संकटतर्फ अर्थतन्त्र, पाँच महिनामा आयात ८३८ अर्ब निर्यात १०२ अर्बको « Arthapath.com
३० पुष २०७८, शुक्रबार

संकटतर्फ अर्थतन्त्र, पाँच महिनामा आयात ८३८ अर्ब निर्यात १०२ अर्बको



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भई १०२ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो ।

नेपाल राष्ट्र बैंकले आव २०७८/७९ को पाँच महिनाको तथ्याकंमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरेको छ । त्यसमा गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १३८.० प्रतिशत र २८.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई ८३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष सोही अवधीमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ । भने सिमेन्ट, दाल, मोलासिस सुगर कीटनाशक, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

निर्यात तर्फ कन्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयात तर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको हो । पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई ७३५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो बर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ९२ अर्ब ३४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१ अर्ब ८१ करोड बराबरको भएको थियो ।


प्रतिक्रिया दिनुहोस्