लगानीका लागि अहिले कुन बैंकसँग कति पैसा छ ? « Arthapath.com
१० असार २०८२, मंगलबार

लगानीका लागि अहिले कुन बैंकसँग कति पैसा छ ?



काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा केही सकारात्मक संकेत देखिन थालेका छन्। लामो समयसम्म थलिएको कर्जा प्रवाह अब विस्तारै चलायमान बन्न थालेको छ ।

निक्षेप संकलनको गति पनि स्थिर रूपमा बढिरहेको छ । निक्षेपसँगै बैंकहरुले कर्जा लगानी बढाउन थालेका छन् । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप ८.७५ प्रतिशत र कर्जा प्रवाह ८.२३ प्रतिशत वृद्धि भएको छ ।

समिक्षा अवधिमा आइपुग्दा बैंकहरुले कुल निक्षेपको आकार ६२ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह पनि ४९ खर्ब ४७ अर्ब २० करोड रुपैयाँ कायम भएको छ । बैंकिङ्ग प्रणालीमा निक्षेप थपिने सिलसिला निरन्तर बढीरहेको छ । निक्षेपको तुलनामा कर्जा प्रवाह अलि सुस्त नै छ । यद्यपि, विगतको तुलनामा भने कर्जा प्रवाह विस्तारै बढ्न थालेको छ ।

बैंकहरुमा लगानीयोग्य रकम बढी रहेको छ । यस्तो अवस्थामा कर्जा–निक्षेप अनुपात अर्थात् सीडी रेसियो भने लगातार घटीरहेको छ । हाल बैंकहरुको सीडी रेसियो ७८.४४ प्रतिशतमा आइपुगेको छ ।

सीडी रेसियोको आधारमा हेर्ने हो भने लगानी गर्नका लागि बैंकहरुसँग ७ खर्ब २३ अर्ब ४४ करोड बढी रकम छ । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् । हाल बैंकहरु कर्जा प्रवाहका लागि एकदमै सहज अवस्था छन् । तर, निक्षेप वृद्धिको तुलनामा कर्जाको माग अलि न्युन हुँदा बैंकमा अधिकत तरलता थुप्रिएको छ ।

निक्षेपमा निरन्तर वृद्धि भइरहेका बेला ब्याजदर पनि क्रमशः घट्दै गएको छ । अर्को तर्फ आर्थिक गतिविधिमा समेत विस्तारै सुधार हुँदै आएको छ । यस्तो परिदृश्यमा आगामी दिनमा कर्जा प्रवाह थप बढ्ने अपेक्षा गरिएको छ ।

कुन बैंकसँग कति छ अहिले लगानीयोग्य रकम ?

हाल सबै बैंकहरु सहज रुपमा कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छन् । सीडी रेसियोको आधारमा हेर्ने हो भने सबैभन्दा धेरै लगानीयोग्य रकम राष्ट्रिय वाणिज्य बैंकसँग देखिएको छ । हाल बैंकको सीडी रेसियो ६४.३१ प्रतिशत कायम भएको छ । यसका आधारमा हाल बैंकसँग १ खर्ब २० अर्ब १६ करोड रुपैयाँ लगानीयोग्य रकम छ । समिक्षा अवधिमा बैंकले ४ खर्ब ६७ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै, ग्लोबल आइएमईसँग पनि ७० अर्ब बढी लगानीयोग्य रकम देखिएको छ । हाल बैंकको सीडी रेसियो ७७.२० प्रतिशत छ । समिक्षा अवधिमा बैंकले कुल ५ खर्ब ५४ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरि ४ खर्ब ४१ करोड ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग पनि ६० अर्ब बढी लगानीयोग्य रकम थुप्रिएको छ । हाल बैंकको सीडी रेसियो ७५.८६ प्रतिशत छ । समिक्षा अवधिमा बैंकले कुल ४ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सीडी रेसियोकै आधारमा हेर्ने हो भने हाल सानिमा बैंकसँग ६२ अर्ब ५३ करोड, प्रभूसँग ६१ अर्ब ३९ करोड, नेपाल बैंकसँग कुल ५७ अर्ब ९३ करोड, नेपाल एसबिआईसँग ३४ अर्ब ८५ करोड, कुमारीसँग ३४ अर्ब३४ करोड, लक्ष्मी सनराइजसँग ३२ अर्ब १० करोड, एनआइसी एशियासँग २९ अर्ब ७५ करोड, एभरेष्टसँग २७ अर्ब ५५ करोड, हिमालयनसँग २४ अर्ब १० करोड, स्ट्याण्डर्ड चार्टर्डसँग २३ अर्ब ५७ करोड, सिद्धार्थसँग २२ अर्ब ७३ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।

यता, कर्जा प्रवाह गर्नका लागि एनएमबि बैंकसँग १६ अर्ब ३९ करोड, प्राइमसँग १४ अर्ब २९ करोड, माछापुच्छ्रेसँग ९ अर्ब ७६ करोड, सिटिजन्ससँग ९ अर्ब ३ करोड र कृषि विकाससँग सबैभन्दा कम २ अर्ब ५ करोड रुपैयाँ लगानी योग्य रहेको देखिन्छ ।

कुन बैंकको निक्षेप संकलन, कर्जा लगानी र सिडी रेसियो कति ? (रकम अर्बमा)


प्रतिक्रिया दिनुहोस्