेको थिइन– राष्ट्र बैंककोे जागिरपछि पनि म बैंकर हुन्छु भनेर । तर, समयक्रम परिवर्तन भयो । २६ वर्ष राष्ट्र बैंकको जागिरपछि म बैंकर बन्न आइपुगेँ ।
त्यो बेला एउटा सामान्य भाष्य बनाइएको थियो,– ‘राष्ट्र बैंकमा जागिर गरेर निजी बैंक चलाउन सक्दैनन् ।’ त्यसै बेलामा म सिटिजन्स बैंकमा जोडिएँ ।
बैंकमा आवद्ध भएपछि मैले एउटा अठोट पनि गरँे, ‘जबसम्म १५ प्रतिशत लाभांश बाँड्न सक्दिन, तबसम्म म आफूलाई बैंकर ठान्दिन ।’ मैले अठोट गरे बमोजिम नै १५ प्रतिशत लाभांश बाँडन् सफल भएँ । त्यसपछि बल्ल आफूलाई ‘बैंकर हूँ कि ?’ भन्ने लाग्न थाल्यो ।
तर, बैंकर हुन धेरै गाह्रो रहेछ । जहिले पनि पर्फमेन्समा दबाब हुने, सुशासन पनि कायम गनुपर्ने । अर्को तर्फ सेयरधनीहरुलाई प्रतिफल पनि दिनैपर्ने ।
सुशासन र प्रतिफल दुवै राम्रो भएन भने जहिल्यै सेयरधनी र राष्ट्र बैंकको तारो भइने । तर, मैले यी दुवै कुरामा गम्भिर ढंगले पालना गरेँ । विभिन्न हैसियतमा रहेर सिटिजन्स बैंकमा मैले १७ वर्ष बिताएँ ।
त्यो अवधिमा औसत ११ प्रतिशत लाभांश बाँड्न सफल भएँ । यद्यपि, यसलाई मैले कुनै ठूलो ‘तीर मारेजस्तो’ लाग्दैन । तर, विभिन्न चुनौती र समस्याका बाबजुद पनि बैंकलाई यस्तो अवस्थामा ल्याउन मैलै विभिन्न सिद्धान्त अवलम्बन गरँे ।
सामान्यतया सबैले जानेका, तर कार्यान्वयनमा विरलै आउने पाँच सिद्धान्तलाई मैले अवलम्बन गरेँ । बैंकरले जहिले पनि ती पाँच कुरा ख्याल गर्नुपर्छ भन्ने लाग्छ । पहिलो कुरा आफूले आफैलाई ऋण नदिने, दोस्रोः अर्कोलाई ऋण दिँदा खुस नखाने (खस्रो भासामा), तेस्रोः ग्राहक असल हुनुपर्छ । चौँथोः उसको कमाई पनि असल नै हुनुपर्छ । पाँचौँ कुरा भनेको धितो पनि असल नै हुनुपर्ने सिद्धान्तलाई मैले अघि सारेँ । सोही अनुसार काम कारबाही अघि बढाएँ ।
सामान्यतया यी पाँच सिद्धान्तलाई जसले मानेनन्, विगतका ती बैंकरहरु अहिले जेलमा छन् । यो सबैले जानेको कुरा त हो, त्यही पनि मैले ‘गुरु–मन्त्र’ भन्ने गरेको छु ।
अचेल लाभांशको दवाबको कुरा बढी सुनिन्छ । राष्ट्र बैंकले बैंकका अध्यक्ष, संचालक र सीइओको ‘सर्कल’मा अब लाभांशको धेरै आश नगर्नुहोस्, आफ्नो सीइओलाई लाभांशका लागि धेरै दबाब नदिनुहोस् भनेको सुन्दा मलाई बडो अचम्म लाग्छ ।
बैंकहरुले सुशासनलाई उच्च महत्वका साथ प्राथमिकतामा राखेर राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गरी उच्चतम दरको लाभांश बाँड्न सक्षम हुन्छन् । त्यस्ता बैंकलाई सबैले प्रोत्साहन र माया गर्नुपर्छ ।
मेरा लागि राष्ट्र बैंक माइतीघर हो । बिहे गरेर गएकी छोरी चेलीलाई सबैभन्दा प्यारो लाग्ने भनेकै माइती हो । अहिले मैले त्यहाँबाट पाउने मासिक पेन्सन निकै नै प्यारो लाग्छ ।
बैंकरले राष्ट्र बैंकको गलत नीति सधैँ विरोध गर्नैपर्छ । बैंकरलाई राष्ट्र बैंकको बारेमा केही कुरा गर्न पर्यो भने अर्थात् सत्य र सही कुरा गर्दा ढुक्कसँग बोल्न सक्दैन । राष्ट्र बैंकको गलत नीतिको कुरा गर्दा मेरो बैंकलाई रिस राख्छ कि, बढी प्रोभिजन गराएर नाफा घटाइ दिन्छ कि, भन्ने कुराले त्रसित भएर बसेको हुन्छ ।
विगतमा पूर्व गभर्नरहरुले संघका अध्यक्षहरुलाई बोलाएर हामीबिच कुनै मुद्दा छ भने आपसमा सल्लाह गरौँ, त्यस्ता विषयलाई सार्वजनिक नगरौँ, भन्ने गरेका थिए । अहिलेका पुस्ताका बैंकरलाई पनि त्यस्तै वातावरणको न्याश्रो लागेको हुनसक्छ ।
बैंकर र बैंकिङ क्षेत्रमा जति सुकै चुनौती र अप्ठ्याराहरु रहेता पनि उज्ज्वल छ । ऋणी र बैंकर सँगसँगै बाँच्नुपर्छ । यदि यी दुईमध्ये एउटै मात्रै बाँच्नपर्ने अवस्था आएको खण्डमा भने बैंक नै बाँच्नुपर्छ । किन भने, बैंकमा भएको पैसा जनतको पैसा हो ।
सरकारले बैंकको पक्ष लिनुपर्छ, डिफल्डरको होइन । निर्माण व्यवसायीहरुले गरिसेको कामको भुक्तानी सरकारबाट नपाउने, अनि राष्ट्र बैंकले कर्जा सूचना केन्द्रमा सहजीकरण गरिदिने । यो ठीक भएन ।
बैंक भनेको जनताको पैसाबाट चल्ने हो । यो व्यावसायिक र एकदमै पारदर्शी संस्था हो । त्यसकारण पनि सरकारले बैंककै पक्षमा हुनुपर्छ भन्ने मलाई लाग्छ ।
लगानीकर्ताको हितमा सँधै काम गर्नुपर्छ । संस्थापक र साधारण सेयर बीचमा कुनै पनि भिन्नत हुनुहुँदैन । संस्थापक सेयर पनि सहज रुपमा बिक्री हुने वातावरण मिलाईदिनुपर्छ । लगानीकर्तालाई बैंकले दिने प्रतिफल चित्त नबुझे अर्को क्षेत्रमा लगानी गर्ने स्वतन्त्रता हुनुपर्छ ।
लाभांश बाँड्न पनि नियन्त्रण गर्ने, लगानीकर्तालाई सेयर बेचेर बाहिर जान पनि नदिने ? थुनेरै राख्ने व्यवस्था कत्तिको न्याचित हो ? यो विचार गर्नुपर्छ ।
बैंकर र व्यवसायी राम्रोसँग छुट्याउनुपर्यो । जसले बैंकिङ्ग क्षेत्रमा बस्न चाहँदैन, उनीहरुको सेयर बिक्री हुने व्यवस्था गरिदिनुपर्यो । त्यो पनि कानुनमै भएको व्यवस्था छ ।
राष्ट्र बैंकले स्वीकृति दियो भने बैंकले आफ्नो सेयर आफैँ खरिद गर्न सक्छ, बैंकले विस्तारै बेचे भइहाल्छ । सेयरको मूल्य नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छँदैछ ।
नीतिगत व्यवस्थाको निरन्तरता कायम गर्नुपर्छ । राष्ट्र बैंकको मौद्रिक नीतिमा स्थिरता कायम हुनुपर्यो । निरन्तर एउटै र उस्तै हुनु पर्यो ।
राष्ट्र बैंकको नीतिमा कसैले बदमासी गर्यो भने, उसलाई कारवाही गर्नैपर्छ । त्यसमा दुई मत छैन । त्यस्तो बेला बैंकर संघ विरोधमा आउँदैन । तर अहिले बदमासलाई कारबाही गर्नुपर्नेमा उल्टै नीति नै परिवर्तन गरिने चलन बढेको छ । यसले सही गन्तव्यमा पुर्याउँदैन ।
अन्त्यमा, बैंकिङ्ग क्षेत्रमा देखिएको चुनौती र समस्याहरुलाई सुधार गर्दै जाने कार्यले निरन्तरता पाइराख्नुपर्छ । नेपालमा राज्यले नजानेको विषय वस्तु केही पनि बाँकी छैन । तर, गर्ने कसैले होइन । मैले भनेका कुरा र विषय वस्तुहरु समयानुकुल विस्तार हुनसकेमा बैंकिङ्ग क्षेत्रको भविष्य अति उज्ज्वल छ ।
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा बैंकर्स संघका पूर्व अध्यक्ष भण्डारीले बुधबार संघकै साधारण सभामा प्रस्तुत गरेको विचारको सम्पादित अंश ।