बैंशाखमा घोषित निर्वाचनको लागि नुवाकोटमा २ लाख २५ हजार मतदाता « Arthapath.com
२५ पुष २०७७, शनिबार

बैंशाखमा घोषित निर्वाचनको लागि नुवाकोटमा २ लाख २५ हजार मतदाता



नुवाकोट । पुसको कठिङ्ग्रिदो बढिरहेको भएपनि केपी ओली सरकारले संसद विगठन गरी निर्वाचनको मिति घोषणा गरेपछि देशको राजनीति माहोल तातेको छ १ सरकारले निर्वाचनको लागि तोकेको मिति आगामी बैंशाख १७ र २७ गते रहेको छ । उक्त मितिमा निर्वाचन हुनेमा सत्ताधारी केपी ओली समूहका नेकपादेखि प्रचण्ड नेपाल नेतृत्वको नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलगायत अन्य दल समेत विश्वस्त नभए पनि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

  निर्वाचन आयोग २०७८ बैंशाखको लागि घोषित प्रतिनिधीसभा निर्वाचन तयारीमा जुटेको छ । आयोगले आगामी माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । निर्वाचन मिति घोषणापछि आयोगले पुस ६ गतेबाटै मतदाता नामावली संकलन कार्य भने देशभर स्थगत गरिसकेको छ । पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा दर्ता गराएको मतदाताले बैंशाखका लागि तय प्रतिनिधीसभा निर्वाचन मतदान प्रक्रियामा सहभागी हुन पाउने छन् ।

गत २०७४ मा सम्पन्न प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनपछि १६ हजार ८ सय ७० मतदाता नुवाकोटमा थपिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ । गत २०७४ को निर्वाचनपछि ककनी गाउँपालिकामा १ हजार ९ सय ५१, किस्पाङ गाउँपालिकामा १ हजार १ सय ६६, तादी गाउँपालिकामा ५ सय ५७ मतदाता थपिएका छन् । त्यसैगरी तारकेश्वर गाउँपालिकामा १ हजार ३ सय १९, दुप्चेश्वर गाउँपालिकामा ४ सय ७३, पञ्चकन्या गाउँपालिकामा ७ सय ४६, बेलकोटगढी नगरपालिकामा २ हजार ६ सय २२, म्यागङ गाउँपालिकामा ९ सय ८१, लिखु गाउँपालिकामा १ हजार १ सय ४५ मतदाता थप भएका छन् । २०७४ को निर्वाचनपछि विदुर नगरपालिकामा २ हजार ८ सय ५२, शिवपुरी गाउँपालिकामा १ हजार ८ सय २ र सुर्यगढी गाउँपालिकामा १ हजार २ सय १६ मतदाता थप भएका छन् । २०७४ को प्रतिनिधीसभा तथा प्रदेशसभामा २ लाख ८ हजार १ सय ९१ मतदाता रहेका थिए । नुवाकोटको प्रतिनिधीसभाको क्षेत्र नं।१ मा १ लाख ५ हजार २ सय ८७ र क्षेत्र नं।२ मा १ लाख २ हजार ९ सय ४ मतदाता गत निर्वाचनमा रहेका थिए । गत निर्वाचनपछि क्षेत्र नं।१ मा ७ हजार ९ सय र क्षेत्र नं।२ मा ८ हजार ९ सय ७० मतदाता थप भएका छन् । थपिएको मतदाताअनुसार प्रतिनिधीसभा क्षेत्र नं।१ को निर्वाचनमा १ लाख १३ हजार १ सय ८७ र क्षेत्र नं।२ को निर्वाचनमा १ लाख ११ हजार ८ सय ४ मतदाताले मतदान गर्न पाउने छन् । यो मतदाता नामावली थप घट हुने जिल्ला निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ ।

 आयोगले १५ माघदेखि देशभरका सबै स्थानीय तहमा रहेका केन्द्रमा गएर अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ । मतदातालाई आफ्नो स्थानीय तहका केन्द्रमा हुने अद्यावधिक कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । सो अवधिमा मतदाता नामावलीमा भएको विवरणमा क्रुटि भएको पाईए सच्याउन सकिने भन्दै आयोगले नामावलीमा हेरेर रूजु गर्न भनेको हो । यसैगरी, मृत्यु भएका वा बसाई–सराई गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिन तथा झुठा विवरण दिई कोही कसैले मतदाता नामावलीमा नाम समावेंश गरेको भए त्यस विरूद्ध उजुर दिन पनि आयोगले आग्रह गरेको छ । आयोगले दुई चरणमा गरी हुने निर्वाचनका लागि ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । यसअघि, २०७४ मा सम्पन्न प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको जनाएको छ । त्यस बखत निर्वाचन प्रचार, मतदाता शिक्षा, सुरक्षा तथा मतदानमा आवश्यक सामाग्री गरी ३० अर्ब भन्दा बढी खर्च भएको थियो । आयोगले यस पटकको निर्वाचनमा भने अघिल्लो निर्वाचनका धेरै सामाग्री प्रयोग गर्न सकिने समेत बताएको छ । आयोगसँग अघिल्लो पटक प्रयोग गरिएका मतपेटिका यसपटक धेरैजसो काम लाग्ने अवस्थामा छन् । सरकारले १७ र २७ बैंशाख २०७८ मा दुई चरणमा गर्ने गरी प्रतिनिधीसभा निर्वाचन घोषणा गरिसकेको छ, त्यसको लागि बजेटको समेत ब्यवस्था गर्न स्रोतको खोजी शुरू गरेको छ ।


प्रतिक्रिया दिनुहोस्