लगानी गर्ने होइन त ? मोदी ईनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले आइपीओमा आवेदन दिने आज (चैत १६ गते) अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा आयोजना प्रभावित स्थानियले आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले फागुन २५ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने म्याद भने समाप्त भइ सकेको छ ।
कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरको २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकक दुर्लुङ्ग गाविस हाल कुश्मा नगरपालिका – ३, साविक बाजुङ्ग गाविस हाल मोदी गाउँपालिका – ५, साविक देवपुर गाविस हाल मोदी नगरपालिका – २, साविक तिलहर गाविस हाल मोदी गाउँपालिका –६ र साविक चुवा गाविस हाल कुश्मा नगरपालिका – ८ का स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।
त्यस्तै, सर्वसाधारणका लागि निष्कासन हुन लागेको १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो । त्यस्तै कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्ने शेयरको ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ८७ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।