मन्दीतर्फ धकेलिदै घरजग्गा कारोबारः कात्तिकमा २८ हजार हाराहारीमा किनबेच, साढे ३ अर्ब बढी राजश्व « Arthapath.com
२ मंसिर २०७९, शुक्रबार

मन्दीतर्फ धकेलिदै घरजग्गा कारोबारः कात्तिकमा २८ हजार हाराहारीमा किनबेच, साढे ३ अर्ब बढी राजश्व



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चार महिनाको अवधिमा घर जग्गा कारोबारमा सामान्य सुधार देखिएको छ ।

भुमि व्यवस्थापन तथा अभिलेख विभागले हालै प्रकाशित गरेको तथ्याङ्क अनुसार देशभर २७ हजार ९३९ वटा घर जग्गा कारोबार भएको छ । यो चालु आवको कात्तिक मसान्तसम्मको कारोबार तथ्याङ्क हो ।

असोज मसान्तको तुलनमा भने कात्तिक घर जग्गा कारोबार ८.३३ प्रतिशतले वृद्धि भएको छ । असोज मसान्तसम्ममा २५ हजार ७८९ घरजग्गा खरिदबिक्री भएको विभागले जनाएको छ ।

अनिवार्य वर्गीकरण र बैंकहरुको निरन्तर बढ्दो ब्याजदरका कारण घरजग्गा कारोबारमा सोचे जस्तो प्रगति नभएको विभागले जनाएको छ । सरकारले गत जेठ २३ मा भू–उपयोग नियमावली–२०७९ ले नियमावली अनुसार वर्गीकरण नभएका कारोबार गर्न नपाइने व्यवस्था जारी गरेको थियो । त्यसपछि नै व्यवसायमा कमी आउँन थालेको हो । धेरै स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले जग्गा किनबेच गर्न चाहानेलाई पनि समस्या भईरहेको छ ।

चालु आवको चार महिनामा अर्थात कात्तिक महिनामा देशभरका मालपोत कार्यालयबाट २७ हजार ९३९ वटा घरजग्गा लिखत पारित भएको विभागले जनाएको छ । विभागका अनसार २ हजार २८१ नामसारी, २ हजार ७ सय ५५ संशोधन, २० हजार ५६४ रोक्का, १५ हजार ५४६ फुकुवा र ७३७ वटा घरजग्गा दाखिला खारेज गरेको छ ।

उक्त अवधिमा सबैभन्दा धेरै इनरुवा सुनसरी कार्यालयबाट कारोबार भएको छ । उक्त कार्यालयबाट कात्तिकमा १ हजार १७६ घरजग्गा किनबेच भएको छ । त्यस्तै, बाँके नेपालगञ्ज मालपोत कार्यालयबाट १ हजार १४२ वटा, जनकपुरधाम धनुषाबाट १ हजार ७, बेलबारी मोरङबाट ९५०, भद्रपुर झापाबाट ८५२, राजविराजबाट ८०३ र चितवनबाट ७६० वटा घरजग्गा किनबेच भएको छ ।
उक्त अवधिमा सबैभन्दा कम डोल्पाबाट ३ वटा मात्रै घरजग्गाको कारोबार भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

कात्तिक महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब बढी राजश्व संकलन भएको छ । देशभरका मालमोत कार्यालयहरुबाट उक्त अवधिमा ३ अर्ब ७६ लाख २५ हजार बढी राजश्व संकलन भएको हो ।

उक्त अवधिमा सेवा करबापत १३ करोड ५७ लाख रुपैयाँ, बागमतिबापत ६ करोड ५० लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ८८ करोड ३५ लाख ५६ हजार रुपैयाँ, पूँजीगत लाभकरबापत ७० करोड २२ लाख ९४ हजार रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत १ करोड ७६ लाख ५० हजार रुपैयाँलगायत अन्य विभिन्न सेवा दिएबापत राजस्व संकलन गरेको विभागले जनाएको छ । विभागका अनुसार उक्त अवधिमा २० करोड रुपैयाँ राजश्व छुट दिएको तथ्याङ्कमा उल्लेख छ ।

कात्तिक महिनामा सबैभन्दा बढी राजश्व मालपोत कार्यलय चितवनबाट संकलन भएको विभागले जनाएको छ । विभागका अनुसार चितवनबाट ५९ करोड ८ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

उक्त अवधिमा भक्तपुरबाट १७ करोड ५६ लाख रुपैयाँ, चावहिलबाट १५ करोड ९० लाख, लगनखेलबाट १५ करोड ८४ लाख, कलंकीबाट १४ करोड, डिल्लिबजारबाट १३ करोड ७६ लाख, कास्कीबाट ७ करोड १२ लाख र धनगढीबाट ६ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।

साढे १० हजार जग्गा कित्ताकाट

यस्तै, कात्तिक महिनामा साढे १० हजार जग्गा मात्रै कित्ताकाट भएको छ। उक्त अवधिमा १० हजार ५४४ जग्गा कित्ताकाट भएको हो । योसंगै कात्तिक २२ हजार ५६५ कित्ता कायम भएको विभागले जनाएको छ । असोजमा भने ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ कित्ता कायम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्