सर्पोट लघुवित्तको मुख्य सूचकहरु नै ओरालो: नाफासंगै इपिएस पनि घट्यो, कस्तो छ वित्तीय अवस्था ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सर्पोट लघुवित्तको मुख्य सूचकहरु नै ओरालो: नाफासंगै इपिएस पनि घट्यो, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको खुद नाफामा साढे ४३ लाख रुपैयाँको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ९ महिनामा कम्पनीले ६३ लाख ३१ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा ४२.८८ प्रतिशतले कमी हो । गत आवको समिक्षा अवधिमा कम्पनीले १ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा गिरावट आएसंगै नाफा घटेको हो । चालु आवको चैत मसान्तसम्ममा कम्पनीको ब्याज आम्दानी १६.६७ प्रतिशतले घटेर ४ करोड ४२ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा भने ६५.७० प्रतिशतले घटेर ६० लाख रुपैयाँ रुपैयाँमा झरेको छ । गत आवको समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा क्रमशः ५ करोड ४२ लाख र १ करोड ७५ लाख बढी रहेको थियो ।

यस्तै, कम्पनीको जगेडा कोषमा पनि गिरावट देखिएको छ । गत आवको समिक्षा अवधिमा ४ करोड १३ लाख रहेको जगेडा कोष यस वर्षको सोही अवधिमा भने ११.४४ प्रतिशतले घटेको छ ।

कम्पनीको चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ३६ पैसाले घटेर ८ रुपैयाँ ८६ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १३८ रुपैयाँ ४ पैसा छ । कम्पनीले खराब कर्जा भने झिनो सुधार गरेको छ । गत आवको तेस्रो त्रैमासमा ४.१४ प्रतिशत रहेको खराब कर्जा यस वर्षको समिक्षा अवधिमा भने ३.२५ प्रतिशतमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस्