आधा वर्षमै ४१ अर्ब नाफा कमाउन कति चाहिन्छ लगानी ?

काठमाडौँ । केवल २० वाणिज्य बैंकले ६ महिनाभित्रै साढे २७ अर्ब खुद नाफा कमाएको विवरणहरु प्रकाशित भएका छन् । अझ उनीहरुको सञ्चालन नाफा हेर्ने हो भने त ४१ अर्ब ४५ करोड १० लाख २६ हजार नाघेको छ ।
बैंकको वित्तीय विवरणबारे अभ्यस्त नभएका मानिसहरुका लागि यो अंक अचम्म लाग्दो हुनसक्छ । त्यसमाथि अहिले ३ वर्षदेखि घरेलु अर्थतन्त्र सिथिल भइरहेका बखत आधा वर्षमा ४१ अर्ब नाफा भनेको ‘अत्याउने’ खालको आँकडा हो ।
हुन त, यी प्रकाशित आँकडाहरुको विस्वसनीयतामा प्रश्न गर्न थालिएको छ । अहलेको अवस्थामा ऋणको भुक्तानी रोकिएको कारण यति ठूलो नाफा आर्जन हुने संभावनाप्रति शंका गरिएको छ । त्यसबारेमा थप तथ्यहरु नियामक निकाय नेपाल राष्ट्र बैंकले खोज्ने छ ।
आज हामी ४१ अर्बको सञ्चालन नाफा र साढे २७ अर्बको खुद नाफा कमाउन बैंकहरुमा कति पूँजी लगाइएको छ भनेर हेर्न चाहन्छौँ ।
अहिले भएका २० वाणिज्य बैंकमा स्वदेशी तथा विदेशी लगानीकर्ता र नेपाल सरकार एवम् उसका निकायहरुले भारी भर्कम पैसा खन्याएका छन् । बैंकहरुको विवरण अनुसार गत पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकमा ७ खर्ब १३ अर्ब १७ करोड ९७ लाख ४४ हजार रुपैयाँ पूँजी लगानी भएको छ ।
यसमध्ये ३ खर्ब ८१ अर्ब ३७ करोड ८० लाख चुक्ता पूँजी हो भने बाँकी रकम सञ्चित कोष आदिमा जम्मा भएको छ । यसरी झण्डै ४ खर्ब रुपैयाँ लगानीकर्ताले आफ्नो खल्तिबाट हालिसकेका छन् भने अर्को सवा ३ खर्बभन्दा बढी पैसा बैंकले आर्जन गरेको छ, त्यो पनि तिनै लगानीकर्ताको पूँजी हो ।
कुन बैंकसँग छ धेरै पूँजी ?

बैंकहरुको प्रकाशित विवरण अनुसार ग्लोबल आईएमई बैंकसँग सर्वाधिक पूँजी छ । ऊ एक्लैसँग ६४ अर्ब ६४ करोड हाराहारी पूँजी छ । त्यसपछि दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग ६३ अर्ब १५ करोड ५६ लाख बराबर पूँजी रहेको छ ।
नबिल बैंकसँग ५९ अर्ब २५ करोड र राष्ट्रिय बाणिज्य बैंकसँग ५१ अर्ब ५८ करोड हाराहारी पूँजी छ । यी चार बैंकसँग आधा खर्बभन्दा ज्यादा पूँजी रहको छ । ३० देखि ५० अर्ब बीचमा पूँजी भएका अरु ८ बैंक छन् ।
लक्ष्मी सनराइज बैंकसँग झण्डै ४२ अर्ब, नेपाल बैंकसँग साढे ३८ अर्ब, हिमालयन बैंकसँग ३८ अर्ब १४ करोड कृषि विकास बैंकसँग ३५ अर्ब ७६ करोड, कुमारी बैंकसँग ३५ अर्ब, प्रभू बैंकसँग ३४ अर्ब, प्राइम बैंकसँग साढे ३१ अर्ब र एनएमबी बैंकसँग ३१ अर्ब पूँजी छ ।
बाँकी ८ बैंकहरु पूँजीका आधारमा साना संस्थाको रुपमा रहेका छन् । ती सानामध्येको सबैभन्दा ठूलो बैंक एनआईसी एसिया हो, ऊसँग २९ अर्ब ६७ करोड पूँजी छ । एभरेष्टसँग २९ अर्ब २३ करोड, सिद्धार्थसँग झण्डै २८ अर्ब, सिटिजन्ससँग २२ अर्ब २१ करोड, सानिमासँग २१ अर्ब ४० करोड पूँजी छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसँग २० अर्ब ३८ करोड, नेपाल एसबीआई बैंकसँग १९ अर्ब ६४ करोड र माछापुच्छ्रे बैंकसँग १७ अर्ब ९२ करोड हाराहारी पूँजी रहेको छ । यसरी सबैभन्दा कम पूँजी हुनेसँग करीब १८ अर्ब र धेरै पूँजी हुनेमा झण्डै ६५ अर्ब रहेको देखिन्छ ।
यति विशाल पूँजी लगानी गरेर कति नाफा कमाए त ? सर्वाधिक नाफा सञ्चालन नाफा आर्जन गर्ने बैंक नबिलले आधा वर्षमा ५ अर्ब १७ करोड कमाएको छ, जुन उसको कुल पूँजीको ८.७४ प्रतिशत हो । पूँजीको अनुपातमा सर्वाधिक सञ्चालन नाफा कमाउने ३ बैंकमा स्ट्याण्डर्ड चार्टर्ड, एभरेस्ट र प्राइम कमर्शियल छन् । उनीहरुले १० देखि साढे ११ प्रतिशत नाफा आर्जन गरेको देखिन्छ ।
रून मन लाग्ने प्रतिफल!

हामीलाई थाहा छ– अहिले ब्याजदर घटेर न्यूनतम विन्दुमा झरेका बेला समेत तिनै वाणिज्य बैंकले बचत खातामा कम्तिमा ३ प्रतिशत र मुद्दति खातामा ५ देखि ७ प्रतिशत ब्याज दिइरहेका छन् । तर यी अर्बौँ नाफा गर्ने ती बैंकका लगानीकर्ताले पनि ६ महिनामा पूँजीको ५.८१ प्रतिशतमात्रै सञ्चालन नाफा कमाएका छन् ।
‘सञ्चालन नाफा’ भनेको आफैँमा शुद्ध नाफा होइन । यसमा गैर सञ्चालन नाफा वा घाटा समायोजन भएपछि ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । त्यसरी कर तिरेपछि बाँकी रहेको पैसा मात्रै खुद नाफामा गणना हुन्छ । उक्त खुद नाफा पनि सेयर धनिले बाँडेर खान पाउँदैनन् । त्यसमा विभिन्न नियामकीय प्रावधानहरु पुरा गर्नुपर्ने हुन्छ ।
नाफाको निश्चित प्रतिशत रकम कर्मचारीलाई तालिम दिनेदेखि सामाजिक उत्तरदायित्वमा पनि खर्च गर्नुपर्ने नियम छ । विभिन्न सञ्चित कोषहरुमा रकम पठाएपछि बाँकी रहेको पैसामात्रै सेयर धनिले बाँड्न पाउँछन् ।
यो सालको ६ महिनामा सबै बैंकहरुको लाभांश बाँड्न पाउने सामथ्र्य एकमुष्ठ हेर्ने हो भने ३ अर्ब ७९ करोड १२ लाख ६९ हजार ऋणात्मक देखिन्छ । अर्थात् अब झण्डै ४ अर्ब बराबर खुद नाफा आर्जन गरेपछि मात्रै लाभांश बाँड्ने कोषमा पैसा जम्मा हुने अवस्था छ ।
विद्यमान २० मध्ये ७ वटा बैंक अहिले पनि लाभांश दिने खाता ऋणात्मक बनाएर बसेका छन् । बाँकी बैंकको हालत पनि गज्जब छैन । वितरणयोग्य नफालाई उनीहरुको कुल पूँजीसँग तुलना गर्ने हो भने एभरेस्ट बैंकले ९.३० प्रतिशत र सानिमा बैंकले ८.४१ प्रतिशत कमाएका छन् ।
आर्थिक वर्षको बाँकी आधा सालमा पनि ठ्याक्कै यति नै नाफा भयो भने नेपाल एसबीआई, प्राइम कमर्शियल र स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि दुई अंक अर्थात् १० प्रतिशतभन्दा बढी प्रतिफल आर्जन गर्न सक्ने अवस्था देखिन्छ ।
अरु ८ बैंक पनि थोरबहुत नाफामै देखिएका छन् । तर ठ्याक्कै यस्तै परिदृष्य बनेको खण्डमा कुमारी बैंकका सेयर धनिले आफ्नो पूँजीको ३७ प्रतिशत ऋणात्मक प्रतिफल भोग्नुपर्ने हुनसक्छ । अर्थात् यस बैंकको वितरणयोग्य नाफा अहिले नै १८.५ प्रतिशत ऋणात्मक देखिएको छ ।
हिमालयन बैंकको वितरणयोग्य नाफा उक्त बैंकको कुल पूँजीको १०.३६ प्रतिशत, प्रभूको ९.७७ प्रतिशत र एनआईसी एसिया बैंकको ८.९५ प्रतिशत ऋणात्मक बनेको छ । बाँकी ६ महिना पनि यस्तै हालत रहने हो भने यो अंक अहिलेभन्दा दोब्बर हुने छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंक पनि यो साल प्रतिफल बाँड्ने स्थितिमा देखिएका छैनन् । उनीहरुले अर्को वर्षको यही बेलातिर लाभांश घोषणा गर्न ब्यापक मात्रामा ऋण अशूली गर्नुपर्ने भएको छ ।