ऋण लिन खोज्दै हुनुहुन्छ ? यी बैंकले दिन्छन् सस्तो ब्याजमा कर्जा

काठमाडौँ । पछिल्लो एक वर्षमा बैंकहरुको ब्याजदर लगातार ओरालो लागेपछि उनीहरुको आधार दर अर्थात् स्रोतको लायत पनि कम भएको छ । यही कारण बैंकहरुको आधार दर पनि एकै वर्षमा झण्डै एक तिहाईले घटेको छ ।
गत पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको औसत आधार दर ६.७१ प्रतिशतमा झरेको छ । जुन ठीक एक वर्ष अघि ९.४२ प्रतिशत थियो ।
यद्यपि, उक्त आधार दरको आँकडाहरु दुई किसिमले प्रकाशित भएका छन् । मासिक औसत र त्रैमासिक औसतको भिन्नभिन्न गणना विधीले केही आँकडाहरुमा फरक पर्नसक्ने संभावना छ ।
बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत (लेखापरीक्षण नगरिएको) वित्तीय विवरणका आधारमा वितेको एक वर्षमा आधार दर २७१ आधार विन्दु (२.७१ प्रतिशतविन्दु) घटेको देखिन्छ ।
यसरी ब्यापक मात्रामा आधार दर घटाउने काममा हिमालयन बैंक सबैभन्दा अगाडी देखिएको छ । उसले ३२९ आधार विन्दु र प्राइम कमर्शियल बैंकले ३२६ आधार विन्दुले आधार दर घटाएका छन् । कृषि विकास, कुमारी, एनएमबी र एभरेस्ट बैंकले पनि ३ प्रतिशत विन्दुभन्दा फराकिलो रफ्तारमा आधार दर कम गरेका छन् ।
त्यस्तै, लक्ष्मी सनराइज, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि औसत कमी (२७१ आधार विन्दु)भन्दा ज्यादा नै लागत घटाएका छन् । यीमध्ये कतिपयले पहिले महँगो ब्याजको पैसा चलाइरहेका कारण अहिले आधार दर उच्च मात्रामा घटाएका छन् भने कुनै बैंकसँग निक्षेपको पर्याप्तता पहिले पनि थियो ।
औसतभन्दा कम अनुपातमा आधार दर घटाउने ११ बैंकको सूचीमा एनआईसी एसिया सबैभन्दा पछाडी छ । तर उसले पनि २१६ आधार विन्दुको अन्तरले आफ्नो बेस रेट घटाउन सफल भएको छ ।
एक वर्ष अघि बैंकहरुको आधार दर साढे ७ देखि साढे १० प्रतिशतको बीचमा थियो । त्यस बखत सर्वाधिक आधार दर हिमालयन बैंकको १०.५९ प्रतिशत थियो भने सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको ७.५६ प्रतिशत थियो । प्राइम कमर्शियल र कुमारी बैंकको आधार दर पनि १० प्रतिशतभन्दा माथि थिए ।

तर अहिले यही आधार दरको ‘करिडोर’ ५ देखि साढे ७ प्रतिशतको बीचमा झरेको छ । अहिले चार्टर्डको आधार दर ५.१३ प्रतिशतमा झरेको छ भने सर्वाधिक बेस रेट भएको एनआईसी एसियाले पनि ७.५२ प्रतिशतमा ओरालेको छ ।
आधार दर भनेको कर्जाको ब्याजदर गणनाका लागि सबैभन्दा महत्वपूर्ण आँकडा हो । यही आधार दरमा निश्चित प्रतिशत विन्दुको प्रिमियम जोडेर ब्याजदर तय हुन्छ । यसरी हेर्दा स्ट्याण्डर्ड चार्टर्डबाट ऋण लिनेले सबैभन्दा सस्तो ब्याजमा पैसा पाउन सक्ने संभावना देखिएको छ ।
त्यसपछि राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट, नेपाल बैंक, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, सानिमा, एनएमबी, सिद्धार्थ, ग्लोबल आईएमई, प्रभू र प्राइम बैंक क्रमशः महँगो बन्दै जाने देखिन्छ । त्योभन्दा पनि महँगो ब्याज पर्नेमा नेपाल एसबीआई, माछापुच्छ्रे, कुमारी, लक्ष्मी सनराइज, सिटिजन्स, हिमालयन र एनआईसी एसिया हुन् ।
यद्यपि, कतिपय बैंकको आधार दर कम भए पनि बढी प्रिमियम लिने र कुनै बैंकले आधार दर केही बढी भए पनि कम प्रिमियम लिने कारण कर्जाको वास्तविक ब्याजदरमा फरक पर्न सक्छ ।
ब्याजदर र स्प्रेडलाई जोड्दा यस्तो देखिन्छ अवस्था :

नेपालमा बैंक नै पिच्छे औसत ब्याजदरको हिसाब सार्वजनिक गर्ने गरिएको छैन । यस्तो बेला कुन बैंकले तुलनात्मक रुपमा सस्तोमा ऋण दिइरहेको छ भनेर हेर्न मन लाग्यो भने हामीले ब्याजदर अन्तर (स्प्रेड)लाई समेत जोडेर हेर्दा मोटामोटी अनुमान लगाउन सकिने हुन्छ ।
अहिले अधिकतर बैंकहरुको ब्याजदर अन्तर उच्चतम सीमा (४ प्रतिशत)को नजिक नै छ । यद्यपि, सानिमा, सिद्धार्थ र सिटिजन्सले तुलनात्मक रुपमा कम ब्याजदर अन्तरमा कारोबार सञ्चालन गरेको देखिन्छ । हिमालयन, प्रभू र राष्ट्रिय बाणिज्य बैंकले ४ प्रतिशत नै ब्याजदर अन्तर कायम गरेका छन् ।
गत सालको स्थिति हेर्ने हो भने कृषि विकास र एनएमबी बैंकले नियामकले तोकेको उच्चतम सीमाभन्दा बढी ब्याजदर अन्तर राखेर नाफा कमाएका थिए ।
अब यी दुबै आँकडालाई आपसमा जोडेर हेर्दा फेरि पनि सबैभन्दा सस्तो ब्याजमा ऋण दिने स्ट्याण्डर्ड चार्टर्ड र सबैभन्दा महँगो ब्याज लिने एनआईसी एसिया नै देखिन्छ । यी दुईको बीचमा राष्ट्रिय बाणिज्य बैंक र एभरेस्ट बैंकले करीब साढे ९ प्रतिशतको हाराहारीसम्म ब्याज लिने गरेको देखिन्छ ।
नेपाल बैंक, सानिमा, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, सिद्धार्थ, एनएमबी र ग्लोबल आईएमई बैंकको आधार दर र स्प्रेड मिलाउँदा १० देखि ११ प्रतिशतको बीचमा रहन्छ । यस बाहेक प्रभू, सिटिजन्स, प्राइम, माछापुच्छ्रे, नेपाल एसबीआई, कुमारी, लक्ष्मी सनराइज, हिमालयन र एनआईसी एसियाको भने आधार दरमा स्प्रेड मिसाउँदा ११ प्रतिशतभन्दा माथि पुग्छ ।
अहिलेको अवस्थामा ऋण माग्न जान खोजेको, तर ब्याजदर बारे बार्गेनिङ गर्न र धेरै कुरा थाहा पाउन नसकेका मानिसले यही आधार दर हेरेर जसको कम छ, उसैसँग ऋण माग्न जाँदा सजिलो हुन्छ । अझ बढी हेक्का राख्न खोज्नेले स्प्रेड पनि हेरेर बार्गेनिङ गर्न सक्छ ।