आरएसडीसी लघुवित्त ८ प्रतिशत लाभांश दिन सक्ने, नाफा लगायतका सूचकहरु कस्ता ? « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

आरएसडीसी लघुवित्त ८ प्रतिशत लाभांश दिन सक्ने, नाफा लगायतका सूचकहरु कस्ता ?



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले एक वर्षको अवधिमा झन्डै साढे १० करोड रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले शुक्रबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले १० करोड ३१ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो अघिल्लो आवको तुलनामा भने २७.१९ प्रतिशत कमी हो । गत आवमा कम्पनीले १४ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि २२.५४ प्रतिशत घटेर २२ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि ४०.३९ प्रतिशत घटेर १४ करोड ९८ लाख ९९ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको वितरणयोग्य नाफा ८ करोड ५४ लाख रुपैयाँ कायम भएको छ । यसका आधार कम्पनीले गत आवको मुनाफाबा सेयरधनीलाई ७.९८ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ कायम भएको छ । कम्पनीले जगेडा तथा कोषमा २६ करोड ८३ लाख रुपैयाँ राखेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी ९.९८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२५.९५ रुपैयाँ कायम भएको छ ।

कम्पनीको खराब कर्जा ३.३४ प्रतिशत कायम भएको छ । समिक्षा अवधिमा कम्पनीको निक्षेप संकलन २७.०५ प्रतिशत वृद्धि भई ६ अर्ब ८० करोड ९० लाख रुपैयाँ पुगेको छ । तर, कर्जा प्रवाह भने सामान्य (१.३० प्रतिशत) घटेर ६ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्