नेशनल माइक्रोफाइनान्सको मुख्य सूचकहरु नै ओरालो, कस्तो वित्तीय अवस्था ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

नेशनल माइक्रोफाइनान्सको मुख्य सूचकहरु नै ओरालो, कस्तो वित्तीय अवस्था ?



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा १३ करोड रुपैयाँ बढीले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ९ महिनामा कम्पनीले २० करोड ३२ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा १३ करोड ३५ लाख अर्थात ३९.६५ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ३३ करोड ६८ लाख रुपैयाँ बढी नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी, संचालन नाफामा गिरावट आएपछि नाफा घटेको हो । चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी २७.८९ प्रतिशतले घटेर ४५ करोड १९ लाख ३३ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, संचालन नाफामा पनि ३९.६५ प्रतिशतको गिरावट देखिएको छ । समिक्षा अवधिमा कम्पनीको संचालन नाफा २९ करोड ३ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा १३ करोड ८५ लाख ५६ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ९४ करोड १४ लाख ७२ हजार रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा कम्पनीले ९ अर्ब ८२ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरि ११ अर्ब ३ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्ममा ३.१२ प्रतिशत रहेको कम्पनीको खराब कर्जा यस वर्षको सोही अवधिमा बढेर ५.४३ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ३० रुपैयाँ ८४ पैसाले घटेको छ । गत आवको तेस्रो त्रैमासमा ७७ रुपैयाँ ४ पैसा रहेको कम्पनीको यस्तो आम्दानी यस वर्षको समिक्षा अवधिमा भने घटेर ४६ रुपैयाँ २० पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २६० रुपैयाँ ४८ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्