सर्पोट लघुवित्तको खुद नाफा २.३२ गुणाले बढ्यो: ह्वात्तै घटायो खराब कर्जा, कस्तो वित्तीय अवस्था ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको खुद नाफा २.३२ गुणाले बढेको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीको नाफा १३२.२३ प्रतिशतले वृद्धि भई २ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने कम्पनीले ९७ लाख ८६ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
तर, कम्पनीको खुद ब्याज आम्दानी भने ११.२४ प्रतिशतले घटेर ७ करोड २ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा कम्पनीको कुल संचालन आम्दानी पनि सामान्य घटेर ८ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
यस्तै, समिक्षा अवधिमा कम्पनीको संचालन नाफा भने ४२.०१ प्रतिशतले बढेर १ करोड ९१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो आम्दानी १ करोड ३४ लाख रुपैयाँ मात्रै रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीले खराब कर्जा ह्वात्तै घटाएको छ । अघिल्लो आवमा ८.६३ प्रतिशत रहेको खराब कर्जा गत आवमा भने ६.७३ प्रतिशतले घटाएको हो । गत आवमा कम्पनीको यस्तो कर्जा १.८३ प्रतिशतमा झारेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १५४रुपैयाँ ६९ पैसा छ । कम्पनीको चुक्ता पुँजी ९ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा ता कोषमा भने ६ करोड २० लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा कम्पनीको निक्षेप संकलन १२.६१ प्रतिशतले वृद्धि भई ३० करोड ३३ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी पनि ११.९३ प्रतिशतले बढेर १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ बढी पुगेको छ ।