मास्कको आयात साढे १२ करोड रुपैयाँले घट्यो « Arthapath.com
२१ मंसिर २०७८, मंगलवार

मास्कको आयात साढे १२ करोड रुपैयाँले घट्यो



काठमाडौं । चालु आर्थिक बर्ष मास्कको आयात घटेको छ । आर्थिक बर्ष २०७७/७८ को पहिलो चार महिनाको तुलनामा १२ करोड ३५ लाख ६३ हजार रुपैयाँले आयात घटेको हो ।

भन्सार विभागको तथ्याकं अनुसार चालू आर्थिक वर्षको चार महिनामा २० करोड २० लाख ५३ हजार रुपैयाँ बराबरको ७ करोड ९ लाख २३ हजार ८२१ पिस नेपाल भित्रिएको छ । जसबाट ३ करोड २९ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

तर, गत आर्थिक वर्षको पहिलो चार महिना अर्थात साउनदेखि कात्तिक मसान्तसम्म ३२ करोड ५६ लाख १६ हजार रुपैयाँ बराबरको आयात भएको थियो भने जसबाट ५ करोड ८२ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । जुन २७ हजार १७१ किलो ग्राम र ५ करोड ६६ लाख १४ हजार ७२९ पिस फेस मास्क नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

कति देशबाट हुन्छ, मास्क आयात ?

हरेक वस्तुमा परर्निभर भएको नेपाल फेस मास्क आयात गर्न पनि पछि नपरेको देखिन्छ । जुन विभिन्न देशबाट आयात गर्दै आएको छ । तर चालु आर्थिक बर्ष भने चीनबाट मात्र फेस मास्क आयात गरेको देखिन्छ ।

गत आर्थिक बर्ष ५२ देशबाट फेस मास्क आयात भएको थियो । अफगानस्तान, अस्टेलिया, क्यानडा, चीन, जर्मनी, इन्डिया लगायतका देशहरुबाट फेस मास्क आयात भएको थियो ।

मास्कको तथ्यांक गत बर्षदेखि मात्र राखियो

विभागले गत आर्थिक वर्षदेखि मात्र मास्कको तथ्यांक राख्न थालेको हो । कोभिड–१९ को महामारीपछि मास्कको व्यापार देखिएकाले तथ्यांक राख्न थालिएको विभागका कर्मचारीले जानकारी दिए । ‘यसमा महसुललगायतका सुविधा दिनुपर्ने अवस्था आउन सक्ने भएकोले कोभिड–१९ पछि यसको तथ्यांक चाहिन्छ भनेर आ.व. २०७७/७८ देखि छुट्टै एचएस कोड राख्न थालेको बताए । नेपालमै उपलब्ध हुने खालका मास्कहरू निर्यात भइरहेको समेत बताए ।

फेस मास्क निर्यातको अवस्था

आयातित वस्तुकै सूची लामो हुँदै आएको नेपालले कोरोना महामारीपछि फेस मास्क निर्यात पनि गरिरहेको छ । आफु सुरक्षित रहनको लागि मास्क नभई नहुने वस्तुको रुपमा रहेको छ । नेपालले भारत, न्यजिल्यान्ड, कतार, भुटान लगायतका देशहरुमा फेस मास्कको निर्यात गरिरहेको छ । जुन चालु आर्थिक बर्ष मात्र १५ हजार ५३४ पिस मास्क निर्यात गरेको छ ।

नेपालबाट ७ लाख ९८ हजार रुपैयाँ बराबर फेस मास्क निर्यात भएको छ । गत आ.व.मा भने १६० किलो ग्राम र ५ लाख ७९ हजार ३६० पिस निर्यात गरेको छ । सो मुल्य ३ करोड २७ हजार बराबरको फेस मास्क निर्यात भएको विभागको तथ्याकंले देखाउँछ ।


प्रतिक्रिया दिनुहोस्