सरकारले बढायो श्रमिकको न्यूनतम ज्याला, साउनबाट मासिक १५ हजारभन्दा कममा काम लगाउन नपाइने « Arthapath.com
२० बैशाख २०७८, सोमबार

सरकारले बढायो श्रमिकको न्यूनतम ज्याला, साउनबाट मासिक १५ हजारभन्दा कममा काम लगाउन नपाइने



साउन १ गतेबाट लागू हुने

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुर्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेबाट लागू हुने गरी न्यूनतम पारिश्रमिक बढाउने निणर्य गरेको हो ।

नयाँ व्यवस्था अनुसार श्रमिकले आधारभूत पारिश्रमिकको रुपमा ९ हजार ३ सय ८५ रुपैयाँ र महँगि भत्ता ५ हजार ६ सय १५ रुपैयाँ गरेर १५ हजार रुपैयाँ पुर्याउने निणर्य गरेको छ । यसअनुसार अव नेपालमा श्रमिकले कम्तिमा दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ पारिश्रमिक पाउने छन् ।

स्थानीय सरकारहरुले आफ्नै तरिकाले न्यूनतम पारिश्रमिक तोक्न सक्ने भए पनि संघीय सरकारले तय गरेको न्यूनतम सीमाभन्दा कम गर्न नपाइने व्यवस्था गरिएको छ । अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)को प्रावधान अनुसार पनि संघीय सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम मूल्यमा काम लगाउने गरी कुनै पनि रोजगार सम्झौता हुन सक्दैन ।

अहिले संसारमा सबैभन्दा बढी न्यूनतम पारिश्रमिक अस्ट्रेलियामा छ । अस्ट्रेलियाले प्रतिघण्टा १८.२९ डलर र प्रतिहप्ता ६९४.९० डलर न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । त्यसपछि लग्जम्बर्ग, बेल्जियम, आयरल्याण्ड, फ्रान्स, नेदरल्याण्डस्जस्ता युरोपेली मुलुक बढी पारिश्रमिक दिनेमा पर्छन् । न्यूजिल्याण्ड, जर्मनी र बेलायत पनि महँगो कामदार परिचालन गर्ने मुलुकमै पर्छन् ।

नेपालले तोकेको नयाँ पारिश्रमिक भने प्रतिघण्टा १ अमेरिकी डलरभन्दा पनि कम अर्थात् ६५ सेण्टजतिमात्रै पर्न आउँछ । यो संसारकै सस्तो श्रम दरमध्येको एक हो । यद्यपि, यो दरमा पनि नेपालको निजी क्षेत्रले स्वीकार गर्ने गरी सहमति जुटिसकेको छैन ।

Tags :

प्रतिक्रिया दिनुहोस्