हिमालयन लघुवित्तले यो वर्ष १९.७६ प्रतिशत लाभांश दिन सक्ने, एकाएक नाफामा कसरी आयो उछाल ? « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

हिमालयन लघुवित्तले यो वर्ष १९.७६ प्रतिशत लाभांश दिन सक्ने, एकाएक नाफामा कसरी आयो उछाल ?



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको नाफामा उछाल आएको छ । कम्पनीले एकै वर्ष सवा ९ करोड रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

अघिल्लो आवमा कम्पनी २० लाख रुपैयाँ नोक्सानीमा थियो । तर, गत आवमा आइपुग्दा भने ९ करोड १७ लाख बढी नाफा कमाएको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५८.५० प्रतिशत बढेर ३५ करोड ३० लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि ३५ लाख ऋणात्मकबाट १३ करोड ११ लाख रुपैयाँ धनात्मक भएको छ । यसरी खुद ब्याज आम्दानी र संचालन नाफामा एकाएक आएको सुधारले नै कम्पनीको खुद नाफा वृद्धि भएको हो । तर, कम्पनीको खराब कर्जा भने १.८४ प्रतिशत बिन्दुले बढेर ५.३३ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६ करोड ३१ लाख ९३ हजार रुपैयाँ कायम भएको छ । यस्तै, हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ छ । यसका आधारमा यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई १९.७६ प्रतिशत लाभांश दिन सक्ने छ । कम्पनीले आफ्नो जगेडा तथा कोषमा भने २२ करोड ७९ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको व्यापार पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीको निक्षेप संकलन ४०.६६ प्रतिशत वृद्धि भई ४ अर्ब ९३ करोड २८ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह पनि ३१.५४ प्रतिशत बढेर ४ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी २८.७० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४८.१६ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्