चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजनाकाे परीक्षण उत्पादन सुरु

काठमाडाैं । ३७.५ मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु भएको छ। विसं २०७७ मङ्सिरदेखि निर्माण सुरु भएको आयोजनाले भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो ।
रघुगङ्गा गाउँपालिकामा निर्माण भएको चिमखोला मङ्गले राहुघाट जलविद्युत् आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक परिक्षण सम्पन्न गरिसकेको छ ।
रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै एक सय १० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ।
बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइप लाइन बनाइएको छ।
तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले अबको १५ दिनमा परीक्षण सकिने र त्यसपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने जानकारी दिए ।
विद्युतगृहबाट रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्डसम्म १४ किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ।
प्रसारण लाइनका ४९ वटा टावर रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् दुई सय २० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लुप इन, लुप आउट’ माध्यमबाट जोडिने भएको छ । चिमखोला–मङ्गले–राहुघाटसहित तुदी पावर नै प्रवद्र्धक रहेको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत रु १४ अर्ब रहेको छ।
अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ। चिमखोला–मङ्गले–राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो। राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१ दशमलव तीन मेगावाटको ठूलोखोला र २२ दशमलव तीन मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन्।