सुस्तायो घरजग्गा कारोबार : एक महिनामै २५.७२ प्रतिशतले घट्यो, साढे २ अर्ब राजस्व « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

सुस्तायो घरजग्गा कारोबार : एक महिनामै २५.७२ प्रतिशतले घट्यो, साढे २ अर्ब राजस्व



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो महिनामा घरजग्गा कारोबार सुस्ताएको छ । असोज महिनामा २५ हजार बढी घरजग्गा कारोबार भएको छ ।

असोजमा कुल २५ हजार ७८९ वटा घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको छ । तर, भदौ महिनाको तुलनामा भने २५.७२ प्रतिशतले कमी हो । भदौ महिनामा मात्रै ३७ हजार ७२० वटा घरजग्गा खरिदबिक्री भएको थियो ।

अनिवार्य वर्गीकरण र बैंकहरुको निरन्तर बढ्दो ब्याजदरका कारण घरजग्गा कारोबारमा कमी आएको विभागले जनाएको छ ।
सरकारले गत जेठ २३ मा भू–उपयोग नियमावली–२०७९ ले नियमावली अनुसार वर्गीकरण नभएका कारोबार गर्न नपाइने व्यवस्था जारी गरेको थियो । त्यसपछि नै व्यवसायमा कमी आउँन थालेको हो । धेरै स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले जग्गा किनबेच गर्न चाहानेलाई पनि समस्या भईरहेको छ ।

विभागका अनुसार असोज महिनामा २ हजार ३३९ वटा घरजग्गा नामसारी, २ हजार ४३० वटा संशोधन, २४ हजार २५२ वटा रोक्का र १३ हजार ३३९ वटा फुकुवा भएको छ ।

असोज महिनामा अपार्टमेन्ट तर्फ भने २२ वटा लिखित पारित भएको छ । जग्गादर्ता २२, ७१८ दाखिल खारेज, १५ वटा मोहियानी हक नामसारी भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, असोजमा ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ वटा कित्ता कायम भएको छ । भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता कायम भएको छ ।

यता, असोज महिनामा सबैभन्दा बढी कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी इनरुवा सुनसरीबाट भएको विभागले जनाएको छ । उक्त कार्यालयबाट असोजमा १ हजार १४९ घरजग्गा किनबेच भएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, बाँके नेपालगञ्ज मालपोत कार्यालयबाट १ हजार २८ वटा, जनकपुरधाम धनुषाबाट १ हजार ४, बेलबारी मोरङबाट ८५९, राजविराज सप्तरीबाट ८१७, भद्रपुर झापाबाट ६९१ वटा र घोराही दाङबाट ६७१ र जलेश्वर महात्तरीबाट ६६६ घरजग्गा किनबेच भएको छ ।

घरजग्गा कारोबारबाट २ अर्ब ५६ करोड ८४ लाख २९ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।काठमाडौं उपत्यकामा भने मालपोत कार्यालय कलंकीबाट ६२० वटा घरजग्गा कारोबार भएको देखिएको छ ।

यस्तै ललितपुरको लगनखेलबाट ६०६, साँखुबाट ४०१, भक्तपुर ५४०, चावहिलबाट ३४६, डिल्लीबजारबाट १३७, टोखाबाट ९२ घोटीखोल ललितपुर १९ घरजग्गाको कारोबार भएको विभागले जनाएको छ । उक्त अवधिमा मनमैजु कार्यालयमा भने एउटा पनि घरजग्गा किनबेच नभएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार असोजमा चावहिलबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । चावहिलबाट असोजमा १८ करोड ९६ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

त्यसैगरि लगनखेलबाट १७ करोड ३६ लाख ३५ हजार रुपैयाँ, कलंकीबाट १७ करोड, डिल्लिबजारबाट १४ करोड ६३ लाख ७१ हजार, भक्तपुरबाट १० करोड ५७ लाख ९४ हजार, कास्कीबाट ९ करोड ४८ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यता, काभ्रेपलाञ्चोकबाट ७ करोड २ लाख २४ हजार रुपैयाँ, पर्साबाट ६ करोड ८८ लाख ३९ हजार र चितवनबाट ६ करोड १९ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्याङ्कमा देखिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्