राष्ट्र बैंकको निर्देशन प्रति नेष्डो समृद्ध लघुवित्त रुष्ट, लाभांश संशोधन पछि कानूनी बाटो खोज्दै

काठमाडौैं । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तको लाभांश संशोधन गरेपछि कम्पनी रुष्ट बनेको छ । राष्ट्र बैंकले कम्पनीको लाभांश संशोधन गरी १७.७३४२ झारेपछि कम्पनी रुष्ट बनेको हो ।
कम्पनीले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकको निर्देशन नमान्ने बताएको हो । कम्पनीले यस अघि ५० प्रतिशत बोनस, २० प्रतिशत नगद र कर प्रयोजनका लागि ३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
कम्पनीले सूचनामा भनेको छ, राष्ट्र बैंकको लाभांश घटाउने निर्देशन चैत १० गते जारी शंसोधित निर्देशनको व्यवस्थासंग स्पष्ट वाझिएको, नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त एउटै प्रकृतीका संस्था विच एउटै आर्थिक वर्षको लाभांश स्वीकृती दिंदा समानता नभएको र नेपाल राष्ट्र वैंकवाट स्वीकृत लाभांशको जानकारीले शेयरधनिले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्वन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा शंसोधन संस्थावाट नै निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानूनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएकोले नेपाल राष्ट्र बैंकको उक्त निर्णय एवम् जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी वढाउन नसकिने निर्णय कम्पनीले गरेको छ ।
कम्पनीले संस्थाको लाभांश प्रस्ताव, राष्ट्र बैंकको विद्यमान निर्यण तथा स्वीकृती, प्रचलित ऐन, कानून, निर्देशन र केन्द्रिय बैंकको विगतका ब्याख्या र संस्थागत अध्यास समेतको तथ्यपूर्ण कानुनी ब्याख्या गरी निर्णयमा पुग्ने जनाएको छ ।