वित्तीय प्रणालीमा थुप्रियो ३ खर्ब ७० अर्ब, तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हैरान « Arthapath.com
२१ बैशाख २०८२, आईतवार

वित्तीय प्रणालीमा थुप्रियो ३ खर्ब ७० अर्ब, तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हैरान



काठमाडौँ । आइतबार राष्ट्र बैंकले थप ५० अर्ब बराबरको निक्षेप संकलन बोलकबोल मागेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको समस्या समाधान नभइपछि ब्याजदरलाई शून्यस्तरमा झर्न नदिन केन्द्रिय बैंकले निक्षेप खरीद गरिदिने गर्छ ।

यससँगै केन्द्रिय बैंकले वैशाख लागेपछि मात्रै १ खर्ब ९५ अर्ब बराबरको निक्षेप बजारबाट खिच्न पाँच पल्ट बोलकबोल मागिसकेको छ ।

पछिल्लो बोलकबोल अनुसार आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत् बोलकबोल हाल्न बैंक तथा वित्तीय संस्थालाई केन्द्रिय बैंकले सूचित गरेको छ ।

बैंकहरुले घटिमा १० करोड र बढीमा ५० अर्बसम्मको बोलकबोल हाल्न पाउँछन् । तर उक्त बोलकबोल गर्दा ५ करोडले भाग जाने अंकमामात्रै गर्न पाइन्छ ।

यसरी राष्ट्र बैंकलाई निक्षेप बेच्दा बैंकहरुले ब्याज पनि पाउँछन् । केन्द्रिय बैंकले वित्तीय संस्थाहरुको हानीलाई कम गर्न आफ्नो ढुकुटीबाट ब्याज तिर्ने गर्छ । यस्तो ब्याजदर भने बोलकबोलबाटै तय हुन्छ ।

आइतबार उठाएको यो पैसा २१ दिनपछि अर्थात् आगामी जेठ ११ मा फिर्ता गर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

केन्द्रिय बैंकले गत शुक्रबार जारी गरेको विवरण अनुसार उसले चालू आर्थिक वर्ष सुरु भएयता अर्थात् गएको साउन १ देखि गत शुक्रबारसम्म ६९ पल्ट यस्तै गरी निक्षेप संकलन गरिसकेको छ । यसबीच ३२ खर्ब ८५ अर्ब निक्षेप मागेकोमा बैंक तथा वित्तीय संस्थाले २३ खर्ब ४८ अर्ब ७५ करोडमात्रै पैसा दिएको केन्द्रिय बैंकको विवरणमा उल्लेख छ ।

त्यो पैसामध्ये निक्षेप संकलन बापतको १ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ ‘तिर्न बाँकी’ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यस्तै स्थायी निक्षेप सुविधा नामको अर्को बाटोबाट पनि बैंकहरुले राष्ट्र बैंकमा पैसा राखेका छन् ।

छोटकरीमा ‘एसडीएफ’ भनिने यो बाटोबाट चालू आवमा राष्ट्र बैंकले १ नील ५९ खर्ब ४९ अर्ब ३५ करोड तरलता शोषिसकेको जनाएको छ । त्यति ठूलो पैसामध्ये अहिले १ खर्ब ३३ अर्ब ५ करोड रुपैयाँ ‘तिर्न बाँकी’ रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

यति हुँदा पनि बैंक तथा वित्तीय संस्थासँग गत शनिबारसम्म ६९ अर्ब ८२ करोड रुपैयाँ बैंकहरुमा अधिक तरलता छ । जुन गत विहीबार २ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख पुगेको थियो ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार गत चैत ३१ मा बैंकहरुसँग लिएको ३० अर्ब निक्षेप संकलनको पैसा ब्याजसहित आइतबार फिर्ता गर्नुपर्ने भएपछि यस दिन थप ५० अर्ब खिच्न लागिएको हो ।

केन्द्रिय बैंकले खिँचेको २ खर्ब ९९ अर्ब ७५ करोडलाई समेत जोड्ने हो भने बैंक तथा वित्तीय संस्थाको वास्तविक अधिक तरलताको रकम ३ खर्ब ६९ अर्ब ५७ करोडभन्दा ज्यादा हुन्छ । अर्थात् बैंक तथा वित्तीय संस्थाहरुसँग अहिले उनीहरुको कुल कर्जा लगानीको ६.७० प्रतिशतभन्दा बढी रकम ‘अधिक तरलता’को रुपमा देखिएको छ, जुन कर्जा दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्